काठमाडौं। आर्थिक संकट गहिरिँदै गएको भन्दै पूर्वउर्जामन्त्री समेत रहेका व्यवसायी दीपक खड्काले एक वर्षअघि बिक्रीका लागि बैना समेत लिएको पाँचतारे होटल इस्टर्नका लागि आफैले ऋण लिएर निर्माण सम्पन्न गर्ने तयारीमा जुटेका छन्। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले २०८१ मंसिरमा होटल खरिदका लागि बैना दिए पनि अन्तिम समयमा रकम तिर्न नसकेपछि व्यवसायी खड्का आफैले होटल निर्माण सम्पन्न गर्नका लागि बैंकबाट ऋण लिने तयारी गरेका हुन्।
आर्थिक व्यवस्थापनका लागि भन्दै व्यवसायी खड्काले झापामा निर्माणधिन पाँचतारे होटल बिक्री गरेको जानकारी एक वर्षअघि नै गराएका थिए। तर, खरिदकर्ता भट्टले पैसा दिन नसकेपछि सो होटल आफैले सञ्चालन गर्ने योजना बनाएको खड्काले जानकारी दिए। १८ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको होटलका लागि खड्काले २ अर्ब २८ करोड ८० लाख रुपैयाँ बैंक ऋण सीमा पाएको हो।
खड्काको पारिवारिक लगानी रहेको महत्वाकांक्षी परियोजना ‘होटल इस्टर्न नेपाल’को काम ४० प्रतिशत सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा बढी कर्जा लिने परियोजनाका लागि ‘क्रेडिट रेटिङ’ अनिवार्य गरेको छ। सन् २०१८ मा कूल ३ अर्ब २६ करोड ९० लाख रुपैयाँ लगानी लागतमा होटल इस्टर्न नेपाल निर्माण सुरु गरेको थियो। होटलको वित्तीय संरचनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत (स्वपुँजी) रहने गरी ऋण–पुँजी (डेब्थ इक्युटी रेसियो) कायम गरिएको थियो।
सोहीअनुसार होटल निर्माणका लागि आवश्यक ऋण लिन रेटिङ एजेन्सी इन्फोमेरिक्समा होटलले क्रेडिट रेटिङ गराएको हो। जसमा इन्फोमेरिक्सले २ अर्ब २८ करोड रुपैयाँ कर्जा सीमा निर्धारण गरेर ‘बीबी माइनन्स’ रेटिङ दिएको छ। इन्फोमेरिक्सले होटलको दीर्घकालीन बैंक ऋणका लागि दिएको डबल बी माइनस रेटिङले होटलको वित्तीय अवस्था र ऋण तिर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
प्रतिवेदनअनुसार होटलसँग आफ्नो वित्तीय दायित्व पूरा गर्ने क्षमता हालका लागि औसत छ। तर, भविष्यमा आउन सक्ने प्रतिकूल आर्थिक अवस्थाले ऋण तिर्ने क्षमतामा प्रभाव पार्न सक्छ।
प्रतिवेदनअनुसार होटलसँग आफ्नो वित्तीय दायित्व पूरा गर्ने क्षमता हालका लागि औसत छ। तर, भविष्यमा आउन सक्ने प्रतिकूल आर्थिक अवस्थाले ऋण तिर्ने क्षमतामा प्रभाव पार्न सक्छ। कुनै पनि आम्दानी सुरु नभएका नयाँ परियोजनाका लागि यो रेटिङलाई सामान्य मानिन्छ।
पूर्वमन्त्री खड्काकी श्रीमती बिनिता खड्का अध्यक्ष रहेको होटल इस्टर्न नेपालको कूल लागत ३ अर्ब बढीमा सेयरधनीले ३० प्रतिशत हिस्सा अर्थात् करिब ९८ करोड १० लाख रुपैयाँ संस्थापकले आफ्नै पुँजीबाट लगानी गर्नेछन्। बाँकी विभिन्न बैंकबाट दीर्घकालिन कर्जाबाट होटल निर्माण हुनेछ। यो संरचनाले होटल ठूलो मात्रामा बैंकको ऋणमा निर्भर छ, जसले गर्दा सञ्चालनमा आएपछि ब्याज र किस्ताको भार उच्च रहनेछ।
यस्तै, होटल ठूलो ऋणमा आधारित भएकाले बैंकको लगानी जोखिमम हुन सक्ने रेटिङ रिपोर्टले देखाउँछ। नेपालको बैंकिङ क्षेत्रमा हुने ब्याजदरको घटबढले होटलको नाफामा सिधा असर पार्न सक्छ। ७० प्रतिशत ऋण भएकाले थोरै मात्र ब्याजदर बढ्दा पनि मासिक किस्तामा ठूलो भार थपिनेछ। होटल निर्माण सम्पन्न भएपछि पनि बजारमा स्थापित हुन र पाहुना आकर्षित गर्न समय लाग्न सक्छ।
यदि तोकिएको समयमा निर्माण सकिएन भने बैंकको ब्याज बढ्दै जानेछ, जसले गर्दा परियोजनाको कुल लागत अझै बढ्न सक्छ।
सुरुवाती वर्षमा पर्याप्त आम्दानी नभएमा ऋण तिर्न कठिनाइ हुन सक्छ। यदि तोकिएको समयमा निर्माण सकिएन भने बैंकको ब्याज बढ्दै जानेछ, जसले गर्दा परियोजनाको कुल लागत अझै बढ्न सक्छ। होटल झापाको धुलाबारी चोकमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ, जुन नेपाल–भारत सीमा नजिक रहेकाले पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मनिन्छ।
इन्फोमेरिक्स रेटिङ रिपोर्टअनुसार सन् २०२५ अक्टोबरको मध्यसम्ममा परियोजनाले करिब ४० प्रतिशत वित्तीय प्रगति हासिल गरिसकेको छ। ९८ वटा सुविधायुक्त कोठा रहने यो ५ तारे होटलको भौतिक निर्माण कार्य हाल ‘मध्यम’ चरणमा छ। निर्माण तालिका अनुसार, होटलले सन् २०२६ को अप्रिल (२०८२ को अन्त्यतिर) देखि ‘सफ्ट लन्च’ गर्ने लक्ष्य राखेको छ र आर्थिक वर्ष २०२६/२७ सम्ममा पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा आउने लक्ष्य छ।
होटलमा फुड एन्ड बेभरेज सेवाका साथै, क्यासिनो, स्विमिङ पुल, बैंकेट हल, रेष्टुराँ, कन्फेरेन्स हल र स्पालगायत अन्य धेरै सुविधा रहने जनाएको छ। झापाको चन्द्रगढी विमानस्थलबाट ३ किलोमिटर दूरीमा छ। भारत नजिक भएका कारणले पश्चिम बंगालबाट बढी आउने अपेक्षा गरिएको छ। होटल र पश्चिम बंगाल राज्यको सीमाना ६ किलोमिटर मात्रै छ। होटल भारतीय पर्यटकमा निर्भर रहनेछ।