काठमाडौं। लगानीको खडेरी भोगिरहेको नेपालमा प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेसन पानी उद्योगमा प्रवेश गरेको छ।
मध्यपूर्वका मुलुकमा निर्यात गर्ने उद्देश्यसहित केडिया अर्गनाइजेसनले ब्रिज हिमालयन स्प्रिङ वाटर प्रालिमार्फत 'पूर्ण वाटर' ब्रान्डको प्रशोधित पिउने पानीको उत्पादन सुरु गरेको हो।
६३ करोड लगानी, दैनिक पाँच लाख लिटर उत्पादन
६३ करोड रुपैयाँ लगानीमा सञ्चालित यो उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि दैनिक पाँच लाख लिटरसम्म पानी उत्पादन गर्न सक्ने क्षमता रहेको प्लान्ट म्यानेजर अनिलकुमार राउतले जानकारी दिए। काठमाडौंको चन्द्रागिरिमा स्थापित यो उद्योगबाट अहिले एक लिटर, आधा लिटर र २५० मिलिलिटरको बोतलका साथै २० लिटर जारको पानी उत्पादन भइरहेको छ। ३७ हजार ९६५ वर्गफिटमा फैलिएको उद्योगबाट हाल दैनिक १० देखि २० हजार लिटर पानी उत्पादन भइरहेको छ।
अहिले उत्पादन भइरहेको पानी काठमाडौं उपत्यकाभित्रै खपत भइरहेको म्यानेजर राउतले बताए। 'अहिले हामीले उत्पादन गरेको सबै पानी काठमाडौं उपत्यकाभित्रै बिक्री भइरहेको छ,' उनले भने, 'विस्तारै उत्पादन बढाएर काठमाडौं उपत्यकाबाहिर ठूला सहरमा पठाउने तयारीसमेत थालिएको छ।'
सात चरणीय शुद्धीकरण प्रक्रिया
पूर्ण वाटरले प्रविधि, हेरचाह र परम्पराको उत्कृष्ट संयोजनमार्फत उपभोक्तालाई शुद्ध र विश्वसनीय पानी उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार, हरेक थोपा पानीलाई सात चरणीय शुद्धीकरण प्रक्रियाबाट प्रशोधन गरिन्छ। जसले अनावश्यक अशुद्धता हटाउँदै आवश्यक प्राकृतिक खनिजहरू सुरक्षित राख्छ।
यसले पानीको गुणस्तर र स्वादलाई अझ उत्तम बनाउँदै उपभोक्तालाई स्वस्थ र ताजगीपूर्ण अनुभूति दिने दाबी गरिएको छ। पूर्ण वाटर घरपरिवारका लागि सुरक्षा र शुद्धताको प्रतीकका रुपमा तथा होटल, रेस्टुरेन्ट र क्याफेहरूमा ग्राहक अनुभवलाई स्तरीय बनाउन योगदान पुर्याउने उद्देश्यले प्रस्तुत गरिएको ब्रान्ड हो।
मध्यपूर्वमा निर्यातको तयारी अन्तिम चरणमा
काठमाडौं उपत्यकामा मात्र आफ्नो व्यापारलाई सीमित नराखी पूर्ण वाटरलाई मध्यपूर्वका मुलुकहरूमा निर्यात गर्ने तयारी समेत थालिएको छ। 'अहिले कुनकुन मुलुकमा निर्यात गर्ने भनेर खुलाउन सकिँदैन,' म्यानेजर राउतले भने, 'आवश्यक प्रक्रिया पूरा गर्ने कामहरू भइरहेका छन्, हामी छिट्टै निर्यात गर्छौं।'
हिमाली मुलुकमा उत्पादन भएको पानीको रुपमा मध्यपूर्वका मुलुकहरू कतार, दुबईलगायत देशहरूमा पानी निर्यातको राम्रो सम्भावना रहेको बताइएको छ। यसअघि पनि केही पानी उद्योगले विदेशमा पानी निर्यात गर्ने तयारी गरिरहेको बेला केडिया अर्गनाइजेसनले पनि मध्यपूर्वका मुलुकहरूमा पठाउन लागेको हो।
'विदेशमा पानीको माग अत्याधिक रहेकोले सम्भावना भएका धेरैभन्दा धेरै मुलुकहरूमा पानी पठाउने गरी तयारी थालिएको छ,' म्यानेजर राउतले भने, 'यो केडिया अर्गनाइजेसनको मात्र होइन, मुलुककै गौरवको विषय हुनेछ।'
उनले अहिले काठमाडौं उपत्यकाभित्रै पर्याप्त मात्रामा खानेपानी पठाउन नसकेको जानकारी दिए। उत्पादन क्षमता बढाउँदै कम्पनीले चरणबद्ध रुपमा आफ्नो बजार विस्तार गर्ने योजना बनाएको छ।