काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि)ले ६८औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। २०१५ स्थापना भएको निगम देशको ध्वजावाहक कम्पनी हो।
राजनीतिक हस्तक्षेप र व्यवस्थापन लापर्वाहीले निगम पछिल्लो समय घाटामा रहे पनि देशभित्रर र विभिन्न मुलुकमा उडान भर्दै आएको छ।
निगमको केन्द्रीय कार्यालय न्युरोडमा आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) प्रमुख अतिथिका रूपमा सहभागी भए।
कार्यक्रममा मन्त्री पौडेलले निगमले गर्ने राम्रा काममा मन्त्रालयको पूर्ण सहयोग र समर्थन रहने बताए। उनले निगमलाई आर्थिक रुपमा बलियो बनाउन कर्मचारीले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमको अवस्थालाई समीक्षा गर्दै अहिले नै निरास नहुन र बलियो बनाउन सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको हालको अवस्थाबारे जानकारी दिँदै अनेकौं चुनौती र बाधाबीच पनि सकारात्मक संकेत देखिएको, पछिल्लो समय यात्रु संख्या र आम्दानीसमेत बढेको दाबी गरे।
सोही अवसरमा निगमले हरेक वर्ष प्रकाशन गर्ने वार्षिकोत्सव विशेषांक ‘आकाशभैरव’को लोकार्पण गरियो। निगमले वार्षिकोत्सव अवसर पारेर असार १२ मा केन्द्रीय कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्तदान आयोजना गरिएको जनाएको छ। कार्यक्रममा कर्मचारीसहित २६४ जनाले रक्तदान गरेका थिए।