काठमाडौं। संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्। आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन्।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो। संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए।
सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए। ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन्।
संविधान एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सबै राजनीतिक दल तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानको फलस्वरूप गठित संविधानसभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासका नयाँ क्षितिजलाई उद्घाटित गरेको बताएका छन्।
कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संविधानले नेपाली समाजमा रहेका सबै किसिमका उत्पीडन, विभेद, आर्थिक असमानता र सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरी सभ्य, शोषणमुक्त र समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको उल्लेख गरेका छन्।
“यस संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ। यो संविधान हिमाल, पहाड र तराईमा रहने तीन करोड नेपालीको साझा मिलनविन्दु हो”, कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ।
लामो र साझा सङ्घर्षबाट प्राप्त यस संविधानको रक्षा, पालना र प्रभावकारी कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै उनले संविधानमा प्रतिविम्बित नेपाली जनताका विकास, समृद्धि र सुशासनका भावनालाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न हामी सबै एकापसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताएका छन्।
“सरकार यो संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध छ। यस अवसरमा संविधानले प्रत्याभूति गरेका साझा मौलिक हक–अधिकारको पूर्ण उपभोग गर्दै तथा संविधानले व्यवस्था गरेका नागरिकको दायित्व र कर्तव्यप्रति पूर्ण सजग रहँदै मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएको छु”, कार्यवाहक प्रधानमन्त्री खड्काले शुभकामना सन्देशमा भनेका छन्।