काठमाडौं । निजी लगानीमा निर्माण हुन लागेको ४९ मेगावाटको मध्य मेवा जलविद्युत आयोजनामा आधा दर्जन बैंकहरुले ऋण लगानी गर्ने भएका छन ।
हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंकले गरी ६ अर्ब ९५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन ।
आयोजा बनाउन ९ अर्ब २६ करोड रुपैयाँ अनुमान गरिएको छ । बाँकी १ अर्ब ९५ करोड रुपैयाँ लगानी स्वपुँजीबाट जुटाइने कम्पनीका अध्यक्ष विजय राजभण्डारीले बताए । उनले आयोजनाबाट २०८० असोज ६ गते बिजुली उत्पादन हुने जानकारी दिए ।
बैंक र निर्माता कम्पनी मेवा डेभलपर्स प्राइभेट लिमिटेडबीच बिहीबार ऋण लगानी सम्झौता हुँदै छ । मेवा डेभलपर्स सीई ग्रुपको सहायक कम्पनी हो । ऋण लगानी सम्झौताको तयारी भएका बेला विद्युत विकास बिभागले मेवा आयोजनाको अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया पनि अघि बढाएको छ । विभागले मेवा डेभलपर्सलाई लाइसेन्स दिन ३५ दिने सूचना प्रकाशित समेत गरेको छ ।
अर्धजलासययुक्त आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । पानीको वहाव प्रति सेकेन्ड १२.५ घनमिटर र हेड ४७५ मिटर हुने छ । विद्युतगृहमा १६.८ मेगावाट क्षमता ३ ओटा टर्वाइन हुने छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली ताप्लेजुङको ढुङेसाँघुस्थित हाङपाङ सवस्टेशनमा जोडिने छ । आयोजना ताप्लेजुङको मिक्वाखोला र मेरिङदेन गाउँपालिका भएर बग्ने मेवा खोलामा रहने छ ।
यसअघि जापानको तोसिबा पावर कम्पनीले लगानी गर्ने तयारी भएको थियो । तोसिबाले सरकारको प्रत्याभूति (सोवरजियन ग्यारेन्टी) नपाउने भएपछि पछि हटेको थियो । तोसिवा पछि हटेपछि सीई ग्रुपले स्वदेशी लगानीमा आयोजना बनाउन लागेको हो ।
आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाउने तयारी छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । अर्धजलाशय आयोजनाले सुख्खायाममा पनि दैनिक ६ घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने छ ।