काठमाडौं। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो।
उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको हो।
उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर स्वीकृति दिने तयारी गरिएको उनको भनाइ छ। आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना छ।
‘सिचुवान एयरलाइन्सले पोखराबाट अस्टे«लिया उडान गर्ने योजना बनाएको छ। पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ। छिट्टै उडान तालिका सम्बन्धित वायुसेवाबाट पेस होला’, सूचना अधिकारी भूलले भने। उडान भए अस्ट्रेलिया आवतजावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ।
यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो। कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो। २०८० असार ६ मा उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ।
यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ मा उद्घाटन भएको थियो।
भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन्।
यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित भएको थियो।
थाई एयर एसियाले अक्टोबाटर २६ देखि सुरु हुने ‘विन्टर सेडुअल’ मा उडान गर्ने गरी तयारी गरेको छ। हप्तामा दुई उडान गर्ने एयरलाइन्सको योजना छ।
यस्तै, जजिरा एयरले पनि विन्टर ‘सिजन’मा उडान गर्ने योजना बनाएको छ। हाल भैरहवाबाट नियमित उडान गरिरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान लामो समयदेखि हुन सकेको छैन।
जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरिसकेको छ। २०७९ फागुनमा दोस्रोपटक उडान सुरु गरेको यस वायुसेवाले त्यसअघि साढे दुई महिना उडान गरेर प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो।