काठमाडाैं। मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ।
‘नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाऊ: सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याऊ’ भन्ने आह्वानसहित समाजले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो।
प्रदर्शनमा ‘ठूला नेता मिलेका: अरब अरब निलेका’, ‘शीर्ष नेताको सम्पत्ति छानबिन गर’, ‘शीर्ष नेता भ्रष्ट छन्: नेपाली जनता त्रस्त छन्’, भ्रष्टाचारको धमिराले देश खोक्रो भइसक्यो, भ्रष्टाचार हटाऊ: लोकतन्त्र बचाऊ, भ्रष्टाचारले लोकतन्त्रलाई कमजोर बनाउँछ, भ्रष्टाचार लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो, लोकतन्त्रको सबैभन्दा ठूलो शत्रु: कुशासन र दण्डहीनता, नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरूसहित सबैलाई कारबाही गर लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो।
एक घण्टासम्म भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख दलका शीर्ष नेताको गलत आचरणका कारण लोकतन्त्र र देश संकटमा पर्न थालेको बताउँदै प्रमुख दलका शीर्ष नेताको तत्काल सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिए।
प्रदर्शनमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसी, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनीले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा स्रष्टाहरू अर्जुन पराजुली, रामेश्वरी पन्त र धीरेन्द्र प्रेमर्षिले नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको माग गर्दै कविता प्रस्तुत गरेका थिए।