काठमाडौं। नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गाको कित्ताकाट फुकाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको छ। महासंघले दुई महिनाअघि गरिएको कित्ताकाट फुकाउने निर्णय तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो।
नेपाल सरकार, मन्त्रिपरिषद् स्वयंले नीति–निर्माता, अर्थ विज्ञ तथा उद्योग व्यवसायीसमेतको रायसुझावका आधारमा गत वैशाख ५ गते कित्ताकाट खोल्ने निर्णय गरेकोमा सरकारले त्यसलाई हालसम्म सार्वजिनक नगर्दा कित्ताकाटको समस्या झन् बल्झिन गएको महासंघले जनाएको छ। यसबाट लाखौं जनता प्रभावित र प्रताडित बन्न पुगेको महासंघको भनाइ छ।
‘घरजग्गा क्षेत्र चलायमान नहुँदा देशको समग्र आर्थिक गतिविधि सुस्त बन्दै गएको तथ्य हामी सबैमा विदितै छ। घरजग्गा क्षेत्रलाई चलायमान बनाउन कित्ताकाटलाई सहजीकरण गर्ने भनी प्रधानमन्त्री तहबाटै अभिव्यक्ति प्रकट हुँदा हामीलाई केही उत्साहित बनाएको थियो। तर, कित्ताकाट सहज बनाउने निर्णय कार्यान्वयन नगरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने महत्वपूर्ण दायित्वबाट सरकार पन्छिन खोजेको देख्दा हामी चिन्तित बनेका छौं’ महासंघले भनेको छ।
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा अर्थमन्त्रीबाट घरजग्गा कारोबारलाई विस्तार गर्न कित्ताकाट फुकुवा गर्ने सरकारको नीति स्पष्ट भएको बताउँदासमेत यससम्बन्धी कानुनी प्रक्रिया अझ टुँगो लाग्न नसकको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ। यस्तो अवस्थाले सरकार र राज्य संयन्त्रप्रतिको विश्वास कम हुँदै गएको हो कि भन्ने लाग्न थालेको पनि महासंघले जनाएको छ।
‘प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्ले गरेको निर्णयसमेत यसरी अलपत्र पारिन्छ भने अरु विषयमा के आशा राख्ने?,’ महासंघले भनेको छ, ‘सरकारको यस्तो अपारदर्शी व्यवहारबाट नेपालको रियल इस्टेट क्षेत्र एवं यसमा आश्रित व्यवसायीका अतिरिक्त सर्वसाधारण जनतासमेतलाई निकै दुःखित र प्रताडित बनाएको छ भन्ने हामीले ठानेका छौं। ’निर्णय प्रक्रियामा ढिलासुस्ती गर्ने राज्य संयन्त्रको यो चरित्रले समग्र अर्थतन्त्रलाई नै तहसनहस बनाउने महासंघले दाबी गरेको छ।