काठमाडौं । काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुननिर्माणको लागि थप ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
बिहीबार हनुमानढोका दरबार संरक्षणले आयोजना गरेको एक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले र काष्ठमण्डप पुननिर्माण समितीका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई उक्त चेक हस्तान्तरण गरेका छन ।
महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुननिर्माण गर्न प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि २०७५ जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ र त्यसै बर्षको असोज २७ गते थप ५ करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।
महानगरको १० करोड ५० लाख रुपैयाँको सहयोग रकमबाट हालसम्म काष्ठमण्डको पुननिर्माणको काम करीब ५५ प्रतिशत सम्पन्न भएको र निर्माण समितिबाट थप रकम माग भएकाले महानगरले बाँकी काम अघि बढाउन ५ करोड थप रकम उपलब्ध गराएको जनाएको छ ।
चेक हस्तान्तरण गर्दै महानगर प्रमुख शाक्यले महानगरले काम शुरु गर्न ५० लाख रुपैयाँ दिँदा काम हुन्छ कि हुँदैन भन्ने आममानसमा शंका थियो । तर, पुननिर्माणको कामको प्रगति राम्रो भएपछि महानगरले थप ५ करोड रुपैयाँ दिएको बताए ।
उनका अनुसार पुननिर्माण सम्पन्न हुनेका आशा जागेर आएकोले हाम्रै कार्यकालमा यसको निर्माण गरि सक्छौं । उनले भने‘महानगरभित्रका सांस्कृतिक सम्पदाको मर्मत सम्भार तथा प्रवर्धन गर्न हामीले अरुको बाटो हेर्नु पर्दैन । महानगर आफैंले खर्च गरेर सम्पदा पुननिर्माण गर्छ ।
अहिलेसम्म काष्ठमण्डप पुननिर्माणमा ५ हजार क्यूफिट काठ उपभोग भइसकेको पुननिर्माण समितिले जनाएको छ । अझै १० हजार क्यूफिट भन्दा धेरै काठ आवश्यक पर्छ, समितिका संयोजक एवं प्रदेश सभा सदस्य शाक्यले बताए । काष्ठमण्डप निर्माणको लागी आठको अभाव भएकाले आवश्यक काठहरु तराई क्षेत्रबाट ल्याउन प्रक्रिया चलिरहेको छ । पुनर्निर्माणका लागि दैनिक ४० जना भन्दा बढी कलाकार तथा श्रमिकले काम गरिरहेका छन् ।
समितिले दिएको जानकारी अनुसार चार घेराको काष्ठमण्डपमा १०० वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछन् । तेस्रो र चौथो घेरामा एक–एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछन् ।
दोस्रो घेरामा १२ फिट, तेस्रो घेरामा १५ र चौथो घेरामा १२ फिट अग्ला थाम हुनेछन् । सबैलाई चुकुलले अड््याइने छ । मूल थामहरु उठाएर त्यसमाथि सिंहमुखी र शंखमुखी मेथ राखिएको छ । मेथमाथि मूल निदालहरु राख्ने काम पनि सकिएको छ ।