काठमाडौं। देशकै प्रतिष्ठित व्यावसायिक घराना केडिया अर्गनाइजेसनले बतास हायर पर्चेज (बतास इन्भेष्टमेन्ट) कम्पनी खरिद गर्दै नन–बैंकिङ फाइनान्सियल कम्पनी (एनबीएफसी) मोडलमा रिटेल फाइनान्सिङमा प्रवेश गरेको छ। यो कदमले नेपालमा वैकल्पिक वित्तीय प्रणालीको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
हालसम्म बैंक, बीमा, क्यापिटल र प्राइभेट इक्विटी क्षेत्रमा सफल लगानी गरिसकेको केडिया अर्गनाइजेसनले यसअघि म्यानुफ्याक्चरिङ सेक्टरमा ८ वटा र ट्रेडिङ सेक्टरमा एक कम्पनीमा लगानी गरेको छ। अब फाइनान्सियल सेक्टरअन्तर्गत नै सवारी साधन खरिदमा फाइनान्स गर्ने हायर पर्चेज कम्पनी खरिद गर्दै वैकल्पिक वित्तीय मोडालिटी एनबीएफसीको प्रचलन विस्तार गर्ने महत्वाकांक्षी योजना अघि बढाएको हो।
किन एनबीएफसी मोडल?
नेपालमा बैंकिङ प्रणालीको पहुँच अझै पनि सीमित छ। विशेष गरी साना तथा मध्यम उद्यम (एमएसएमई) क्षेत्र वित्तीय अभावको चपेटामा परेको छ। परम्परागत बैंकहरू ठूला कर्जामा केन्द्रित हुने र सानो टिकट साइजको कर्जामा जान हिचकिचाउने गर्छन्। यसले साना व्यवसायी, व्यापारी र उद्यमीहरूलाई वित्तीय सेवाबाट वञ्चित गरेको छ। यस्तै परिस्थितिमा वैकल्पिक वित्तीय संस्थाको रूपमा एनबीएफसी मोडल प्रभावकारी समाधान हुनसक्ने केडिया अर्गनाइजेसन विश्वास छ।
केडिया अर्गनाइजेसनका बिजनेस डेभलपमेन्ट डाइरेक्टर सत्यम केडियाका अनुसार निजी क्षेत्रका केही व्यावसायिक समूह वैकल्पिक वित्तीय संस्थामार्फत बैंकले पुग्न नसकेका साना व्यवसायी, व्यापारी र उद्यमीहरूमा वित्तीय सेवा विस्तार गर्न लागेका छन्।
"भारतमा करिब ९७ हजार एनबीएफसी कम्पनीले विभिन्न क्षेत्रका ग्राहकलाई फाइनान्सिङ सुविधा दिइरहेका छन्। तिनीहरूले देशको समग्र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएका छन्। हामी पनि त्यही बाटोमा अघि बढ्न चाहन्छौं," सत्यम केडियाले क्यापिटल नेपालसँग भने, "नेपालमा रिटेल फाइनान्समा रहेको ठूलो खाडल भर्ने गरी एनबीएफसी मोडालिटीमा जाने उद्देश्यले हामीले बतास हायर पर्चेज खरिद गरेका हौं।"
उनका अनुसार बतास इन्भेष्टमेन्ट खरिद गर्ने केडिया अर्गनाइजेसनको मुख्य उद्देश्य फाइनान्सियल सेक्टरमा आफ्नो उपस्थिति झन् बलियो बनाउनु हो। साथै, वित्तीय क्षेत्रमा स्वतन्त्र र व्यापक उपस्थिति कायम गर्नु पनि लक्ष्य रहेको छ।
किन बतास?
नेपालमा हाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त १० हायर पर्चेज कम्पनी मात्र सञ्चालनमा छन्, जसले प्रायः गाडी किन्न कर्जा दिने गर्छन्। बतास हायर पर्चेज कम्पनी राष्ट्र बैंकद्वारा इजाजतप्राप्त पुराना हायर पर्चेज कम्पनीहरूमध्ये एक हो। राष्ट्र बैंकले केही समयदेखि नयाँ इजाजतपत्र नदिई हायर पर्चेज कम्पनीहरूलाई सीमित गरेको छ। यही कारणले केडिया अर्गनाइजेसनले नयाँ कम्पनी खोल्नुको सट्टा अस्तित्वमा रहेको बतास कम्पनीलाई नै किन्ने रणनीतिक निर्णय गरेको हो।
"कुनै पनि कम्पनी टेकओभर गर्दा खरिदकर्ता र बिक्रेताको सोच मिल्नुपर्छ। बताससँग हाम्रो सोच मिल्यो। त्यसैले हामीले यसलाई अवसर र चुनौती दुवैको रूपमा लिएर अगाडि बढेका हौं," केडियाले भने, "केडिया अर्गनाइजेसनसँग बैंकदेखि इन्स्योरेन्स र क्यापिटल मार्केटसम्मका सबै खालको अनुभव छ। अब हामी रिटेल फाइनान्समा प्रवेश गरेर ग्राहकलाई दैनिक आवश्यकतामा सजिलो फाइनान्सिङ सुविधा दिन खोजिरहेका छौं।"
केडिया अर्गनाइजेसनले बतासलाई 'गुडविल र बिजनेस म्याचिङ' का आधारमा खरिद गरेको केडिया बताउँछन्।
'स्मल टिकट साइज' फाइनान्सिङमा फोकस
केडिया अर्गनाइजेसनले बतास हायर पर्चेजको खरिदसँगै नेपालको वित्तीय क्षेत्रमा एनबीएफसीको नयाँ मोडालिटी सुरु गर्ने महत्वाकांक्षी योजना बनाएको छ। परम्परागत हायर पर्चेज कम्पनीहरू गाडीमा मात्रै सीमित रहेको अवस्थामा, केडिया समूहले अब 'स्मॉल टिकट साइज' का ग्राहकहरूलाई लक्षित गर्ने स्पष्ट उद्देश्य राखेर बतास खरिद गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रप्रसाद तिमिल्सिनाका अनुसार अब ग्राहकले १५ हजारको मोबाइल खरिद गर्न होस् या २० लाखको डेन्टल इक्विपमेन्ट, बैंक धाउनुपर्ने बाध्यता हट्नेछ।
"बैंकहरू सानो टिकट साइजमा जान हिचकिचाउँछन्। किनकि यसको व्यवस्थापन जटिल हुन्छ। साथै, सानो रकममा प्रशोधन लागत बढी हुन्छ। तर बतासले यही सानो टिकट साइजको फाइनान्सलाई मुख्य फोकस गर्नेछ," कम्पनीका सीईओ तिमिल्सिनाले भन्छन्, "कसैलाई १५ हजारको मोबाइल चाहियोस् वा २५ लाखको डेन्टल चेयर, यदि उनी आफ्नो पेशामा सक्षम छन् भने बतासले धितोको जटिलतामा नअल्झाई आवश्यक फाइनान्सिङ उपलब्ध गराउँछ।"
यसले साना व्यवसायी र रोजगारीमा रहेकाहरूको जीवनस्तर उठाउन महत्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास छ। विशेष गरी एमएसएमई क्षेत्र र स्वरोजगारमा संलग्न व्यक्तिहरूलाई यस प्रकारको वित्तीय सेवाले ठूलो राहत दिने अपेक्षा गरिएको छ।
डिजिटल रूपान्तरण: २० मिनेटमा लोन स्वीकृति
केडिया अर्गनाइजेसनको सबैभन्दा महत्वाकांक्षी योजना बतासलाई पूर्ण रूपमा डिजिटल र पेपरलेस बनाउनु हो। कम्पनीको प्रमुख उद्देश्य शतप्रतिश पेपरलेस र डिजिटलाइज्ड लेनदेन गर्ने रहेको सीईओ तिमिल्सिनाले बताउँछन्। "अब हामी मोबाइल फाइनान्सिङमा २० मिनेटभित्र लोन स्वीकृत गरेर ग्राहकलाई सामान हस्तान्तरण गर्छौं। यो डिजिटल रूपमा अनबोर्डिङ, भेरिफिकेशन, स्वीकृति र वितरणसम्म पुग्ने हाम्रो प्रतिबद्धता हो," उनले भने।
सम्पूर्ण प्रक्रियालाई कागजविहीन (पेपरलेस) बनाउँदै, कम्पनीले ग्राहकलाई घरमै बसेर डिजिटल रूपमा कर्जाका लागि आवेदन दिन सक्ने गरी प्रविधिमा ठूलो लगानी गरिसकेको छ। कम्पनीले छिट्टै मोबाइल एप लन्च गर्ने छ, जसमार्फत ग्राहकले आफैं केवाईसी (ग्राहक परिचय) अपडेट गरेर दर्ता गर्न सक्नेछन्।
"हामीले छिट्टै नै मोबाइल एप लन्च गर्दैछौं। एपमार्फत ग्राहकले आफैं केवाईसी अपडेट गरेर दर्ता गर्न सक्छन्। साथै, निकट भविष्यमा इ–सेवा जस्ता डिजिटल वालेटमार्फत केवाईसी भेरिफाई भइसकेका ग्राहकहरूलाई प्री–अप्रुभल (पूर्व–स्वीकृत) कर्जाको सुविधा दिएर झन् सहज बनाउने तयारीमा छौं," तिमिल्सिनाले थपे।
जोखिम व्यवस्थापन: प्रविधिको प्रयोग
हायर पर्चेज व्यवसाय तुलनात्मक रूपमा उच्च जोखिममा हुन्छ। यस्तो व्यवसायमा सामान नै धितो हुन्छ, तर परम्परागत धितोभन्दा जोखिम बढी मानिन्छ। तर बतासले प्रविधिको प्रयोग गरेर यो जोखिमलाई न्यूनीकरण गर्ने रणनीति बनाएको छ।
"हामीले मोबाइलहरूमा लकिङ सफ्टवेयर राख्ने छौं, जसले भुक्तानी नहुँदा वा ऋण डिफल्ट हुने बित्तिकै फोनलाई निष्क्रिय गर्न सक्छ। यसैगरी, सवारी साधनमा पनि स्पीड कन्ट्रोल र रिमोट लक जस्ता उन्नत प्रविधि प्रयोग गर्ने तयारीमा छौं," सीईओ तिमिल्सिनाले बताए। यस्ता प्रविधिको प्रयोगले कम्पनीलाई जोखिम व्यवस्थापनमा मद्दत गर्नेछ र सँगसँगै ग्राहकलाई पनि कम ब्याजदरमा कर्जा उपलब्ध गराउन सजिलो हुनेछ।
विस्तारित सेवा र नयाँ उत्पादन
केडिया अर्गनाइजेसनले बतासलाई अब केवल अटोमोबाइलमा सीमित नराखी मोबाइल, होम एप्लायन्स र अन्य उपभोक्ता सामग्रीमा समेत फाइनान्सिङ गर्ने मोडल ल्याउने तयारीमा छ। यसबाहेक, कम्पनीले बिजनेस टु बिजनेस (बी टु बी) मोडलमा पनि जाने योजना बनाएको छ।
कम्पनीले राष्ट्र बैंकसँग विदेश घुम्न जाने नेपालीहरूलाई ट्राभल प्याकेज फाइनान्सिङ गर्ने प्रस्ताव पनि राखेका छ। "यो नेपालमा बिल्कुलै नयाँ व्यावसायिक मोडालिटी हुनेछ, जसलाई हामी निश्चित अवधिभित्र व्यवस्थित रूपमा फिर्ता गर्न सक्छौं," तिमिल्सिनाले भने।
यसबाहेक, कम्पनीले राष्ट्र बैंकसँग गोल्ड लोन (सुन धितो कर्जा) र बीमा उत्पादनको एजेन्टको रूपमा काम गर्ने अनुमति माग्ने तयारी गरिरहेको छ। "हामी राष्ट्र बैंकसँग नियमित संवादमा छौं। यी नयाँ सेवाहरूका लागि आवश्यक अनुमति प्राप्त गर्न प्रयासरत छौं," उनले थपे।
राष्ट्र बैंकसँग नीतिगत संवाद
राष्ट्र बैंकले हायर पर्चेजअन्तर्गतका कर्जालाई कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेशिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्ने व्यवस्थासहित परिभाषित गरेको छ। साथै, व्यापारिक हिसाबले भाडामा सञ्चालन गर्ने वा प्रयोग गर्ने गराउने गरी सवारी साधन वा सामान खरिद गर्न प्रवाह गरिएको कर्जालाई पनि हायर पर्चेज कर्जाअन्तर्गत राखिएको छ।
तर केडिया ग्रुपको मान्यता छ कि एनबीएफसीले फाइनान्स गर्न सक्ने क्षेत्र यसभन्दा व्यापक हुनुपर्छ। साना व्यापार तथा व्यवसाय, चिकित्सकलाई आवश्यक पर्ने उपकरण, स्टार्टअपहरूले नयाँ व्यवसाय शुरु गर्दा वा कार्यालय विस्तार गर्दा आवश्यक पर्ने फर्निचर तथा विद्युतीय उपकरण, सुन धितो फाइनान्स लगायतका कार्यक्षेत्र समेतको अधिकारबारे राष्ट्र बैंकले स्पष्ट नीति जारी गर्नुपर्ने आवश्यकताबारे छलफल भएको केडिया ग्रुपले जनाएको छ।
"हायर पर्चेजको इजाजतपत्र लिएका कम्पनीले धितो नभए पनि उपकरण फाइनान्सिङ गर्न सकिने व्यवस्था गर्न आवश्यक छ," केडिया बताउँछन्। बतासले राष्ट्र बैंकको गाइडलाइनभित्र रहेर नै काम गर्ने छ। राष्ट्र बैंकले सम्पत्ति खरिदका लागि फाइनान्सिङ गर्ने फराकिलो दायरा दिएको छ। बतासले यही प्रावधानको अधिकतम उपयोग गर्दै नयाँ–नयाँ उपकरण र सामग्रीको खरिदमा सहजता ल्याउनेछ। जुन स्वयं राष्ट्र बैंकले चाहेको वित्तीय बजार विस्तारको लक्ष्यसँग पनि मेल खान्छ।
"यद्यपि, राष्ट्र बैंकले एनबीएफसी मोडालिटीको व्यवसायमैत्री नियमन ल्यायो भने यो मोडल नेपालमा पनि दिगो र सफल हुन सक्छ," केडियाले जोड दिए। केडिया अर्गनाइजेसनले राष्ट्र बैंकसँग साना टिकट साइजको कर्जा, कन्जुमर फाइनान्स र डिजिटल फाइनान्सिङलाई सहयोग गर्ने नीति ल्याउन अनुरोध गरिरहेको छ। सोहीअनुसार उनीहरूले राष्ट्र बैंकसँग समेत नियमित छलफल गरिरहेका छन्। जसमा राष्ट्र बैंक समेत सकारात्मक रहेको केडिया बताउँछन्।
राष्ट्र बैंकले भविष्यमा एनबीएफसी मोडालिटीमा हायर पर्चेज सेगमेन्टलाई अझ बलियो बनाउन आवश्यक नयाँ कार्यविधि वा सुविधा थप्न सक्ने कम्पनीको विश्वास छ।
नयाँ ब्रान्डिङसहित पुनः लन्च
केडिया अर्गनाइजेसनले बतासलाई खरिद गरेर हाल पुरानै मोडालिटीको व्यवसाय सञ्चालन गरिरहेको छ। तर निकट भविष्यमा नयाँ 'ब्रान्डिङ' अर्थात् कम्पनीको नयाँ नाम, नयाँ व्यावसायिक प्रकृतिसहित पुनः लन्च हुने सत्यम केडियाले जानकारी दिए।
"राष्ट्र बैंकले अहिले नयाँ इजाजतपत्र दिइरहेको छैन। त्यसैले हामीले पुरानै कम्पनी किनेका हौं। तर अब यसलाई नयाँ ढाँचामा पूर्ण रूपान्तरण गर्छौं। अब यो कम्पनी पुरानो परम्परागत शैलीमा चल्दैन। हामी यसलाई पूर्ण रूपमा एनबीएफसी मोडालिटीमा ढाल्दैछौं। यसका लागि प्रविधिमा ठूलो लगानी गरिनेछ, जसले ग्राहकहरूलाई कागजविहीन र डिजिटल प्रक्रियामार्फत छिटोभन्दा छिटो फाइनान्सिङको सुविधा दिनेछ," सत्यम केडियाले भने।
केडिया अर्गनाइजेसनको यो कदमले नेपालको वित्तीय क्षेत्रमा नयाँ युगको सूत्रपात गर्ने अपेक्षा गरिएको छ। भारतमा एनबीएफसीहरूले आर्थिक विकासमा पुर्याएको योगदान हेर्दा नेपालमा पनि यो मोडलले बैंकिङ क्षेत्रको पूरक भूमिका खेल्न सक्ने देखिन्छ।
विशेष गरी बैंकहरूले पुग्न नसकेका साना व्यवसायी, स्वरोजगारमा संलग्न व्यक्ति र एमएसएमई क्षेत्रलाई एनबीएफसी मोडलले वित्तीय सेवा विस्तार गर्न सक्ने सम्भावना छ। यसका लागि राष्ट्र बैंकले स्पष्ट र व्यवसायमैत्री नीति तथा नियमन ल्याउनु आवश्यक हुनेछ। केडिया अर्गनाइजेसनले बतासमार्फत डिजिटल, पेपरलेस र छिटो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यदि यो मोडल सफल भयो भने नेपालको वित्तीय समावेशीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।