काठमाडौं । चालु आर्थिक वर्षमा प्रभु बैंकले खुदनाफा १७ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । यो आवमा बैंकले २ अर्ब ३२ करोड ६४ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्षमा १ अर्ब ९६ करोड ९८ लाख रुपैयाँ खुदनाफा गरेको थियो । ऋणपत्र निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३५ करोड ६५ लाख रुपैयाँ नाफा बढ्ने अनुमान बैंकको छ ।
बैंकले यो वर्ष ५ अर्ब १३ करोड रुपैयाँ खुदब्याज आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष ०७८ मा २ करोड ४३ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण बैंकको छ । आगामी वर्ष ५ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ खुदब्याज आम्दानी हुने अनुमान प्रभुको छ ।
नाफा बढेपछि प्रभुको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर यो वर्ष २७ रुपैयाँ ३३ पैसा हुने प्रक्षेपण प्रभुको छ । गत वर्ष प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा थियो । आगामी वर्ष बढेर ३१ रुपैयाँ पुग्ने अनुमान बैंकको छ । चालु आर्थिक वर्षमा बैंकको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ पुग्ने छ । गत वर्ष १६२ रुपैयाँ थियो ।
जगेडा कोषको आकार बढेर यो वर्ष ४ अर्ब ३४ करोड ३७ लाख र आगामी वर्ष ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान बैंकको छ । यस्तै सेयर पुँजी ८ अर्ब ८९ करोड २६ लाख र आगामी वर्ष ९ अर्ब ७८ करोड १९ लाख रुपैयाँ पुग्ने छ ।
अघिल्लो वर्ष रहेको अत्यधिक तरलतको चाप आगामी बर्षहरुमा सहज हुने अनुमान बैंकको छ । सोहि आधारमा यो वर्षमा व्यवसाय वद्धि हासिल गर्न कठिनाई नहुने बैंकले जनाएको छ।
बैंकले गत आर्थिक वर्ष विस्तार गरेको नयाँ शाखाहरु सञ्चालनमा आइसकेकोले आगामी ३ वर्षमा अनुमान गरिएको सञ्चालन आम्दानी तथा नाफा सजिलै प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त देखिएको छ ।
साबिक किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स लिमिटेड आपसमा गाभिएर प्रभु बैंक बनेको हो ।
बैंकले २०७१ भदौ ३० गतेबाट प्रभु बैंकको नाममा वित्तीय कारोबार गर्दै आएको छ । पछिल्लो समयमा नेपाल विकास बैकलाई एक्विजिसन र साविक ग्राण्ड बैंकलाई गाभेको थियो ।