काठमाडौं। शिखर पावर डेभलपमेन्टले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत पुस १६ मा अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई ९ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता निष्कासन गरेको हो।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा बाग्लुङको बडिगाड गाउँपालिका–१ देखि १० सम्मका सबै वडा (साविक दगातुन्डाँडा, सीसाखानी, जलजला, ग्वालीचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाविसका सबै वडा) र आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित क्षेत्र बाग्लुङको ढोरपाटन नगरपालिका–२ (साविक बुर्तिवाङ गाविसको वडा–२, ३, ४ र ५) का स्थानीयले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाको निष्कासन बन्द छिटोमा माघ ९ र ढिलोमा माघ २० गते हुनेछ भने आयोजना प्रभावितको छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते निष्कासन बन्द हुनेछ।
शिखर पावरले ४.९६ मेगावाटको भीमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ र प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१.७० रुपैयाँ छ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा ईक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।