काठमाडौं । ऋणको माग कम भएपछि आफूसँग भएको पैसा बोकेर बैङ्करहरु उद्योगीको ढोका–ढोकामा पुग्न थालेका छन् । देशमा लगानी गर्ने विश्वासिलो वातावरण नबनेको भन्दै उद्योगीले नयाँ वा थप लगानी नगर्ने मुड बनाएपछि बैङ्कमा लगानीयोग्य पुँजी थन्किएको हो । दिन प्रतिदिन लगानीयोग्य पुँजी बढ्दै जाने र ऋणको मागमा कमी आएपछि बैङ्कर आफै पैसा बोकेर उद्योगीसामू पुग्न थालेका हुन् ।
गत वर्ष यही अवधिमा बैङ्कसँग लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) को चरम अवस्था थियो । ‘ऋण माग्नेको लाइन थियो । तर, अहिले ऋण माग्ने होइन्, ऋण लिनुस्, भनेर धाउनुपर्ने अवस्था आएको छ’ एक वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले भने, ‘गत वर्षको तुलनामा अहिले ऋण माग्नेको सङ्ख्यामा कमी भएको त्यसैका कारण लगानीयोग्य पुँजी बैङ्कमै थुप्रिने अवस्था आएको हो ।’
६ महिनाको कर भुक्तानी गर्नुपर्दा बैंङकिङ प्रणालीमा तरलतामा कमी आएको छ । यसले अन्तर बैंक कारोबारको ब्याजदर पनि बढेको छ । बैंकहरुबाट ३० अर्ब रुपैयाँ भन्दा बढी रकम सरकारको ढुकुटीमा गएपछि तरलता घटेको छ । राष्ट्र बैंकको ५ महिनाको तथ्याँक हेर्दा निक्षेप परिचालन १५.६ र कर्जा विस्तार १५ प्रतिशत रहेको छ ।
बैङ्कमा अधिक तरलता भएपछि सेयर बजारमा त्यसको सकरात्मक असर परेको छ । तर, उत्पादनमूलक उद्योगका लागि ऋण जान छाडेको ती बैङ्करको भनाइ छ ।
यसरी लगानीयोग्य पुँजी बैङ्कमै थन्किने हो भने बैङ्कको नाफामा समेत गम्भीर धक्का लाग्ने अवस्था आउँछ । बैङ्कको नाफामा धक्का लाग्ने बित्तिकै त्यसको असर सेयर बजारमा देखिने बैङ्करहरु बताउँछन् ।
देशमा आन्तरिक तथा बाह्य लगानी विस्तार हुन सकेको छैन । कतिपय अवस्थमा उद्योगीरव्यवसायीले लगानी नै रोकेका छन् । अर्कोतिर सरकारले ऋण लिने प्रक्रियालाई झन कसिलो बनाएपछि त्यसको प्रत्यक्ष असर बैङ्कका परेको हो । लगानी घटेको र स्प्रेडदर कम हुँदै गएकाले बैंकको नाफामा असर परेको छ ।
यस्तै कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने जस्ता जटिल प्रावधानले गर्दा पनि यसको असर परेको व्यवसायीको भनाई छ । एकातिर देशमा उद्योधन्दाको अवस्था नाजुक बन्दै जानु र अर्कोतिर सरकारले कर्जा प्रवाहमा कडाइ गरेपछि बैङ्कमा तरलता थुप्रिएको ती बैङ्करको बुझाइ छ ।
चालू आर्थिक वर्षमा झण्डै दुई दर्जन सिमेन्ट उद्योगी र एक दर्जन उद्योगीले नयाँ उद्योग तथा आफ्नो उद्योग क्षमता विस्तार गर्ने सोच बनाएकोमा पछि देशमा अनुकूल वातावरण नबनेको भन्दै सबैले लगानी विस्तार रोकेका छन् । त्यसैको असर बैङ्कमा देखिएको हो ।
भूकम्पपछिको पुननिर्माणको काम अन्तिम चरणमा पुगेकाले सिमेन्ट र छडको माग घटेको छ । उद्योगहरुको उत्पादनमा पनि कमी आएपछि यस क्षेत्रमा नयाँ उद्योग आएको छैन । भएका उद्योग पूण क्षमतामा चल्न सकेका छैनन ।
मुलुकभित्र नयाँ लगानी गर्ने वातावरण नभएको भन्दै ऋण नलिने भन्दै बैङ्करलाई फर्काउने गरेका छन् । एक उद्योगीका अनुसार ९ प्रतिशत ब्याजमा ऋण लिन आग्रह गर्दै एक बैङ्कर मेरै अफिसमा आएका थिए । तर, अहिले ऋण आवश्यक नभएको भन्दै फर्काएको ती उद्योगीले बताए ।
बैङ्कमा लगानीयोग्य पुँजी थुप्रिँदै गएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले अटोमोबाइल क्षेत्रमा लगाएको लोनको ‘क्याप’लाई केही खुलुलो बनाउने उद्घोष समेत गरिसकेका छन् ।
‘अटोमोबाइल क्षेत्रलाई १० प्रतिशत बढाउने बित्तिकै अर्थतन्त्रमा चलायमान आउँछ,’ एक व्यवसायीले भने, ‘अटो क्षेत्रमा दिइने लोनलाई केही मात्रामा खुकुलो बनाउने बित्तिकै त्यसको सकरात्मक असर राजस्वदेखि समग्र अर्थतन्त्रमै पर्छ ।’
नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा सानिमा बैंकका सीईओ भुवन दाहाल बैंकमा केही तरलता रहेकाले अहिले सहज अवस्था आएको बताउछन । उनले निक्षेप परिचालनको तुलनामा कर्जा लगानी विस्तार भइरहेको बताए ।