काठमाडौं। मानविकी संकायको मुलुककै ठूलो क्याम्पसको रुपमा रहेको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थी हाल क्याम्पस प्रमुख र प्रशासनसँग चरम असन्तुष्ट व्यक्त गरिरहेका छन्।
क्याम्पसमा अनिवार्य अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक लाेकनाथ काेइरालाले आफूलाई राजिनामा दिन बाध्य पारिएका राजिनामा दिएकाे बताएका छन्। उनकाे राजिनामापछि विद्यार्थी प्रशासनसँग झनै रुष्ट छन्।
‘मैले वर्ष दिनको कोर्स एक/दुई महिनामा सक्न जानिन्। मैले स्ववियु र प्राध्यापक संगठनहरू खुसी बनाउन सकिन,’ शिक्षक कोइरालाले राजिनामा दिएपछि फेसबुकमा लेखेका छन्, ‘परीक्षामा गार्ड बसेको बेला अनधिकृत रुपमा छिरेर मेरो दाइ वा भाइ छ हेरिदिनु होला भन्ने शक्तिवाला र शक्तिका पुजारीका अनाधिकृत आदेश कहिल्यै मानिन।’
उनले कक्षामा कहिल्यै सामेल नहुने, आन्तरिक परीक्षा पनि नदिने र परीक्षाको अन्त्यमा आएर फलानो संठनको यो र त्यो भन्ने तथा आन्तरिक र प्रयोगात्मकमा तपाईंले हेरिदिनुपर्छ भन्नेका कुरा कहिल्यै नसुनेका कारण पनि आफूलाई राजिनामा दिन बाध्य पारिएको बताएका छन्।
‘मैले संगठनका विचार वा स्वार्थ खातिर कहिले विद्यार्थी बरालिन। राजनीतिशास्त्रको प्रयोगशाला मानिने रत्न राज्यलक्ष्मी क्याम्पसमा राजनैतिक प्रयोग नगरेर जहील्यै पढाउनु मात्र गल्ती रहेछ,’ शिक्षक कोइरालाले लेखेका छन्, ‘त्यसैले म अयोग्य रहेछु, रत्नराज्य तिमी राजनैतिक प्रयोग गर्दै गर।’
उनको यो स्टाटससहितको राजीनामापछि अधिकांश विद्यार्थीले आफ्नो सामाजिक सञ्जालमा लोकनाथ सबैले चाहेको र विद्यार्थीलाई समयमा आएर, बुझाएर पढाउने शिक्षक भएको भन्दै क्याम्पस प्रसाशनले गलत नियत राखेर निक्लिन बाध्य बनाएको आरोप लगाएका छन्।

उनको राजीनामापछि हाल अधिकांश विद्यार्थीले क्याम्पसँग असन्तुष्ट व्यक्त गरेका छन् भने यो क्याम्पसको बेथीतीको एक झलक भएको उल्लेख गरेका छन्। कोइरालाको राजीनामापछि विद्यार्थीले क्याम्पसप्रति चरम असन्तुष्टि त पोखेका छन् नै कतिपय विद्यार्थीले भने परिक्षाको मुखमा आएर शिक्षकको राजीनामाले अन्योलको अवस्था सिर्जना गरेको बताएका छन्।
‘हाम्रो फाइनल परीक्षाको फारम खुलिसकेको छ भने अझै केही युनिटहरु पढाई हुन बाँकी छ,’ आरआर तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीले भने, ‘३० नम्बरको प्रयोगात्मक परीक्षाका लागि उहाँले दिएको कामहरु हामीले केही बुझाइसकेका छौं भने केही गरिरहेका छौं। अब त्यसको मुल्यांकन कसरी हुन्छ र हाम्रो बाँकी युनिट कसरी पढाइ हुन्छ भन्ने विषयमा अन्यौलको स्थिति सिर्जना भएको छ।’ उनले आरआर क्याम्पस विद्यार्थीका हरेक विषयमा गैरजिम्मेवार रहेको बताए।
प्रयोगात्मक नतिजामा गरेको लापरबाहीबाट सिर्जित नतिजा
एउटा शिक्षकको राजिनामा खासै त्यति ठूलो विषय होइन, तर आरआरका विद्यार्थीले कोइराला शिक्षकको राजिनामाको विषयमा जसरी आफ्नो धारणा व्यक्त गरिरहेका छन्, त्यसबाट क्याम्पसले आफ्नो गैरजिम्मेवारपन देखाउँदै आएको र राम्रो मान्छेलाई टिक्न नदिएको विषय प्रष्ट हुन्छ।
कोइराला शिक्षकले दिएको राजिनामाको विषय भने विद्यार्थीहरुको प्रयोगात्मक नतिजामा भएको लापरबाहीसँग जोडिन्छ। केही दिनअघि सार्वजनिक भएको बिए प्रथम वर्षको नतिजामा क्याम्पसले प्रयोगात्मक नम्बरका लागि लिएको परीक्षामा सहभागी भएका ९० प्रतिशत विद्यार्थीको नतिजा खाली आएको थियो। सोही विषयलाई ध्यानाकर्षण गराउँदै केही दिनअघि विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई माला लगाइदिएका थिए।

‘सधैं कक्षामा आउने, प्रयोगात्मक वापत्को ३० अंकका लागि दिएको सबै गृहकार्य गरेका र आन्तरिक परीक्षामा समेत सहभागी भएका ९० प्रतिशत विद्यार्थीको प्रायः सबै जसो विषयमा नतिजा रिक्त छ,’ दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीले भने, ‘प्रथम वर्षको म र म जस्ता सबै विद्यार्थीको नतिजामा रिक्तता देखिएपछि हामीले क्याम्पसको लापरबाहीलाई व्यङ्ग्य गर्दै माला लगाइदिएका हौं।’
उनले क्याम्पसले लिएको आन्तरिक परीक्षामा को र कति विद्यार्थी सामेल भए भन्ने रेकर्डको साथमा सो विद्यार्थीको परीक्षाको उत्तरपुस्तिका समेत क्याम्ससँग नभएको बताए।
यसो त यो भन्दा अघिल्लापटक प्रकाशित भएको प्रथम वर्षको नतिजामा पनि अधिकांश विद्यार्थीको प्रयोगात्मक नम्बर खाली आएको थियो। सो समयमा पनि हालजस्तै क्याम्पसले दोहोराएर परीक्षा दिनुपर्ने बताएको थियो।
हाल विद्यार्थीले एकपटक परीक्षा दिइसकेको र क्याम्पसको लापरबाहीले भएको त्रुटीमा आफूहरुले दोहोराएर परीक्षा दिन नसक्ने बताइरहेका छन्। शिक्षकहरु भने आफूहरुले हालेर पठाएको नम्बर र नतिजामा आएको नम्बरबीच फरक भएको र त्यसमा आफ्नो कुनै हात नभएको बताउँछन्।
यसैक्रममा विद्यार्थीले कुरा गर्दा विषय शिक्षकलाई दोष देखाएको र राजिनामा दिनका लागि बाध्य पारिएको विद्यार्थीहरुको भनाइ छ।
विषय शिक्षकले आन्तरिक मुल्यांकन गरेर क्याम्पसमा बुझाएको फायल गाएब गरेर क्याम्पसले विद्यार्थीलाइ पास मात्रै हुनेगरी आफूखसी नम्बर पठाएको र प्रयोगात्मक परिक्षामा सहभागी भएका मध्ये ९० प्रतिशत विद्यार्थीको नम्बर नै नपठाएको भन्दै यसको दिर्घकालीन समाधान चाहिने विद्यार्थीहरु बताउँछन्।
तर यसको सबै अब्जस शिक्षकमाथि थोपरिएपछि शिक्षक राजिनामा दिन बाध्ये भएको उनीहरुको भनाइ छ। विद्यार्थीहरुले अधिकांश शिक्षकले दुईदेखि तीन महिनामा कोर्स सक्ने, त्रिविले तोकेको ३० नम्बरको प्रयोगात्मक नम्बरको उचित मूल्यांकन नगर्ने जस्ता गैरजिम्मेवारपन लामो समयदेखि देखाउँदै आएको बताए।

क्याम्पसले राम्रो र विद्यार्थीले चाहेको शिक्षकलाई टिक्न नदिएको र विद्यार्थीको भविष्यमाथि गैरजिम्मेवारपन देखाएको भन्दै कोइराला शिक्षकको राजिनामा अस्वीकृत गर्न र राजिनामा दिन बाध्य पार्नेमाथि छानबिन गर्न माग गरेका छन्।
विद्यार्थीहरुले आफ्नो म्यासेन्जरमार्फत, फोन गरेर तथा सामाजिक सञ्जालमा लेखेर शिक्षकलाई राजीनामाको निर्णयबाट फर्कन आग्रह गरेका छन् भने क्याम्पसप्रमुखलाई यो अवस्था अन्त्यका लागि आग्रह समेत गरेका छन्।