काठमाडौं । राष्ट्र बैङकले बाणिज्य बैङ्क मर्जरको बाध्यात्मक अवस्था सिर्जना गरेपछि एकआपासमा गाभिनका लागि बैङ्कबीच तीव्र छलफल चलेको छ । केन्द्रीय बैङ्कले बाणिज्य बैङ्कसहित अन्य बैङ्कसँग गत साता गरेको बैठकअघि नै केही बैङ्क आपसमा गाभिन प्रयासरत नै थिए ।
त्यही प्रयासमा रहेका ग्लोबल आईएमई र कुमारी बैङ्क सहमति नजिक पुगेर पनि टाढा भएका छन् । दुई बैङ्क एक आपसमा गाभिने चर्चा धेरै पहिलेदेखि चल्दै आएको थियो । दुई बैङ्क एक आपसमा गाभ्ने र कुमारी बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीलाई नै गाभिएपछि बन्ने बैङ्कको सीईओ बनाउनेसमेत पक्का भइसकेको थियो ।
त्यही भएर पनि ग्लोबल आईएमईले आफ्नो बैङ्कलाई कार्यबाहक सीईओ महेश ढकालको जिम्मामा छाडेको हो । योबीचमा दुवै बैङ्कका अध्यक्ष, सञ्चालक तथा मुख्य लगानी गर्ने लगानीकर्ताबीच बैङ्क मर्ज गर्ने विषयमा गम्भीर छलफल भइसकेको थियो ।
कुमारी तथा ग्लोबल आईएमई बैङ्कका सेयरधनीहरु एक आपसमा गाभिन तयार भइसकेका थिए । कुमारी बैङ्कका एक सञ्चालकले क्यापिटल नेपाललाई बताए, ‘दुवै बैङ्कका सञ्चालकहरु बसेर सहमति नजिक पनि पुगेका हौँ तर, पछि कुरा मिलेन,’ उनले भने, ‘अध्यक्षज्यूले डोमिनेट भएर कुनै बै्ङकसँग मर्जमा जाने कुरा हुँदैन भनेपछि सायद कुरा अगाडि बढेन,’ ।
‘कुमारीले ग्लोबललाई राखेका केही प्रस्तावमा सहमति नजुुटेको कुरा बोर्डमा आएको थियो, त्यही कारण हुन सक्छ ।’, उनले भने । हामीले पटक पटक कुमारीसँग छलफल गरेको हो, कुरा पनि धेरै अगाडि गएको थियो तर, कुमारी बैङ्कका अध्यक्ष अमिरप्रताप राणाले मर्जरको चाहना राख्नुभएन त्यसैल मर्ज हुन नसकेको हो ।’,
ग्लोबल आईएमईका एक सञ्चालकले भने, ‘कुमारीका अध्यक्ष अमिरप्रताप राणा, ग्लोबलका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित म आफैँ तीन पटक कुमारीसँग वार्ता गरिसक्यौं,’ ती सञ्चालकले भने, ‘तर, कुमारीका अध्यक्षले मर्जका लागि प्रयास थालिएको देखिएन ।’
अमिरप्रताप राणा भर्खरै मात्रै कुमारीको अध्यक्ष भएर आएका छन् । ‘तर, उनी अध्यक्ष बन्नुभन्दा पहिला नै हामीले कुमारीसँग मर्जको विषयमा गम्भीर छलफल गरेका हौं,’ ती सञ्चालकले भने, ‘कुमारीको अध्यक्ष राणा बनेपछि मर्जरको विषय झन टाढा गयो ।’ ग्लोबल बैङ्कले कुमारीसँग सबैभन्दा बढी छलफल गरेको ग्लोबल बैङ्कस्रोतले क्यापिटल नेपाललाई जानकारी दियो । मर्जमा जानुपर्ने आवश्यकताअनुसार विभिन्न बैङ्ककसँग छलफल भइरहेको स्रोतको दाबी छ ।
ग्लोबलले अहिले मर्जका लागि मेगा बैङकसँग छलफल अगाडि बढाइरहेको छ । दुई बैङ्कबीच अहिले प्राविधिक विषयमा छलफल भैरहेको छ । वाणिज्य बैङ्कको सङ्ख्या घटाउन चुक्ता पुँजी ४ गुणा बढाउँदा पनि हकप्रद सेयर निष्कासन, बोनस सेयर र केही संस्थालाई प्राप्ति गरेर वाणिज्य बैङ्कहरुले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ ।