काठमाडौं । नेपाल टेलिकमले निर्णय नगर्दा नागरिक स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । नागरिक लगानी कोष र नेपाल पुर्नबीमा कम्पनी लिमिटेड लगानी गर्न तयार भएपनि नेपाल टेलिकम सञ्चालक समितिबाट निर्णय हुन बाँकी छ ।
टेलिकमबाट निर्णय हुन साथ कम्पनी स्थापनाको काम अघि बढ्ने नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले बताए । टेलिकमबाट निर्णय हुन साथ एक साताभित्र नागरिक स्टक डिलर लिमिटेड दर्ता हुने नेपालले जानकारी दिए । ‘संभवत एक साताभित्र प्रक्रिया अघि बढ्ने छ’ उनले भने । कोषले स्टक डिलरको कामलाई तीव्र रूपमा अघि बढाएको उनले जानकारी दिए ।
स्टक डिलर कम्पनीमा कोषको ५१ प्रतिशतसम्म लगानी हुने छ । बाँकी नेपाल टेलिकम, पुर्नबीमा र सर्वसाधारणको लगानी हुने छ । कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ तोकिएको छ । कम्पनीको प्रवन्धपत्र र नियममावली तयार भइसकेको छ ।
टेलिकम आएपछि केही परिवर्तन हुन सक्ने छ । स्टक डिलरलाई आर्थिक रुपमा मजवुत बनाउन पुर्नबीमा र टेलिकमलाई सहभागी गराएको नेपालले बताए ।
स्टक डिलरले कारोबार गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडको स्वीकृति लिनुपर्ने छ । प्रक्रियागत काम सकेर छिट्टै डिलर कम्पनी सञ्चालनमा ल्याउने तयार नागरिक लगानी कोषको छ ।
संस्थापक सेयरधनीबाट बाँस्केट फण्ड बनाएर सेयर बजारमा लगानी गर्ने छ । स्टक डिलर कम्पनीले लगानी कोषको पोर्टफोलियो समेत व्यवस्थापन गर्ने नेपालले सुनाए । लगानी कोषले ९ अर्ब रुपैयाँ सेयर बजार र १ अर्ब रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ । कोषलसंग १० अर्बको लगानी पोर्टफोलियो छ ।
सेयर बजारमा अस्वस्थ प्रतिस्पर्धा नहोस, माग र आपूर्तिको सन्तुलन कायम कम्पनीले गर्ने नेपालको भनाई छ । ठुलो परिमाणमा सेयर खरिद बिक्रीका लागि नेपालमा पहिलो पटक स्टक डिलर सञ्चालन हुने भएको हो ।
कोषका अनुसार स्टक डिलरको माध्यमबाट ‘बल्क’मा सेयर खरिद बिक्री गर्न सकिनेछ । हाल सेयर बजारमा ५० ओटा ब्रोकर कम्पनीहरु सञ्चालनमा छन । १९ ओटा वाणिज्य बैंकहरुले पनि सेयर ब्रोकरको लाइसेन्स लिने तयारीमा रहेका छन । स्टक डिलरले अस्वभाविक रुपमा बढ्ने र घट्ने सेयर बजारलाई सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।
पहिले लगानी कोषले मात्र छुट्टै सहायक कम्पनी स्थापना गरेर सेक्युरिटिज डिलरसिप तथा बजार निर्माताको काम गर्ने तयारी गरिरहेको थियो । तर कोषमा सञ्चित रहेको रकमले बजारमा पर्याप्त लगानी थप गर्न नसक्ने भएपछि अन्य निकायहरूसँग पनि समन्वय गरेर डिलरसिपको काम गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेट मार्फत नै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, बिमा संस्थान र नेपाल टेलिकम जस्ता कम्पनीहरूलाई बजार निर्माताका रूपमा सेयर बजारमा परिचालन गर्ने व्यवस्था गरेको थियो ।
नियामक निकायको अनुमति लिई दोस्रो बजारमा ठूलो मात्रामा सेयर खरिद बिक्री गर्न सक्ने गरी स्थापना गरिएको संस्था स्टक डिलर हो । यसले धितोपत्र बजारमा हुने तरलतालाई नियन्त्रणमा राख्ने काम गर्नुका साथै धितोपत्र बजारलाई सन्तुलन कायम राख्ने काम समेत गर्छ ।