काठमाडौं । बैंकका कर्मचारीको मिलेमतोमा फर्जी कागजात बनाएर वाणिज्य र विकास गरी १९ वटा बैंकको रकम चोरी भएको खुलेको छ । चोरीमा संलग्न भएको आरोपमा महानगरिए प्रहरी परिसर काठमाडौंले अञ्जान बराल, गोविन्द घिमिरे र विभिन्न बैंकका चार कर्मचारीलाई मंगलबार पक्राउ गरेको छ ।
फर्जी कागजका आधारमा खोलिएका खाता र एटीएम कार्डमार्फत जनता बैंक, एनआईसी एसिया, माछापुच्छ्रे र मुक्तिनाथ विकासलगायत १९ वटा बैंकका शाखाबाट पैसा चोरी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटना थाहा भएपछि प्रहरी, नेपाल राष्ट्र बैंक र रकम चोरिएका एनआईसी एसिया, माछापुच्छ्रे, जनता र मुक्तिनाथलगायत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका कर्मचारीको मंगलबार प्रहरी परिसर टुेकमा आकस्मिक बैठक भएको थियो । राष्ट्र बैंक र बैंकरहरूले घटनाको सत्यतथ्य बाहिर ल्याइदिन प्रहरीलाई आग्रह गरेका छन् ।
आज प्रकाशित कान्तिपुर दैनिकका अनुसार, सर्भर दुरुपयोग र फर्जी कागज बनाएर रकम चोरिएको भेटिएपछि प्रहरीले सम्बन्धित बैंकहरूबाट खाता, एटीएम र चेकबुक जारी गर्नेसहित विभिन्न तहका कर्मचारीमाथि अनुसन्धान थालेको हो ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान भइरहेको डीएसपी हविन्द्र बोगटीले जानकारी दिए । उनले पक्राउ परेका कर्मचारीहरूको विवरण भने अनुसन्धानमा असर पुग्ने भन्दै प्रहरीले गोप्य राख्ने बताए ।
यसअघि पनि अन्य बैंकको सिस्टम ह्याक र फर्जी कागज प्रयोग गरेर अनधिकृत रूपमा पैसा झिकिएको भए पनि एकैपटक डेढ दर्जन बैंक गिरोहको निसाना परेको यो पहिलो घटना हो । विभिन्न बैंकबाट गरेर कति रकम चोरी भएको हो भन्ने विवरण प्रहरीले खुलाइसकेको छैन ।
प्रहरीको आग्रहपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र मंगलबार नै महानगरीय प्रहरी परिसर टेकु पुगेर घटनाको जानकारी लिएका छन् । अन्य बैंक सञ्चालक तथा सीईओसँग घटनाबारे छलफल भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले घटना पुष्टि गरे । अनुसन्धानमा असर पर्ने भन्दै चार बैंकबाहेक अन्यको नाम सार्वजनिक गर्न मानेनन् । ‘प्रारम्भिक अनुसन्धानको टुंगो लागेपछि घटना सार्वजनिक गर्छौं,’ उनले भने ।
जनता बैंकको बानेश्वर र न्युरोड शाखाबाट मात्रै फर्जी कागजबाट बनाइएका चेक र एटीएमबाट १९ लाख ९९ हजार रुपैयाँ झिकेको विवरण फेला परेको बोगटीले जानकारी दिए । अन्य बैंकबाट चोरिएको तथा फर्जी कागजबारे अनुसन्धान भइरहेको छ ।
एनआईसी एसिया बैंकको मात्रै करिब सय थान एटीएम कार्ड र विभिन्न बैंकले जारी गरेका सयवटाभन्दा बढी चेकबुक बरामद गरिएको छ ।
गत भदौ १४ गते चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । असोज ७ मा लहानस्थित कृषि विकास बैंकको सिस्टम कर्मचारीकै मिलेमतोमा ह्याक गरेर विदेशी र नेपाली संलग्न गिरोहले २ करोड रुपैयाँ चोरीको घटना भएको थियो ।
साे प्रकरणमा १२ जना पक्राउ परेका थिए । त्यसअघि गत भदौ १४ को राति नबिल बैंकको नक्कली एटीएमबाट करिब डेढ करोड रुपैयाँ चोरी गर्ने पाँचजना चिनियाँ पक्राउ परेका थिए ।
असारमा राष्ट्रिय वाणिज्य बैंकका एटीएम पिन ह्याक गरेर २० लाखभन्दा बढी रकम चोरी गर्ने तीन रोमानियाली र एक नेपाली काठमाडौंबाट पक्राउ परेका थिए ।