काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दबाब दिएर बैङ्कलाई एक–आपसमा मर्ज गराउन खोजे पनि त्यसले सार्थकता नपाउने देखिएको छ ।
केन्द्रीय बैङ्कले असार १२ गते बैङ्कका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर एक हप्ताभित्र जोडी खोजेर आउन निर्देशन दिए पनि अहिलेसम्म एउटा बैङ्कले पनि आफ्नो उपयुक्त पार्टनर रोजेका छैनन् ।
यद्यपी, बैङ्कहरु एक आपसमा मर्ज गर्न तयार देखिएका छन् । ‘मर्ज भएर बलियो बन्नु राम्रो कुरा हो,’ सिद्धार्थ बैङ्कका सञ्चालक राजेश केडियाले भने, ‘तर, केन्द्रीय बैङ्कले उपलब्ध गराएको समयसीमा कम भएकाले अहिलेसम्म कुनै पनि बैङ्क मर्ज हुन नसकेका हुन् ।’
बैङ्कका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सबै मर्जकै पक्षमा देखिएका छन् । तर, केन्द्रीय बैङ्कले उपलब्ध गराएको समयसीमा मात्रै कम भएको एनएमबी बैङ्कका अध्यक्ष पवन गोल्यानले बताए । ‘बैङ्कहरु एक आपसमा मर्ज गरेर बलियो हुनुको विकल्प छैन्, त्यो कुरा बैङ्करले पनि बुझेका छन्,’ उनले भने, ‘तर, उपयुक्त जोडी मिल्नुपर्यो । अहिले सबै बैङ्कले जोडी खोजिरहेका छन्, कसैले पनि पाएका छैनन् ।’
राष्ट्रबैङ्कका गभर्नर चिरञ्जीवी नेपालले मर्जको माहोल बनाउन एक हप्ते अल्टिमेटम दिएको बैङ्करहरु बताउँछन् । बैङ्कहरुबीच मन्दमन्द रुपमा मर्जको छलफल भइरहेको थियो ।
ग्लोबल आईएमई बैङ्कले पार्टनर खोजेको लामै समय भइसकेको छ । लक्ष्मी बैङ्कले पनि पार्टनर खोजेरै हिडिरहेको छ । कुमारी, सेन्चुरीलगायतका बैङ्कले पनि जोडी खोजेको धेरै समय भइसकेको छ । तर, उपयुक्त जोडी नपाएर मर्ज नभएको बैङ्करहरु बताउँछन् ।
एक साता अघि होटलमा बोलाएर गभर्नर नेपालले दिएको निर्देशनपछि बजारमा मर्जको हल्ला मात्रै धेरै भएको बैङ्करहरुको बुझाइ छ । कुमारी बैङ्कका अध्यक्ष अमिरप्रताप राणाका अनुसार मर्ज गर्दा हरेक हिसाबले राम्रो हुन्छ । ‘अहिले बैङ्कको सञ्चालन खर्च, लगानीयोग्य रकमको अभावलगायतका सम्पूर्ण समस्या समाधान हुन्छ,’ उनले भने, ‘राष्ट्रबैङ्कले असल नियतबाट मर्ज ल्याएको हो । त्यसलाई बैङ्कले अनुशरण गरेका छन् ।’
‘पहिला जोडी खोज्नुपर्यो, त्यसपछि प्राविधिक कुरामा छलफल हुनुपर्यो अनि बल्ल कुरा अगाडि बढ्छ’, मेगा बैङ्कका सञ्चालक बालकृष्ण शिवाकोटीले भने, ‘बैङ्क–बैङ्कबीच छलफलका लागि समय नै पुगेको छैन, एकैपटक कसरी मर्ज हुन्छ ?’ अहिले मर्जका लागि वातावरण गराउनु भने राम्रो रहेको उनले बताए ।
यदि बैङ्कहरुबीच छलफल र कुरा भएकोे भए, गभर्नर नेपालले दिएको निर्देशनले सार्थकता पाउने उनीहरुको बुझाइ छ । सिद्धार्थ बैङ्कका सञ्चालक वीरेन्द्रबहादुर शाहले मौद्रिक नीतिपछि बैङ्कहरु धमाधम मर्जमा जाने बताए । ‘अहिले बैङ्क आफ्नो अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘मौद्रिक नीति पछि सबै मर्जमा जान तयार हुन्छन् ।’
अधिकांश बैङ्कहरुले समिति बनाएर बैङ्कको अध्ययन थालिसकेका छन् । राष्ट्र बैङ्कलाई बैङ्कले समिति बनाएर अध्ययन गर्न लागेको भन्ने पत्रसमेत पठाउन थालेका छन् ।