काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। आगामी माघ १५, १६ र १७ गते काठमाडौंका लागि अहिले निर्माण व्यवसायीहरु प्यानल बनाएर चुनावी प्रचारमा जुटेका हुन्।
महासंघको नयाँ नेतृत्वका लागि सल्लाहकार निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङ्दोर्जे (एडी) लामाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। अहिले दुई पक्षले आफ्नो टिम बनाएर चुनावी प्रचारमा समेत जुटिसकेका छन्।
यसअघि अध्यक्ष बन्न सल्लाहकार पाण्डे, वरिष्ठ उपाध्यक्ष लामा र महासचिव रोशन दाहाल आकांक्षी देखिएका थिए। तर, तीन वटा प्यानल बन्ने चर्चा चले पनि हाललाई महासचिव दाहाल र लामाको समूह मिलेर एउटै प्यानल बनेपछि अब मुख्य प्रतिस्पर्धा दुई समूहबीच हुने देखिएको हो।
महासचिव दाहाल लामालाई अध्यक्ष बनाउने सर्मथन गर्दै वरिष्ठ उपाध्यक्षमा दाहालले उम्मेद्वारी दिने भएका छन्। यस्तै, लामा प्यानलमा आगामी नेतृत्वका लागि महासचिवमा शिवहरि घिमिरे, कोषाध्यक्षमा बालाजु श्रेष्ठ चुनावी मैदानमा उत्रिने महासंघ स्रोतले जनाएको छ।
सल्लाहकार पाण्डेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा मंगल शाही र कोषाध्यक्षमा उज्ज्वल गौतम आगामी नेतृत्वका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।
महासंघ निर्वाचन मिति नजिकिएसँगै आगामी नेतृत्वका आकांक्षीको सक्रियता बढेको छ। महाधिवेशनमा दुई हजार बढीको जमघट हुने महासंघले जनाएको छ। यस पटकको साधारणसभामा देशभरबाट करिब १ हजार ५५० जना मतदाता काठमाडौंमा सहभागी हुने छन्।
महाधिवेशन अवसर पारेर निर्माण सामग्रीको प्रदर्शनी तथा स्टलसमेत राखिनेछन्। महासंघमा हालका अध्यक्ष रवि सिंहको दोस्रो कार्यकालपछि नयाँ नेतृत्व चुनिन लागेको हो।