काठमाडाैं। काठमाडौंको होटल उद्योगले पछिल्लो एक दशकमा देखेको परिवर्तनको केन्द्रमा रहेका व्यक्तित्वहरूमध्ये अग्रपंक्तिमा पर्छन्, प्रतिष्ठित उद्योगी शशीकान्त अग्रवाल। नेपालको औद्योगिक क्षेत्रमा बहुआयामिक योगदान पुर्याइरहेका उनले देशको सबैभन्दा ठूलो रिलायन्स धागो उद्योग, दुई वटा चिनी उद्योग र एउटा स्टिल उद्योग सञ्चालन गर्दै आएका छन्। त्यसबाहेक उनी विभिन्न वित्तीय क्षेत्रमा प्रमुख लगानीकर्ताका रूपमा स्थापित छन्।
पाँचतारे होटलको संख्या औँलामा गन्न सकिने समयमा काठमाडौं म्यारियट सञ्चालनमा ल्याएर चर्चामा आएका अग्रवालले दश वर्षको अन्तरालमा तीन वटा अन्तर्राष्ट्रिय ब्राण्ड होटल सञ्चालनमा ल्याइसकेका छन्। ठमेलमा चारतारे फेयरफिल्ड, काठमाडाैं म्यारियट, कमलादीमा मोक्सीपछि भक्तपुरको नयाँ ठिमीमा प्रस्तावित, 'जे डब्लु म्यारियट'। यो केवल होटल थपिएको मात्रै होइन, यो नेपाली पर्यटन अर्थतन्त्रले आफ्नो दिशा परिवर्तन गर्न थालेको संकेत हो।
पर्यटन उद्योगको दिशा परिवर्तन
नेपाल लामो समयदेखि सस्तो पर्यटन गन्तव्यको रूपमा चिनिँदै आएको छ। ब्याकप्याकर, ट्रेकिङ र धार्मिक यात्रामा सीमित पर्यटक संरचना, न्यून खर्च गर्ने पाहुँना, छोटो बसाइँ- यी नै नेपाली पर्यटनको परिचय बने। तर, विश्व पर्यटन बजारमा खेल बदलिँदै गयो। आज पर्यटकले केवल गन्तव्य हेर्न चाहँदैन, ऊ अनुभव खोज्छ। जसमा लक्जरी अनुभव, सुविधा, सुरक्षा र प्रतिष्ठा। यहाँ नेपाल कमजोर देखियो।
उच्च खर्च गर्ने पर्यटकहरू नेपाल आउँछन्। हिमाल हेर्छन्। संस्कृतिमा मोहित हुन्छन्। तर, बसाइँका लागि चाहिने अन्तर्राष्ट्रिय स्तरको होटल नपाएर छोटो समयमै फर्किन्छन्। यही खाली ठाउँलाई व्यावसायिक अवसरमा बदल्ने रणनीति अग्रवालले अघि सारिरहेका छन्।
काठमाडौं म्यारियट सञ्चालन हुँदा धेरैले प्रश्न उठाएका थिए- के नेपालमा यति ठूलो ब्राण्ड चल्छ? किनकि हायात रिजेन्सीपछि नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिएको थिएन। करिब २० वर्षपछि अमेरिकी चेन होटल म्यारियट भित्रिएपछि धेरैले प्रश्न गर्नु स्वाभाविकै थियो।
अब जे डब्लु म्यारियट सीधै उच्च खर्च गर्ने, लक्जरी र प्रिमियम पर्यटकका लागि भएको सञ्चालक अग्रवालको भनाइ छ।
तर, समयसँगै म्यारियटले आफ्नो बजार प्रमाणित गर्यो। त्यसपछि अग्रवालले अर्को बाटो रोजे- सबैलाई एउटै वर्गमा राख्ने होइन, विभिन्न स्तरको होटल नेपालमा आवश्यक छ भन्ने। उनले नक्सालमा म्यारियट सञ्चालन गरेर लक्जरी सुविधा खोज्ने र बिजनेस ट्राभलरहरूलाई केन्द्रित गरे। ठमेलमा फेयरफिल्ड ल्याएर मध्यम वर्गीय पर्यटकहरूलाई सेवा दिए।
विश्वको बदलिँदो पर्यटनको ट्रेन्डलाई समात्दै कमलादीमा मोक्सी सञ्चालनमा ल्याए। जहाँ युवा, नयाँ पुस्ता र लाइफस्टाइल ट्राभलरलाई लक्षित गरिएको छ। अब जे डब्लु म्यारियट सीधै उच्च खर्च गर्ने, लक्जरी र प्रिमियम पर्यटकका लागि भएको सञ्चालक अग्रवालको भनाइ छ। उनको एउटै चाहना छ- नेपालमा पर्यटनको सबै तहलाई एउटै छानामुनि ल्याउने।
जे डब्लु म्यारियटः विश्वस्तरीय लक्जरीको प्रतीक
'जे डब्लु म्यारियट' म्यारियट इन्टरनेशनलको लक्जरी टियरमा पर्ने प्रिमियम होटल ब्राण्ड हो। विश्वभर यसलाई रिट्ज-कार्लटन र सेन्ट रिजिस जस्ता अल्ट्रा लक्जरी ब्राण्डभन्दा केही तल। तर, परम्परागत म्यारियट र रेनेसाँ ब्राण्डभन्दा उल्लेख्य रूपमा माथि मानिन्छ। यो पहुँच योग्य लक्जरीको अवधारणामा निर्मित ब्राण्ड हो। जहाँ उच्च वर्गीय सुविधा र सेवा प्राप्त हुन्छ। रिट्ज-कार्लटनभन्दा बढी सुलभ र प्राप्य हुन्छ।
विश्वभर करिब एक सयभन्दा बढी देशमा फैलिएको यो ब्राण्ड विशेष गरी बिजनेस र लेजर दुवै बजारका लागि प्रासंगिक छ। मिटिङ तथा इभेन्टका लागि अत्यन्त लोकप्रिय छ। यसको फोकस स्वास्थ्य र आराममा रहन्छ। यसले प्रकृतिसँगको सम्बन्ध, सांस्कृतिक अनुभव र उच्चस्तरीय आतिथ्यलाई एकसाथ समेट्छ।
मोक्सी सञ्चालन भएकै दिन जे डब्लु म्यारियट ल्याउने घोषणा हुनु संयोग थिएन। त्यो सन्देश थियो- नेपाल अब केवल बजेट डेस्टिनेशन होइन।
जे डब्लु म्यारियट विश्वकै प्रिमियम पाँचतारे ब्राण्डमध्ये पर्छ। अहिले काठमाडौंमा रहेका पाँचतारे होटलभन्दा पनि एक स्तर माथिल्लो वर्गमा राखिने यो होटल नेपाल भित्रिनु आफैँमा ठूलो सन्देश भएको नेपालमा प्रिमियम पर्यटकहरूलाई ल्याइरहेको कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्य बताउँछन्। 'यो सन्देश केवल पर्यटकका लागि होइन, अन्तर्राष्ट्रिय लगानीकर्ता, एयरलाइन्स र विश्व पर्यटन बजारका लागि पनि हो,' अमात्यले भने।
जे डब्लु म्यारियटमा ८ अर्ब लगानी
भक्तपुरको नयाँ ठिमीमा २० रोपनी क्षेत्रफलमा निर्माण हुने जे डब्लु म्यारियटमा जग्गासहित ८ अर्ब लगानी हुने उद्योगी अग्रवालको भनाइ छ। ८ अर्बमध्ये २ अर्ब जग्गाकै रहेको र बाँकी ६ अर्बमा ४ अर्ब बैंक ऋण र २ अर्ब स्वपुँजी लगानी गर्ने रणनीति उनले बनाएका छन्।
पर्यटक जहाजबाट ओर्लिनेबित्तिकै लामो जाम, धुलो र हल्लाको सामना गर्नु पर्दैन। नजिकै सबै सुविधा उपलब्ध हुन्छ।
करिब २०० कोठा रहने होटललाई डेस्टिनेशन वेडिङका लागि उत्तम गन्तव्य बनाउने योजना बनाइएको छ। स्वदेशी एवं विदेशीहरूलाई डेस्टिनेशन वेडिङका लागि जे डब्लु आकर्षणको केन्द्र हुने गरी संरचनाहरू निर्माण गर्ने उनको भनाइ छ। भारत, बंगलादेश र अन्य दक्षिण एसियाली मुलुकका उच्च वर्गीय ग्राहकका लागि नेपाल सहज र आकर्षक डेस्टिनेशन बन्न सक्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचदेखि सात मिनेटमै पुग्न सकिने दूरीमा अवस्थित तर काठमाडौं सहरको भीडभाड र कोलाहलबाट टाढा रहने यो होटल काठमाडौंकै सुन्दर हुने दाबी छ। पर्यटक जहाजबाट ओर्लिनेबित्तिकै लामो जाम, धुलो र हल्लाको सामना गर्नु पर्दैन। नजिकै सबै सुविधा उपलब्ध हुन्छ। अझ जापान सरकारको ऋण सहयोगमा कोटेश्वर क्षेत्रमा निर्माण हुने अन्डरपास सम्पन्न भए यो होटलसम्मको यात्रा एक्सप्रेस लेनमै हुनेछ।
नयाँ ठिमीको अर्को विशेषता भनेको यसको भौगोलिक भूमिका हो। नगरकोट, भक्तपुर दरबार क्षेत्र, धुलिखेल, बनेपा जस्ता गन्तव्यहरूको गेटवे हो। त्यहाँ बसेर पर्यटकले सजिलै पूर्वी उपत्यका घुम्न सक्छन्, पाटन पुग्न सक्छन्। काठमाडौं सहर आउन सक्छन्।
हेरिटेज र लक्जरीको संयोजन
जे डब्लु म्यारियट केवल भव्य भवन मात्र हुने छैन। होटलको डिजाइनमा भक्तपुरको कला, संस्कृति र हेरिटेज झल्कने संरचना बनाइने योजना बनाइएको छ। विश्वप्रसिद्ध आर्किटेक्टहरूबाट डिजाइन मागेर उत्कृष्ट अवधारणा छनोट गरिने जनाइएको छ। अन्तर्राष्ट्रिय लक्जरी र स्थानीय पहिचानको संयोजन अहिले विश्व पर्यटनको प्रमुख ट्रेन्ड हो।
'पर्यटकहरू पाँचतारे सुविधा त चाहन्छन्, तर त्यो जुनसुकै देशमा भेटिने जस्तो होइन, स्थानीय स्वाद मिसिएको चाहन्छन्। यही सोचअनुसार जे डब्लु म्यारियटलाई लक्जरी विथ हेरिटेजको अवधारणामा विकास गरिँदै छ,' सञ्चालक अग्रवालले भने।
नेपाली पर्यटनको भविष्य
'यदि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भए, उडान संख्या थपियो र व्यवस्थापन सुधारियो भने नेपालले वार्षिक ५० लाख पर्यटक सहजै भित्र्याउन सक्छ। त्यसपछि होटल उद्योग आफैँ फस्टाउँछ। रोजगारी बढ्छ। विदेशी मुद्रा भित्रिन्छ। र, पर्यटन अर्थतन्त्र देशको प्रमुख आधार बन्छ। अहिलेको मुख्य चिन्ता जहाजको संख्या र उडान विस्तार नहुनु हो,' अग्रवालले भने।
जे डब्लु म्यारियटका लागि ३१ जनवरी २०२६ मा म्यारियट ग्रुपसँग सम्झौता पत्रमा हस्ताक्षर हुने तय भइसकेको छ। सम्झौता काठमाडौंमै हुने जनाइएको छ। जहाँ म्यारियट होटल निर्माणकर्ताहरू, एसिया क्षेत्र हेर्ने शीर्ष अधिकारीहरूको सहभागिता रहने छ।
औद्योगिक क्षेत्रमा अग्रवालको योगदान होटल व्यवसायमा मात्र सीमित छैन। उनले नेपालको अर्थतन्त्रमा विविध क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
यो औपचारिक घोषणा केवल एक होटल सम्झौता होइन। नेपालमा अन्तर्राष्ट्रिय ब्राण्डहरूको भरोसाको पुनः पुष्टि हुने सञ्चालक अग्रवालको दाबी छ। होटल सन् २०२९ भित्रमा सञ्चालनमा ल्याइसक्ने योजना उनले बनाएका छन्।
शशीकान्त अग्रवाल: बहुआयामिक उद्यमी
औद्योगिक क्षेत्रमा अग्रवालको योगदान होटल व्यवसायमा मात्र सीमित छैन। उनले नेपालको अर्थतन्त्रमा विविध क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलिरहेका छन्। देशकै सबैभन्दा ठूलो रिलायन्स धागो उद्योगका मालिक अग्रवालले हजारौँ रोजगारी सिर्जना गर्दै घरेलु उत्पादनमा योगदान पुर्याइरहेका छन्। त्यसैगरी दुई वटा चिनी उद्योग र एउटा स्टिल उद्योगमार्फत पनि उनले नेपालको औद्योगिक विकासमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्।
यसका अतिरिक्त, अग्रवाल वित्तीय क्षेत्रमा पनि प्रमुख लगानीकर्ताको रूपमा सक्रिय छन्। बैंकिङ, बीमा र अन्य वित्तीय संस्थाहरूमा उनको लगानी नेपालको वित्तीय क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको छ। यसरी उद्योग, पर्यटन र वित्तीय क्षेत्रमा समग्र योगदान पुर्याउँदै अग्रवालले नेपाली अर्थतन्त्रको विविधीकरण र आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
जे डब्लु म्यारियटको आगमन केवल एउटा होटलसँग मात्रै सम्बन्ध होइन। यो नेपाली पर्यटन उद्योगको परिपक्वताको कथा हो। अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त गर्ने दृढ संकल्पको कथा हो। सबैभन्दा महत्त्वपूर्ण कुरा- नेपालले विश्व पर्यटनको मानचित्रमा प्रिमियम गन्तव्यको रूपमा आफूलाई स्थापित गर्न सक्ने क्षमताको प्रमाण हो।
अग्रवाल जस्ता दूरदर्शी उद्यमीहरूको नेतृत्व र लगानीले नेपाल अब बजेट ट्राभलको गन्तव्यबाट प्रिमियम पर्यटन गन्तव्यतर्फ अघि बढिरहेको छ। यो परिवर्तनले केवल पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउने छैन। समग्र नेपाली अर्थतन्त्रको रूपान्तरणमा पनि महत्वपूर्ण योगदान पुर्याउने छ।