काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहितको टोलीले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय निरीक्षण तथा अनुगमन गरेको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय, मन्त्रालयका सहसचिव तथा सञ्चालक समिति सदस्य सहभागी अनुगमनमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री पाण्डेलाई निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराए।
उनले मन्त्रालयको निर्देशानुसार निगमले सातै प्रदेशसँग सहकार्य गरी दुर्गम क्षेत्रमा चल्ने साना जहाज खरिद योजनाअनुसार काम भइरहेको, सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको महँगोे ब्याजदरको ऋण घटाई आर्थिक व्यवस्थापन गर्न सफ्ट लोन लिने सम्बन्धमा काम भइरहेको र निगमले इनप्mलाइट किचन सञ्चालन गर्ने योजनाअनुरुप कार्य भइरहेको मन्त्रीलाई अवगत गराए।
त्यसैगरी निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरण मर्मत–सम्भारमा लाग्ने पाटपुर्जा र निगमको जहाजमा प्रयोग हुने खाद्य सामग्रीमा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्नेतर्फ पहल गर्न, अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई दिइने विशेष सुविधाजस्तै निगमलाई पनि दिलाउन उनले आग्रह गरे।
यस्तै, विमान चालक तथा अन्य कर्मचारीको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगमजस्तो विशेष प्रकृतिको हवाई व्यवसायका लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गर्न उनले मन्त्रीसमक्ष ध्यानाकर्षण गराए।
निगम व्यावसायिक संस्था भएकोले राजनीतिक हस्तक्षेप रोकेर समन्वयात्मक भूमिका खेल्न अधिकारीले मन्त्री पाण्डेले सुझाए।
उक्त अवसरमा मन्त्री पाण्डेले निगम हित हुने कार्यमा आफ्नो साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यमा ढिलासुस्ती नगर्न र कसैको कारणबाट संस्थालाई हानिनोक्सानी भए सोही व्यक्ति जिम्मेवार रहनेतर्फ उनले सचेत गराए। निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ कहीँकसैले नखोस्ने विश्वाससमेत उनले दिलाए।