काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रतिभा डबली कार्यक्रम सम्पन्न भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइडिया स्टुडियो नेपालको प्राविधिक सहयोगमा निजामती कर्मचारीको नवीनतम सोच/इन्नोभेटिभ आइडिया प्रस्फुटन लागि तीन वर्षदेखि निरन्तर ‘प्रतिभा डबली’ कार्यक्रम आयोजना गर्दै आएको छ।
निजामती कर्मचारीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले, कार्यस्थलमा देख्दै र भोग्दै आएका समस्यालाई आफ्नै आइडियाकामार्फत समाधान गर्ने, नागरिकको सरकारी कार्यलाई सहजीकरण गर्ने उद्देश्यले प्रतिभा डबली कार्यक्रमको आयोजना गरिएको हो।
यस वर्षको कार्यक्रममा देशभरिका निजामती कर्मचारीबाट प्राप्त ३५ आइडियाहरूमध्ये उत्कृष्ट १० आइडिएटरले आफ्ना आइडिया प्रस्तुत गरेका थिए।
जेठ ७ मा सम्पन्न कार्यक्रममा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, मुख्यसचिव बैकुण्ठ अर्याल, सामान्यका सचिव मुकुन्दप्रसाद निरौला, समाजसेवी आनि छोइङ डोल्मालगायतले आ–आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा मन्त्री जोशीले निजामती कर्मचारीले निरन्तर काम र जिम्मेवारीका बाबजुद सरकारी निकायमा आएका र भोगेका समस्या समाधान गर्न नवीनतम सोच ल्याउन जमर्को गरेकामा धन्यवाद दिए।
मुख्यसचिव अर्यालले भने, ‘सरकारले अघिल्ला संस्करणमा प्रस्तुत भएका सोचमध्ये कुनैलाई आफ्नो नीति तथा कार्यान्वयनमा प्रतिविम्बित गरेको छ। आज प्रस्तुत सोच पनि कहीँकतै प्रतिविम्बित हुनेछ।’
सचिव निरौलाले प्रतिभा डबली कार्यक्रमले सरकारी कर्मचारी÷सार्वजनिक क्षेत्रका कर्मचारीमा प्रतिस्पर्धी क्षमताको विकास हुने बताए। इनोभेटिभ आइडियाले स्थान पाउने र सोहीबमोजिम काम गर्न सकारात्मक वातावरण साथै क्षमताको विकास हुने उनको तर्क छ।
‘प्रतिभा डबली’ कार्यक्रममा प्राप्त आइडियामध्ये उत्कृष्ट १० आइडियटर पाँचदिने इन्क्युबेसनमा समावेश भएका थिए। ‘प्रतिभा डबली’ कार्यक्रमका नयाँ सहर आयोजना समन्वय कार्यालय बबरमहलकी इन्जिनियर मोनिका महर्जन, नापी कार्यालय बाराका नापी अधिकृत चन्दनप्रसाद दास र भूमि व्यवस्थापन तालिम केन्द्र धुलिखेलका निर्देशक सञ्जीवकुमार राउत सहभागी भएका थिए।
यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत विकासकुमार रजक, जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी विकास विक, गैंडाकोट नगरपालिकाको कार्यालय गैंडाकोटका इन्जिनियर शंकर कँडेल र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका पशु चिकित्सक डा. शिवलाल भुसाल पनि सहभागी थिए।
प्रतिभा डबलीमा शिक्षा मन्त्रालयका इलेक्ट्रोनिक्स इन्जिनियर नशिव आचार्य, सिक्टा सिँचाइ आयोजना बाँकेका इन्जिनियर तनोज दुलाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नापी अधिकृत मनोज साहले पनि सहभागिता जनाएका थिए।
इन्क्युबेसनपछि आइडिएटरले आ–आफ्ना पिच डेस्क तयार गरी अन्तिम कार्यक्रम ‘प्रतिभा डबली’ मा प्रस्तुत गरेका थिए। कार्यक्रम अन्त्यमा १० सहभागीको मूल्यांकङ्कनलाई जोडिएको थियो। यीमध्ये तीन जनाको आइडियाले पुरस्कार प्राप्त गर्न सफल भए।
प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीलाई ५० हजार, ४० हजार र ३० हजारसँगै सम्मानपत्रबाट सम्मान गरिएको थियो भने ६ सहभागी प्रतिस्पर्धीलाई प्रशंसापत्र वितरण गरिएको थियो।
उक्त कार्यक्रममा नशिवब आचार्य प्रथम, मोनिका महर्जन दोस्रो र मनोज साह तेस्रो भए। प्रथम हुन सफल नशिब आचार्यको सोच एकिकृत कागजरहित सवारी जरिमाना व्यवस्थापन प्रणाली रहेको छ भने दोस्रो मोनिकाको सोच पूर्वाधार निर्माणको एकीकृत समन्वय पोर्टल रहेको छ। यस्तै, तेस्रो भएका मनोजको सोच राष्ट्रिय सरकारी ई–बजार रहेको छ।
कार्यक्रमको निर्णायक मण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलादेवी गड्तौला, पूर्वसचिव सुरेश अधिकारी र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा रहेका थिए।