काठमाडौं । बैंकमा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको प्रमाणित भएपछि प्रहरीले १९ वटा बैंक तथा वित्तीय संस्थाका, प्रमुख कार्यकारी अधिकृत (सीइओ) र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा वाणिज्य बैंकका सीईओ तथा कर्मचारीमाथि अनुसन्धान थालेको जानकारी दिएको छ ।
गिरोहले मंसिर ८ गते जनता बैंकबाट १९ लाख ९९ हजार र मुक्तिनाथ विकास बैंकबाट १० लाख रुपैयाँ भुक्तानी लिएका थिए । केही कर्मचारीको संलग्नता पुष्टि गर्ने क्रममा प्रहरी रहेको छ ।
काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुसन्धान दायरामा परेका सीईओ र कर्मचारीमाथि सादा पोसाकका प्रहरी खटाएर निगरानी थालेको जानकारी दिए। उनका अनुसार प्रहरीले राष्ट्र बैंकसँगको समन्वयमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ ।
‘सर्वसाधारणको गोप्य खाता कर्मचारी र सीईओको मिलेमतोबिना गिरोहको पहुँचसम्म पुग्नै सक्दैन, यस विषयमा हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ डीएसपी बोगटीले भने, ‘पक्राउ परेका व्यक्तिका साथबाट बरामद कागजात तथा अन्य तथ्य र प्रमाणका आधारमा १९ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारी अनुसन्धान दायरामा छन् ।’
प्रहरीले सेञ्चुरी कमर्शियल बैंक, आईसीएफसी फाइनान्स, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, जनता बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, बैंक अफ काठमान्डु, गोर्खाज फाइनान्स, कैलाश विकास बैंक र युनाइटेड फाइनान्सका गोप्य कागजात बरामद गरेको छ ।
एनसीसी बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकका एटीएम, चेकबुक, खाता खोल्न प्रयोग गरिने कागजात, २ हजारभन्दा बढी व्यक्तिका नागरिकताको फोटोकपी, ६०० भन्दा बढी व्यक्तिका बैंक खाताको हस्ताक्षर बरामद गरिएको प्रहरीले जनाएको छ ।
कान्तिपुर दैनिकमा शुक्रबार प्रकाशित समाचार अनुसार छानबिनमा परेका बैंकबाट सीसीटीभी फुटेज उपलब्ध गराउनसमेत प्रहरीले पत्र पठाइसकेको छ । राष्ट्र बैंकले अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रहरीलाई आग्रह गरेको छ । प्रहरीले अनुसन्धान दायरामा परेका बैंकबाट नगद कारोबार विवरण समेत झिकाइसकिएको जनाएको छ ।
अनुसन्धानमा परेका बैंक फाइनान्स
– सेञ्चुरी कमर्शियल बैंक
– आईसीएफसी फाइनान्स
– लक्ष्मी बैंक
– मञ्जुश्री फाइनान्स
– ज्योति विकास बैंक
– सिद्धार्थ बैंक
– सानिमा बैंक
– जनता बैंक
– एनआईसी एसिया बैंक
– सिभिल बैंक
– बैंक अफ काठमान्डु
– गोर्खाज फाइनान्स
– कैलाश विकास बैंक
– युनाइटेड फाइनान्स
– एनसीसी बैंक
– एभरेस्ट बैंक
– प्रभु बैंक
– माछापुच्छ्रे बैंक
– मुक्तिनाथ विकास बैंक