काठमाडौं ।सरकारले चालु आर्थिक बर्ष २०७६/०७७ को साउन १ गते देखि लागु गरेको मालबस्तु तथा ढुवानीमा हुने साधनको अनुगमन प्रणाली ‘भीसीटीएसका’ प्रणालीमा ५५ हजार प्रयोगकर्ता पुगेका छन् ।
भीसीटीएस प्रणाली लागु गरेपछि सामान ढुवानी केही व्यवसायीले विरोध गरेका थिए । विरोधका बाबजुद यो प्रणालीको प्रभावकारीता बढ्दै गएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
भीसीटीएस प्रणालीमा अहिले देश भरबाट मालबस्तु तथा ढुवानीमा ५५ हजार प्रयोगकर्ता जोडिएका र २५ लाख भन्दा माथि बिलबिजक दर्ता भएको विभागका प्रवक्ता राजीव पोखरेलले जानकारी दिएका छन ।
उनका अनुसार अब भीसीटीएस प्रणालीमा जुनसुकै मालबस्तुको ढुवानी गर्दा प्रणालीमा प्रविष्ट नगरीकन कुनै पनि व्यक्ति वा र्फमले ढुवानी गर्न पाउने छैन,उने भने ‘कसैले सिस्टममा प्रविष्ट नगरिकन ढुवानी गरेमा कानुन अनुसार कारबाही वा जरीवाना गर्ने प्रक्रियामा रहेका छौ’।
अहिलेसम्म मालबस्तु तथा ढुवानी गर्दा भिसीटीएस प्रणलीमा प्रविष्ट नगरी ढुवानी गर्नेबाट करीव ६ लाख रुपैयाँ जरिबाना सहित कारबाही गरिएको छ तथा नक्कली बिलबिजक सहित सामान ढुवानीमा १ करोड रुपैयाँ पर्ने मालवस्तु जफत गरेर उनीहरुलाई कारबाहीको प्रक्रिया रहेको प्रवक्ता पोखरेलले बताए ।
मालबस्तु तथा ढुवानीलाई व्यवस्थित बनाउनको लागी सरकारले भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम लागु गरेको छ । सुरुमा यो सिस्टमको बिरुद्धमा ढुवानी व्यवसायीहरुले ढुवानी सेवा बन्द गरेर बस्ने तर,भीसीटीएस प्रणालीमा ढुवानीका गाडी सञ्चालनमा नगर्ने बताउदै आएका थिए । अहिले भीसीटीएस प्रणाली प्रयोग गर्ने उद्योगी, व्यापारी र एजेण्टहरु सबैले प्रणालीको विषयमा धेरै पटक सरकारसँगको छलफल पछि यो प्रणाली अनुसार ढुवानी सेवा थालनी गरिएको विभागले जनाएको छ ।
मालवस्तु ढुवानी गर्दा, मालवस्तुको विवरण, कुन ठाउँबाट कुन ठाउँमा लैजाने भन्ने जानकारी, गाडी नम्बर र चालकको नम्बर राजश्व अनुसन्धान विभागको वेबसाइटमा अपलोड गर्ने प्रणाली नै ‘भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ भीसीटीएस हो ।