काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ । सोहि अनुसार व्यवसाय विस्तार गरेर प्रक्षेपित नाफा गर्ने बैंकको योजना छ ।
‘यो वर्ष न्युनतम ३ अर्ब रुपैयाँ नाफा गरेर सेयरधनीलाई राम्रो प्रतिफल दिने योजनामा छौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले भने ’‘व्यवसायको भोलुम नबढेसम्म बैंकले प्रक्षेपण गरेको नाफा कमाउन संभव नहुने भएकाले कारोबार बढाउन लागिएको हो ।’
गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । तर, गत वर्षको तुलनामा यो वर्ष ६६ करोड रुपैयाँ नाफा घट्ने बैंकको प्रक्षेपण छ । अन्य बैंकको तुलनामा ब्याजदर अन्तर (स्प्रेड) कम भएकाले नाफा ३ अर्ब रुपैयाँ मात्र हुने अनुमान गरिएको उनले जानकारी दिए ।
स्प्रेडदरलाई केहि बढाए नाफा १ अर्ब रुपैयाँ थप गर्न सकिने तर, सरकारी स्वामित्व भएकोले नाफा र सेवा दुबैलाई हेर्नुपर्ने उनको भनाई छ ।
बैंकमा कर्जाको ब्याजदर कम र निक्षेपको ब्याजदर अन्यको तुलनामा बढी भएकोले निक्षेप संकलनमा समस्या नरहेको अधिकारीको भनाई छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेपनि अब बढ्ने उनको भनाई छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ करोड १८ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ९१ करोड रुपैयाँ नाफा गरेको थियो । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७२ पैसा तथा प्रतिसेयर नेटवर्थ २ सय ९९ रुपैयाँ छ ।
बैंकले ब्याज आम्दानी, फि कमिशन घटाएको छ भने आधारदर, खराव कर्जा भने बढेको छ । पहिलो त्रैमासमा बैंक केही सूचकहरु नकारात्मक भएपनि यस वर्षको अन्त्यसम्म सबै सूचकहरुलाई सकारात्मक बनाउने अधिकारीको दाबी छ ।
त्यस्तै, बैंकले २३ वर्षपछि लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।
बैंकले १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको बोनस सेयर बाँड्न लागेको छ । यस्तै, ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार रुपैयाँ रुपैयाँ पुग्नेछ ।