काठमाडौं। पछिल्लो समय भारतमा एक हत्याको घटनाबारे धेरै चर्चा भइरहेको छ। दुई अर्बपति परिवारबीच वैवाहिक सम्बन्ध गाँसिने तयारी हुँदै गर्दा हुनेवाला बेहुलामाथि भएको शंकास्पद हत्याका कारण यो घटना थप चर्चामा आएको हो।
महाराष्ट्रको पुणेका अर्बपति व्यापारी केतन अग्रवालको भव्य विवाह तयारी हुँदै गर्दा हुनेवाला बेहुली सिया गोयल हत्या गरेको भन्दै प्रहरी हिरासतमा छिन्। उनले विवाहको किनमेलका लागि भन्दै केतनसँग एक करोड ६० लाख रुपैयाँ (१ करोड भारू) लिएकी थिइन्। उनले त्यो पैसा आफ्नै हुनेवाला बेहुलाको केतनको हत्या गर्न प्रेमी चेतन चौधरीलाई दिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
गत ६ जुनमा सिया बालीमा विवाहको पूर्वतयारी गर्न जानुअघि गाडीमा विमानस्थल जाने क्रममा आफ्नो भाइ साहिलसँग बहस गरिरहेकी थिइन्। भारतीय सञ्चार माध्यमका अनुसार उनले आफूले कुनै हालतमा केतनसँग विवाह नगर्ने अडान लिएकी थिइन्।
जब केतनलाई भिरबाट धकेलियो
सियाले प्रेमी चेतनले घटना हुनुभन्दा एक दिनअघि पुणेको लुलनगरको क्याफेमा हत्याको योजना बनाएकी थिइन्। घटना हुनुभन्दा एक दिन अघि उनीहरूले लोहगढ किल्लाको भ्रमण गरेका थिए। उनीहरूले हत्याको लागि स्थान रोजे र रिहर्सल पनि गरे। प्रहरीले उनीहरूले रिहर्सल गरेको स्थान खोजिरहेको छ।
प्रहरीका अनुसार चेतन स्कुटरमा पुणेबाट करिब ९० किलोमिटर टाढा लोहगढ किल्ला पुगेका थिए। टोल प्लाजामा दर्ता हुन नदिन उनले कार प्रयोग गरेनन्। प्रहरीले स्कुटर जफत गरिसकेको छ।
केतनको हत्या गर्ने दिन चेतन हुडी लगाएर पहाड चढेका थिए। त्यहाँ पुगेपछि उनले हुडी फुकालेर कालो टी-शर्ट लगाए। हत्यापछि फर्कने क्रममा उनले फेरि हुडी लगाएका थिए। घटनापछि उनी त्यही स्कुटरमा पुणे फर्किए।
केतनको हत्या गर्न सियाले चेतनलाई संकेत गरेकी थिइन्। प्रहरीका अनुसार, जुन १८ मा लोहगढ किल्लामा बसेकी सियाले पानी पिउने वा जुत्ताको फिता बाँध्ने बहानामा चेतनलाई संकेत गरेकी थिइन्। पछाडिबाट पछ्याइरहेका चेतनले केतनलाई खाडलमा धकेले।
केतनको मृत्यु हुनुभन्दा एक दिनअघि जुन १७ मा सिया र चेतन पुणेको कोंढवा क्षेत्रको एक क्याफेमा गएका थिए।
केतनको हत्या भएको ६ दिनपछि उनीहरु पक्राउ परेका थिए। प्रहरी हिरासतमा उनीहरू दुवै जनाले एकअर्कालाई मुख्य योजनाकारको रूपमा दोष लगाइरहेका छन्। प्रहरीले उनीहरूलाई आमनेसामने राखेर अनुसन्धान जारी राखेको छ।
१७ करोडको विवाह योजना रोकियो
केतन र सियाको इन्गेजमेन्ट फेब्रुअरीमा भएको थियो। आगामी नोभेम्बरमा उनीहरूको भव्य विवाह गर्ने तयारी भइरहेको थियो।
परिवारले राजस्थानको जयपुरस्थित एक आलिशान महल १७ करोड भारतीय रुपैयाँमा बुक गरिसकेको थियो। विवाहका लागि जन्ती र पाहुनाको आवतजावतका निम्ति दुई वटा निजी विमानको समेत व्यवस्था गरिएको थियो।
तर सियाले आफ्नो परिवारसँग चेतनसँगको प्रेम सम्बन्ध स्वीकार गर्ने साहस गर्न सकिनन्। प्रहरी हिरासतमा उनले दिएको बयानअनुसार, परिवारको विरोध गरेर इन्गेजमेन्ट तोड्नु भन्दा केतनलाई बाटोबाट हटाउनु सजिलो लाग्यो। दैनिक भास्कर