काठमाडौं । निजी लगानीमा निर्माण हुन लागेको ४९ मेगावाटको मध्य मेवा जलविद्युत आयोजनामा आधा दर्जन बैंकहरुले ऋण लगानी गर्ने भएका छन ।
हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंकले गरी ६ अर्ब ९५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन ।
आयोजनामा ऋण लगानी गर्ने विषयमा हिमालयन र विकासकर्ता मेवा डेभलपर्स प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । मेवाको तर्फबाट अध्यक्ष विजयराज भण्डारी र अगुवा बैंक हिमालयनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकसम्शेर राणाले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन ।
हिमालयनको १ अर्ब ५० करोड, नेपाल इनफ्रास्ट्रक्चरको १ अर्ब ५० करोड, कुमारीले १ अर्ब २५ करोड, नेपाल एसबीआईले १ अर्ब, एनसीसीले १ अर्ब तथा सानिमाले ६९ करोड ५० लाख रुपैयाँ लगानी गर्ने छन ।
स्वपुँजी २ अर्ब ३२ करोड रुपैंया लगानी हुनेछ । २५ प्रतिशत स्वपुँजी र बाँकी ७५ प्रतिशत बैंकको ऋण लगानी हुने छ । यस्तै विजनेश अक्सिजनको प्रत्यक्ष वैदेशिक लगानी हुने अध्यक्ष राजभण्डारीले जानकारी दिए ।
आयोजना बनाउन ९ अर्ब २६ करोड रुपैयाँ छ । बाँकी १ अर्ब ९५ करोड रुपैयाँ लगानी स्वपुँजीबाट जुटाइने कम्पनीका अध्यक्ष विजय राजभण्डारीले बताए । उनले आयोजनाबाट २०८० असोज ६ गते बिजुली उत्पादन हुने जानकारी दिए ।
मेवा डेभलपर्स सीई ग्रुपको सहायक कम्पनी हो । ऋण लगानी सम्झौताको तयारी भएका बेला विद्युत विकास बिभागले मेवा आयोजनाको अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया पनि अघि बढाएको छ । विभागले मेवा डेभलपर्सलाई लाइसेन्स दिन ३५ दिने सूचना प्रकाशित समेत गरेको छ ।
अर्धजलासययुक्त आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । पानीको वहाव प्रति सेकेन्ड १२.५ घनमिटर र हेड ४७५ मिटर हुने छ । विद्युतगृहमा १६.८ मेगावाट क्षमता ३ ओटा टर्वाइन हुने छ । निर्माण थालनी भएको ४२ महिनाभित्र आयोजना पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए ।
आयोजनाबाट उत्पादन हुने बिजुली ताप्लेजुङको ढुङेसाँघुस्थित हाङपाङ सवस्टेशनमा जोडिने छ । आयोजना ताप्लेजुङको मिक्वाखोला र मेरिङदेन गाउँपालिका भएर बग्ने मेवा खोलामा रहने छ ।
यसअघि जापानको तोसिबा पावर कम्पनीले लगानी गर्ने तयारी भएको थियो । तोसिबाले सरकारको प्रत्याभूति (सोवरजियन ग्यारेन्टी) नपाउने भएपछि पछि हटेको थियो । तोसिवा पछि हटेपछि सीई ग्रुपले स्वदेशी लगानीमा आयोजना बनाउन लागेको हो ।
आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई २० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाउने तयारी छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । अर्धजलाशय आयोजनाले सुख्खायाममा पनि दैनिक ६ घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने छ ।
ऊर्जा डेभलपर्सले ग्रुप कम्पनीले आरम्भ गरेको ९.५१ मेगावाटको माइबेनी र ६.२ मेगावाटको तल्लो जोगमाई आयोजना अगामी एक वर्ष भित्र निर्माण सम्पन्न हुनेछ । कम्पनीले एक वर्षको अवधिमा वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माण आरम्भ गर्न लागेको यो तेस्रो र ठुलो आयोजना हो ।