काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ कम्पनी आउँदैमा सेयर बजार बर्बाद हुन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । उनले नयाँ कम्पनी आउँदा नयाँ लगानीकर्ता पनि आउने भन्दै त्यसले थप माग सिर्जना गर्ने बताए ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको २७ औं बार्षिकोत्सव समारोहमा बोल्दै उनले नयाँ कम्पनी आउँदा लगानीकर्तालाई पनि छनोट गर्ने अवसर मिल्ने भन्दै बजार घट्छ कि भन्ने नसोच्न उनले आग्रह गरे ।
नेप्सेको बार्षिकोत्सव समारोहमा अर्थमन्त्रीले राखेका मन्तव्यको सम्पादित अंशः
हामीले २७ औं बार्षिकोत्सव मनाइरहँदा हाम्रो पूँजी बजारको प्रसाशनिक संरचनामा कस्ता परिवर्तन भए भनेर एकचोटी हेर्नुपनी राम्रै हुन्छ होला । पहिले पहिले मान्छेहरु भन्थे, सेयरमा पैसा हालेको ६ महिनासम्म पैसा नै फिर्ता भएन् । अर्कोमा हाल्नु भनेको त पैसा नै छैन् ।
सेयर किन्नु भनेको कुनै खास ठाउँमा नगइ सेयर ब्रोकरको नगइ नहुने भयो, ट्राफिक जाम भयो अथवा सञ्चारको असुविद्या, सुचनाको अभाव, त्यसकारणले भैगो दुख नगरौं भन्ने दिन पनि थिए । सेयरमा लगानी गर्नु भन्यो बजारबारे जानकारी छैन् सुचना छैन् । सेयरका कागजपत्रहरु जम्मा गर्यो । घरमा लग्यो, राख्ने ठाउँ पनि छैन् । राख्यो भने पनि मुसाले काट्छ । कुनैपनि सेयरको त भ्यालू कहिल्यै बढ्दै बढ्दैन् । त्यो अवस्थामा थियौं हामी ।
त्यस्तो अवस्थाबाट हामी अहिले गतिशिल र उदयीमान पूँजीबजारको संरचना अन्र्तगत नेपाल स्टक एक्सचेन्जको २७ औं बार्षिकोत्सव मनाइरहेका छौं । अव यो वयस्क भयो या युवा नै छ भन्ने कुरा यस्का क्रियाकलाप हेरेर अनुमान गर्न सक्छौं । जेहोस् यो बुढो हुने बेला भएको छैन् । बुढो नभइकन अर्को पुस्ताले स्थान पनि पाउँदैन् । त्यसो हुनाले अहिलेको कार्यभार तपाइहरुकै जिम्मामा छ । तपाइहरुको विकल्प अहिले हामीले खोजिरहेका छैनौं ।
यतिका लामो समयमा हामीले के गर्यौ त भन्ने प्रश्न पक्कै उठ्ने गर्छ । मलाइ लाग्छ, म राष्ट्र बैंकको गर्भनर हुँदाखेरी स्टक एक्सचेन्जबाट राष्ट बैंकको सेयर झिक्ने भनेको नेपाल राष्ट बैंक २०५८ आइसकेपछि कार्यान्वयन गर्ने भनेर त्यस्को १० प्रतिशत भन्दा माथि सेयर नराख्ने भनेको अहिले बल्ल बल्ल १४ प्रतिशतमा बल्ल बल्ल झरेको छ । मलाइ लाग्छ अर्कोचोटीको बार्षिकोत्सवमा वा साधारणसभामा १० प्रतिशतमा आयो भन्न पाइन्छ होला । यो मेरो शुभकामना पनि हो ।
पूँजीको संरचनामा परिवर्तन भएअनुसार कार्यसञ्चालनमा पनि परिवर्तन हुन्छ । र, क्रमशः व्यवसायीहरु र पूँजीबजारका जानकारहरु, यस्का सञ्चालकहरु हुँदै आउँछन् । त्यसकारणले मलाइ लाग्छ, पूँजीको संरचनात्मक परिवर्तनले नेप्सेलाइ अझै गतिशिल संस्थाका रुपमा अघि बढाउन सहयोग होला ।
करिव दुइबर्ष यता हामीले धितोपत्र बजारमा गरेका सुधारहरुबारे तपाइहरुले नै चित्त बुझने गरी भनिसक्नुभयो । अब बाँकी रह्यो लाभांश दरको बिषय छ । त्यही बाँकी रह्यो भन्ने सुने मैले । कानुन संरचना परिवर्तन गर्नमा धितोपत्र बोर्ड ऐन अहिले संसदमा छ । आधा दर्जनभन्दा बढि त हामीले ऐन, नियमावली र कार्यविधि संशोधन तयारीमा छौं । केही संशोधन गरेका छौं । केही गर्दैछौं । वैकल्पिक लगानीसम्वन्धी भेन्चर क्यापिटल होस् वा इक्विटी फन्ड होस् यस्ता कुराहरुका लागि पनि ऐनमा व्यवस्था गरिएको छ । धितोपत्र लगानी तथा व्यवसायी नियमावली पनि छिट्टै आउँदैछ । सामुहिक लगानी कोषसम्वन्धी नियमावली केही दिनभित्र आउँदैछ । यी कुराहरुले ऐन, नियम र कार्यविधिमार्फत धितोपत्रलाई थप गतिशिल रुपमा अघि बढाउन सहज हुनेछ ।
सञ्चालनको कुरामा दुइओटा पक्ष । नियामक र सञ्चालकका बीचमा कहिलेकाँही ठाकठुक परिरहन्छ । यो स्वभाविक हो । नियामकले नियम पालना गराउन खोज्छ र, सञ्चालकले आफु अनुकुल र सहज ढंगले संस्था सञ्चालन गर्न खोज्छ ।
काम गर्दा अप्ठ्यारो छ भने सञ्चालकले नियामकलाइ हामीलाई यहाँनेर अप्ठ्यारो पर्यो भन्नुपर्छ । तर, निर्देशन जारी भएपछि पालना गर्नुपर्छ । नियमनको कुरा पनि त्यही नै हो । त्यसैले कानुन र नियमनमा समस्या छ भने आउनुस छलफल गरौं । निर्देशन जारी हुनुभन्दा अघि नियामक निकायसँग ५ चोटी छलफ गरौं । व्यवहारिक बनौं । तर, जारी भएपनि त्यसलाइ कार्यान्वयन गरौं । त्यसमा इफ र बट केही हुँदैन् ।
त्यसो गरियो भने पूँजीबजारले गलत बाटो समाउँछ । यसले गतिशिल बजारलाई गुमराहमा राख्नु जस्तो हुन्छ । त्यो हामीले गर्नुहुदैन ।
बजारमा पैसा धेरै भएर त्यस्को शेयर मार्केट बढ्ने होइन् त्यस्को भ्यालूडिटी अर्थात छिटोछिटो कारोबार हुन्छ भने त्यसले बजारलाई गतिशिल हुन्छ । त्यसैले तपाइ आफ्नो पैसालाइ छिटोछिटो कारोबार गर्नुभयो भने तपाइलाई फाइदा हुन्छ । छिटो छिटो शेयर कारोबार गर्दा विवेक चाहिँ नगुमाउनुहोला त्यो चाहि मैले अनुरोध गर्छु ।
अर्काेकुरा लगानीकर्ता शेयर बजारबारे जानकारी दिने काम वा साक्षर बनाउने काम नेप्से र धितोपत्र बोर्डको मात्रै होइन् तपाइ लगानीकर्ता लगायतका हामी सवै हौं ।
त्यस्तै, लाभांश कर रिभ्यू गर्नेबारेमा हामीले बजेटमा छलफल गर्ने नै छौं । अर्को कुरा, धितोपत्र बजारले मात्रै पूँजीबजार गतिशिल हुन सक्दैन् । त्यसका लागि ऋणपत्रको बजारको विकास गर्नुपर्छ । नयाँ निष्कासन हुने बजारलाई व्यवस्थित गर्नुपर्छ । नयाँ कम्पनी आए भने पनि स्वभाविक हिसावले लगानीकर्तालाई छनोट गर्ने अवसर हुन्छ । अहिले नयाँ आउने कम्पनीहरुका कारणले शेयर बजार बर्बाद हुन्छ कि भन्ने नसोेच्नुहोला । नयाँ कम्पनी आउँदा नयाँ लगानीकर्ता पनि आउनुहुन्छ । नयाँ माग पनि सिर्जना हुन्छ । त्यसकारण नयाँ कम्पनी आएर बजार घट्छ कि भन्ने होइन् ।
त्यस्तै आइपीओ जारी गर्ने कुरामा अहिले सुधारका प्रक्रियाहरु अघि बढिरहेका छन् । यसले पनि मलाइ लाग्छ बजार अझै गतिशिल भएर अघि बढ्नेछ ।
यति धेरै कुरा भनिसकेपछि यसअघि पुरस्कृत हुनुहुने हाम्रा खेलाडीहरुलाइ धन्यबाद दिन्छु । सेयर बजार पनि त्यस्तै हो कोही १०० मिटर कुद्नुहुन्छ । कोही ५०० मिटर । कोही ४००० मिटर । आ आफ्नो लगानीको हिसावले ‘रेस’ मा जाने हो । अल्लि दिर्घकालीन वा लामो ‘रेस’ मा जानेको अलि बढि ‘स्टामेना’ चाहिन्छ । त्यो भनेको केहो भने आफ्नो स्टामेना भनेको आफ्नो बचत हो । आफ्नो बचतले लगानी गर्नुभयो प्रतिफल आउँदा ‘स्टामेना’ हुन्छ । त्यसकारण खेलको नियम यहाँ पनि लागू हुन्छ ।
र, अन्त्यमा सेयर बजार अर्थतन्त्रको गतिको सुचक हो, मापक हो । निश्चित अर्थतन्त्रका लागि तापक्रम चाहिन्छ । धेरै तापक्रम भयो भने ज्वरो आउँछ । ज्वरो आइसकेपछि अरु रोग थपिने डर हुन्छ । अनि एकदमै शरिरमा तापक्रम घट्यो भने वा ९८ डिग्री भन्दा पनि तल आयो भने हाइपोथर्निया भन्ने एउटा रोग हुन्छ । त्यसले हामीलाइ अर्को समस्या सिर्जना गर्छ । यसो हुनाले हामीले शरिरलाइ धेरै चिसो हुन दिनुपनि हुदैन र धेरै तातो भएर पानीपट्टी लगानुपर्ने स्थिति पनि हुनु भएन् । निश्चित तापक्रम भयो भने शरिर स्वस्थ्य हुन्छ । बजारलाइ निश्चित तापक्रममा कायम गरियो भने सबल,दिगो र टिकाउ हुन्छ । यसमा सवै लगानीकर्ताको भलो हुन्छ । यसमा मेरो सवैजनालाइ शुभकामना छ ।