काठमाडौं। चर्चित स्त्रीरोग, प्रसूति तथा निःसन्तान विशेषज्ञ डा. भोला रिजालको संस्थापक रहेको ओम हस्पिटलले एक वर्षमै पौने १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। चाबहिलमा अवस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सन् २०२५ मा ८८ करोड रुपैयाँको व्यापार गरेको हो।
रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालद्वारा प्रतिवेदन अनुसार सार्वजिनक ओम हस्पिटलले सन् २०२४ मा ८२ करोड ९० लाख, सन् २०२३ मा ७२ करोड ४० लाख र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो।
रिपोर्टअनुसार अस्पतालको आम्दानी र नाफा कमाउने क्षमतामा पछिल्ला वर्षमा निरन्तर सुधार आएको देखिन्छ। अस्पतालको व्यापार विगत पाँच वर्षदेखि वार्षिक औषत १६ प्रतिशतका दरले बढिरहेको छ।
इन्फोमेरिक्स नेपालले अस्पतालले उपयोग गरिरहेको कुल ५८ करोड ८५ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि रेटिङ गरेको छ। यसमा अस्पतालले लिएको ४२ करोड ८५ लाख ५० हजार रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘डबल बी प्लस’ र १६ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि ‘ए फोर प्लस’ रेटिङ दिएको गरेको छ।
अस्पतालको व्यापारसँगै नाफा कमाउने दरमा पनि ठूलो फड्को मारेको छ। सन् २०२१ मा २.३९ प्रतिशत मात्र रहेको सञ्चालन मुनाफा सन् २०२५ मा बढेर १२.९० प्रतिशत पुगेको छ।
त्यस्तै, करपछिको खुद नाफा मार्जिन पनि सन् २०२४ को २.०८ प्रतिशतको तुलनामा सन् २०२५ मा ५.५९ प्रतिशत कायम भएको छ। अस्पतालले सन् २०२५ मा मात्रै ११ करोड ४० लाख रुपैयाँ नगद सञ्चित गर्न सफल भएको छ।
अस्पतालको वित्तीय संरचनामा पनि सुधार देखिएको छ। प्रवर्द्धकले थप पुँजी लगानी गरेको र नाफाबाट सञ्चित कोष बढेका कारण ऋण र स्वपुँजीको अनुपातमा उल्लेख्य कमी आएको छ। सन् २०२४ मा १.८६ गुणा रहेको यस्तो अनुपात सन् २०२५ मा घटेर १.०९ गुणामा झरेको छ, जसले अस्पतालको ऋण तिर्न सक्ने क्षमता बलियो भएको संकेत गर्दछ।
तीन दशकको अनुभव र गाइनोकोलोजीमा वर्चस्व
तीन दशकभन्दा लामो इतिहास बोकेको ओम हस्पिटल १ सय ७५ बेड क्षमताको बहु–विशिष्ट अस्पताल हो। रिपोर्टअनुसार अस्पतालको सबैभन्दा बलियो पक्ष यसको स्त्री तथा प्रसूति रोग विभाग हो। यो विभागले अस्पतालको कुल राजस्वमा ठूलो योगदान पुर्याउँदै आएको छ।
अनुभवी चिकित्सक र व्यवस्थापन टोलीका कारण अस्पतालले काठमाडौं उपत्यकामा आफ्नो छुट्टै पहिचान बनाएको छ।
अस्पतालको नेतृत्व वरिष्ठ रेडियोलोजिस्ट डा. आनन्दप्रसाद श्रेष्ठले गरेका छन् भने बोर्डमा वरिष्ठ चिकित्सक र व्यावसायिक विज्ञ संलग्न छन्। अस्पतालको मुख्य सेयरधनीमा चर्चित स्त्रीरोग, प्रसूति तथा निःसन्तान विशेषज्ञ डा. रिजालको ५.८५ प्रतिशत र विजय मल्लको ५.०९ प्रतिशत सेयर स्वामित्व छ।
वित्तीय अवस्था सुध्रिए पनि अस्पतालका सामु केही चुनौती देखिएका छन्। विगत तीन वर्षको तथ्यांक हेर्दा अस्पतालको बेड अकुपेन्सी दर औषत ३१ प्रतिशत मात्रै छ, जुन अन्य ठूला अस्पतालको तुलनामा कम हो।
प्रविधिमा आएको विकाससँगै ‘ल्याप्रोस्कोपिक’ (दूरबिन) प्रविधिबाट शल्यक्रिया गर्दा बिरामी थोरै समय मात्र अस्पताल बस्नुपर्ने भएकाले पनि अकुपेन्सी कम देखिएको रिपोर्टमा उल्लेख छ।
यस्तै, काठमाडौं उपत्यकामा निजी अस्पतालबीचको तीव्र प्रतिस्पर्धा र सरकारी स्वास्थ्य बिमा योजनासँगको आबद्धताका कारण अस्पतालको नाफाको मार्जिनमा केही चाप पर्ने देखिएको छ।
सरकारको स्वास्थ्य बीमा र सहुलियत योजनामा सहभागी हुनुपर्ने र औषधी भाडाको आधारमा उपलब्ध गराउनुपर्ने भएकाले अन्य प्रतिस्पर्धीको तुलनामा ओम हस्पिटलको सेवाशुल्क केही कम रहेको रेटिङ एजेन्सी रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार ओम हस्पिटलले आगामी दिनमा आफ्नो सेवा विस्तार र स्तरोन्नतिका लागि पुँजीगत खर्च गर्ने योजना बनाएको छ। बढ्दो जनसंख्या र स्वास्थ्य चेतनाका कारण आगामी दिनमा अस्पतालको व्यापार थप बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी मल्टि–स्पेसियालिटी सेवामा गरिने लगानीले अस्पतालको दिगो विकासमा सहयोग पुग्ने देखिन्छ।