काठमाडौं। उपत्यकाभन्दा बाहिर सञ्चालित तारे होटलबाट गुणस्तरीय सेवा नपाएको चौतर्फी गुनासो बढेसँगै पर्यटन विभागले मापदण्ड संशोधनको तयारी अगाडि बढाएको छ।
खासगरी ८० कोठा भएपछि उपत्यकाभित्र पाँचतारे होटलको मान्यता पाउने र त्यही आधारमा अन्य स्तरका होटलहरु पनि सञ्चालन गर्न पाउने भएपछि ग्राहकलाई सेवा सुविधाभन्दा पैसा मात्र बढी असुल्ने गरेको गुनासो रुपमा बढेसँगै मापदण्ड संशोधनका लागि विभाग तातिएको हो।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले मापदण्ड संशोधनका लागि आवश्यक प्रस्तावसहितको विषयहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिएको जानकारी दिए। ‘विभागले तत्कालै कानुन संशोधन गर्न नसके पनि मापदण्डलाई संशोधन गर्न सकिने भएकाले त्यसतर्फ अगाडि बढ्न आवश्यक प्रक्रिया बढाइएको छ,’ महानिर्देशक लामिछानेले भने, ‘मन्त्रालयबाट स्वीकृति पाएपछि थप अध्ययन गरेर अगाडि बढ्छौँ।’
तारे होटलको अनुमति विभागले दिने गर्छ। सुरुमा तारे होटलको मापदण्ड दिन विभागले पटक-पटक अनुगमन गरे पनि कुनै अनुगमन नहुने गरेको गुनासो सरोकारवालाको रहँदै आएको थियो। जति बेला नवीकरणको बेला हुन्छ, त्यो बेला मात्र कडाई गर्नुको सट्टा बेलामा नियमित अनुगमन गर्ने र कडाई गर्ने प्रावधान विभागले नल्याए पर्यटन क्षेत्रमै नकरात्मक सन्देश फैलिन सक्ने चेतावनी काठमाडौं म्यारियटका सञ्चालक सशीकान्त अग्रवालको छ।
यसका लागि सरकारी स्तरबाट अनुगमनलाई कडाई गर्ने र व्यवसायीहरुले पनि स्वस्फूर्त राम्रो सुविधा दिनुपर्ने उनको भनाइ छ।
उनले उपत्यकाबाहिर सञ्चालनमा रहेका होटलले गर्ने व्यवहारका कारण स्वदेशी एवं विदेशी पर्यटकमा नकरात्मक असर पुगिरहेकाले सरकारले त्यसलाई रोक्न तत्काललै कडा कदम चाल्नुपर्ने बताउँदै आएका छन्। काठमाडौंबाहिर पाँचतारे होटलका लागि कम्तीमा ८० कोठा हुनुपर्ने प्रावधान छ। तर, प्रायः होटलले आवश्यक मापदण्ड पूरा नगरी पनि मान्यता पाएका छन्।
काठमाडौं उपत्यकामा पाँचतारे होटलका लागि एक सय कोठा हुनुपर्छ। उपत्यकाबाहिरका लागि ८० वटा कोठा भए पुग्छ। मापदण्ड पालनाको विषय अध्ययन गर्ने हो भने अधिकांश होटलका कोठाको संख्या पुग्दैन।
कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले होटलले स्टारको मान्यता मात्र पाउनु ठूलो नभई ग्राहकको सन्तुष्टी कस्तो रह्यो? भन्ने विषयमा सञ्चालकहरुले ध्यान दिनुपर्ने बताउँछन्। यसका लागि सरकारी स्तरबाट अनुगमनलाई कडाई गर्ने र व्यवसायीहरुले पनि स्वस्फूर्त राम्रो सुविधा दिनुपर्ने उनको भनाइ छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले होटलको तारे मान्यता नवीकरणको बेला मात्रै कडाइ गर्नुको साटो कम्तीमा ६-६ महिनामा अनुगमन गर्ने मापदण्ड ल्याउन सुझाव दिएका छन्। ‘अनुगमन र कडाइ नहुँदा व्यवसायी पनि गुणस्तरीय सेवा दिनमा ढिलासुस्ती गर्छन्। त्यसैले नियामक निकाय र व्यवसायी दुवैले जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने।
पर्यटन विभागले २०८२ साउनमा सार्वजनिक गरेको तथ्यांकअनुसार एकदेखि पाँचतारे होटलको संख्या २१४ पुगेको छ। पछिल्लो एक वर्षमा तीन हजार २७० बेड थपिएका छन्। तारे होटलमा बेड संख्या २० हजार ३४३ पुगेको विभागको तथ्यांकमा उल्लेख छ।