काठमाडौं। भैरहवामा सञ्चालित टागर प्यालेस रिसोर्टमा दक्षिण एसियाकै ठूलो क्यासिनो सञ्चालनमा आउने भएको छ। झापाको पाँचतारे होटल मेची क्राउनमा क्यासिनो सञ्चालन गर्दै आएको भेगासले पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा पनि क्यासिनो सञ्चालन गर्ने भएको हो।
रिसोर्टका एक व्यवस्थापकका अनुसार आउँदो २९ तारिख९ चैत १६ गते०देखि क्यासिनो सञ्चालनमा आउने छ। क्यासिनोमा एकैपटक १ हजार ५ सय जनाले खेल्न सक्नेछन्। ‘यो खालको संरचना भएको क्यासिनो दक्षिण एसियाकै सबैभन्दा ठूलो हो,’ ती व्यवस्थापकले भने, ‘४२ हजार स्क्वायर फिटमा फैलिएको छ।’
२२ वर्षदेखि नेपालमै क्यासिनो व्यवस्थापन गर्दै आएका रवि धितालले एकल स्वामित्वमा ‘क्यासिनो भेगास’ सञ्चालन गर्न लागेका हुन्। एभरेष्ट, याक एन्ड यती होटलमा रहेको क्यासिनो व्यवस्थापन गरेका धितालले आफ्नै लगानीमा मेचीक्राउन पछि टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्न लागेका हुन्।
खासगरी भारतीय पर्यटकलाई लक्षित गरी क्यासिनो सञ्चालनमा आउन लागेको हो। हुन त यस अघि पनि रिसोर्टमा क्यासिनो सञ्चालनमा रहेको थियो। तर, तत्कालिन व्यवस्थापक सिल्भर हेरिटेज विभिन्न विवादमा फसेपछि लामो समयदेखि बन्द हुँदै आएको थियो।
त्यसअघि धेरै भारतीय टाइगर प्यालेस रिसोर्टमा क्यासिनो खेल्न आउने गरेका थिए। भारतीयसँगै अन्य मुलुकका पर्यटकहरु समेत भैरहवामा क्यासिनो खेल्नका लागि जाने गरेका थिए। क्यासिनो खेल्न चर्चित गन्तव्य बनिरहेको बेला कोभिडपछि रिसोर्ट केही समय बन्द हुनुको साथै विवादमा फसेको थियो।
सिल्भर हेरिटेजले २०८० साउनदेखि नयाँ गैरआवासीय नेपालीहरुको कम्पनी हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरेको थियो। रिसोर्टमा नयाँ व्यवस्थापन आएसँगै १ महिनाअघि पुरानो क्यासिनोको बक्यौताबापतको ५१ करोड रुपैयाँ तिरेर लाइसेन्स नविकरण गरेको थियो।
गत साउनदेखि नयाँ व्यवस्थापनले ५ तारे स्तरको रिसोर्ट सञ्चालन गर्दै आएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवामा १७ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा १ सय ५ कोठा छन। यो लक्जरी रिसोर्टमध्येको एक हो।