काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीको बचत फिर्ताका लागि धेरै काम भइसकेको बताएकी छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अब समस्याग्रस्त सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु हुने बताएकी हुन्।
“सहकारी बचतकर्ताको रकम फिर्ता गर्नेबारे धेरै काम गरिसकेका छौँ। साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौं,” उनले भनिन्।
सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने पक्रिया अगाडि बढाएको छ। गत वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो।
समितिले गरेको अध्ययनअनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ।
पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिका सदस्यसचिव रविन ढकालले जानकारी दिए।
समितिले आफ्नो कार्यविधि तय गर्दै ‘बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अवलम्बन गरिने’ जनाएको छ। समितिले मागदाबी छुट भएका बचतकर्ताको पुनः मागदाबी गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने जनाएको छ।
समितिका अनुसार नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रूपमा मात्र खर्च गरिने पनि स्पष्ट पारिएको छ। समितिका सदस्यसचिव ढकालले कर्जा असुलीका लागि समितिले कानुनबमोजिम कठोर नीति अवलम्बन गर्ने जानकारी दिए।