काठमाडौं । बैंकिङ अपराध गर्नेहरुले रकम लुटनका लागि नयाँ शैली अपनाउन थालेका छन् । एटिएम र प्रणाली नै ह्याकिङ गरेर लुटेराहरुले बैंकको पैसा चोर्दै आएकोमा आइतबार र सोमबार जनता बैंकबाट सक्कली कागजातमा सम्बन्धित खातावालाको हस्ताक्षर चोरी गरी रकम १९ लाख ९९ हजार रुपैयाँ लुटिएको छ ।
यो समस्याप्रति नेपाल राष्ट्र बैंक गम्भीर भएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले यस घटनाप्रति राष्ट्र बैंक स्वयं अचम्म परेको बताए । उनले परम्परागतशैलीबाट रकम चोरी भएको जानकारी दिए ।
‘कुनै व्यक्तिको सक्कली चेक, हस्ताक्षर कसरी दुरुपयोग भन्नेमा अचम्म लागेको छ’ । प्रवक्ता निरौलाले भने । उनका अनुसार प्रहरीले एनआइसी एसिया बैंक, माछापुच्छ्रे बैंक, जनता बैंक, एभरेष्ट बैंक ज्योति विकास बैंक मुक्तिनाथ विकास बैंक लगायतका आधा दर्जन बैंकको चेक, एटिएम तथा विभिन्न व्यक्तिहरुको फोटो समेत बरामद गरेको छ ।
साथै प्रहरीले चोरी भएको सबै रकम समेत बरामद गरेको छ । प्रवक्ता निरौलाका अनुसार यस विषयमा राष्ट्र बैंकले आफ्ना समबन्धित विभागहरुलाई अनुसन्धान गर्न लगाइसकेको छ । ‘ के समस्या भएको रहेछ, छिट्टै बाहिर आउँछ ।’ प्रवक्ता निरौलाले भने ।
प्रहरीको जानकारी अनुसार आइतबार ११ बजेतिर व्यवसायी गोपालमान राजबाहकको मोबाइलमा प्रहरीको नामबाट मोबाइल ह्याक भएपछि अनुसन्धान गर्न आधा घण्टा मोबाइल अफ गर्न भनेको र आधा घण्टापछि मोबाइल अन गर्दा मोबाइलमा जनता बैंकको आफ्नो खातामा पैसा जम्मा भएको तीन वटा म्यासेज आएपछि गोपालले प्रहरीलाई खबर गरेका थिए ।
जसमा तीन पटकमा जनता बैंकमा रहेको उनको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ निकालिएको जानकारी आएको थियो । प्रहरीको नामबाट फोन गरी पैसा ठगेको रहेछ भन्ने थाहा हुन्छ । प्रहरीको अनुसन्धानले बैंकमा ५ लाख रुपैयाँका २ वटा चेक र ९ लाख ९९ हजार रुपैयाँको एउटा चेकमार्फत सो रकम निकालिएको खुलेको छ ।
प्रहरीले घटनामा संलग्न काभ्रेपलान्चोकका १९ वर्षे सुभाष श्रेष्ठ, १९ वर्षे कुमार तामाङ, १८ वर्षे मनिष घिमिरे, २१ वर्षे अन्जान बराल, बाग्लुङ गलकोटका २५ वर्षे सुमन पौडेल र सिन्धुपाल्चोकका ३० वर्षे गोविन्द गिरीलाई पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न व्यक्तिका ८२५ थान फोटो, एनआइसी एसिया बैंकको ८२ थान एटिएम, विभिन्न बैंकहरुका ७ थान एटिएम कार्डहरु, व्यक्तिका नामा भएका ३२९ थान चेकहरु र बैंकसँग सम्बन्धित डकुमेन्ट २ बोरा बरामद गरेको छ । त्यस्तै, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० थान बरामद गरेको छ ।
गत भदौ १४ गते चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ लुटेको महिनादिन नबित्दै फेरी असोजको पहिलो साता कृषि विकास बैंकको लाहन शाखाबाट पनि ५ करोड रुपैयाँ चोरी भएको थियो ।