काठमाडौं। काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स हस्पिटल (हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि अस्पतालले आफ्नो संस्थागत साख मूल्याङ्कन (क्रेडिट रेटिङ) गराएको छ, जसअन्तर्गत रेटिङ एजेन्सी इक्रा नेपालले सन्तोषजनक नतिजासहित 'बीबीबी माइनस' रेटिङ प्रदान गरेको छ।
इक्रा नेपालले ह्याम्स हस्पिटललाई प्रदान गरेको उक्त इस्युअर रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा मध्यमस्तरको सुरक्षा रहेको र लगानीको जोखिम न्यून रहेको देखाउँछ। अस्पतालले आफ्नो व्यावसायिक विस्तार र थप शय्या थप्नका लागि आवश्यक पुँजी जुटाउन आईपीओ ल्याउन लागेको हो। आईपीओअघि नै अस्पतालले प्रिमियममा संस्थापक सेयरधनीहरूबाट ९ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी र २५ करोड १० लाख रुपैयाँ प्रिमियम गरी कुल ३५ करोड रुपैयाँ पुँजी वृद्धि गरिसकेको छ।
९ महिनामै करिब डेढ अर्बको कारोबार
आईपीओको तयारी गरिरहेको ह्याम्सको व्यापारिक ग्राफ निकै आकर्षक देखिन्छ। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिना (चैत मसान्तसम्म) मा अस्पतालले करिब डेढ अर्ब अर्थात् १ अर्ब ४२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ कुल कारोबार गरेको थियो।
अस्पतालले सन् २०२४ मा १ अर्ब ६६ करोड ३० लाख, सन् २०२३ मा १ अर्ब ३९ करोड ५० लाख र सन् २०२२ मा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिन्छ। अस्पतालको कुल आम्दानीमा ९२ प्रतिशत हिस्सा स्वास्थ्य सेवाबाट र बाँकी ८ प्रतिशत फार्मेसी बिक्रीबाट प्राप्त हुने गरेको छ। बिरामीको चाप र सेवा विस्तारका कारण अस्पतालले वार्षिक औसत १२ प्रतिशतको वृद्धि हासिल गर्दै आएको छ।
सुदृढ वित्तीय सूचक र उच्च मुनाफा
वित्तीय दृष्टिकोणले ह्याम्स हस्पिटल निकै मजबुत अवस्थामा छ। सन् २०२५ मा ह्याम्सको सञ्चालन मुनाफा २८ प्रतिशत रहेकोमा चालू वर्षको ९ महिनामा यो २७ प्रतिशतमा कायम छ। अस्पतालको ब्याज तिर्ने क्षमता ९.५ गुणा र सावाँ–ब्याज तिर्ने नगद प्रवाह क्षमता ३.१ गुणा रहेको छ, जसले अस्पतालसँग बैंक ऋण भुक्तानी गर्न पर्याप्त नाफा रहेको पुष्टि गर्छ। अस्पतालको नेटवर्थ र ऋणको अनुपात जम्मा ०.५ गुणा मात्र रहेकाले यसलाई वित्तीय रूपमा निकै सुरक्षित मानिन्छ।
ऋण र लगानीको अवस्था
ह्याम्सले हाल बैंकहरूबाट कुल ६६ करोड ४० लाख रुपैयाँ बराबरको ऋण सुविधा उपयोग गरिरहेको छ, जुन अघिल्लो वर्ष ८० करोड रुपैयाँ थियो। अस्पतालले क्रमशः आफ्नो ऋण भार घटाउँदै लगेको छ। यो ऋण मुख्यतः अस्पतालको पूर्वाधार विस्तार र अत्याधुनिक चिकित्सा उपकरण खरिदका लागि लिइएको हो। हाल १०० शय्यामा सञ्चालित ह्याम्सले थप शय्या थप्ने योजनासहित पूँजीगत खर्च गरिरहेको छ।
सन् १९९८ मा स्थापना भएको ह्याम्सको मुख्य लगानीकर्ता अध्यक्ष रामशरण भण्डारी र उनको परिवार हुन्। अस्पतालले आफ्नो नाफाबाट लगानीकर्तालाई आकर्षक लाभांश समेत दिँदै आएको छ। आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ६९ प्रतिशत र २०८१/८२ को नाफाबाट ६५ प्रतिशत नगद लाभांश वितरण गरिएको रिपोर्टमा उल्लेख छ। यसका अतिरिक्त ह्याम्सले सिभिल कम्युनिटी टिचिङ हस्पिटलमा पनि ४४ प्रतिशत सेयर लगानी गरेको छ।
चुनौती र अवसर
काठमाडौं उपत्यकाको बढ्दो जनसंख्या र स्तरीय स्वास्थ्य सेवाको बढ्दो माग ह्याम्सका लागि ठूलो अवसर हो। यद्यपि काठमाडौंमा खुल्दै गरेका नयाँ कर्पोरेट अस्पतालहरूसँगको तीव्र प्रतिस्पर्धा र दक्ष चिकित्सकहरूलाई टिकाइराख्नु अस्पतालका लागि प्रमुख चुनौती हुन्।
प्रस्तावित आईपीओ निष्कासनपछि प्राप्त हुने नयाँ पूँजीले अस्पतालको वित्तीय जगलाई अझ मजबुत बनाउने र थप विस्तारका योजनाहरू सहजै अगाडि बढाउने विश्वास गरिएको छ। अनुभवी व्यवस्थापन र स्थापित ब्राण्ड छविका कारण ह्याम्सको आईपीओप्रति लगानीकर्ताको आकर्षण उच्च रहने देखिन्छ।