विराटनगर। कोशी प्रदेशलाई नेपालको अग्रणी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित आयोजित ;कोशी टुरिज्म कन्क्लेभ २०८३' विराटनगरमा सम्पन्न भएको छ। कन्क्लेभले सीमापार पर्यटन विस्तार, समुदायमा आधारित पर्यटन प्रवर्द्धन, नीतिगत सुधार, पर्यटन सूचना केन्द्र स्थापना तथा नेपाल पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि पहललगायत आठ प्रमुख प्राथमिकता तय गरेको छ।
कन्क्लेभमा ‘कोशी प्रदेशमा आरोग्य पर्यटन’ विषयमा योग तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारी र ‘कोशी प्रदेशमा पर्वतीय पर्यटनको सम्भावना र दिगो विकास’ विषयमा पर्यटन नीति विज्ञ डा. अनुकुमारी लामाले की-नोट प्रस्तुति दिएका थिए। कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा विराटनगरमा आयोजित कन्क्लेभको अध्यक्षता पर्यटन, वन तथा वातावरण मन्त्री भीमप्रसाद पराजुलीले गरेका थिए भने प्रमुख अतिथि मुख्यमन्त्री हिक्मतकुमार कार्की थिए।
कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्मरबहादुर बिष्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का केन्द्रीय अध्यक्ष कुमारमणि थपलिया, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्षलगायत व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रममा भारतको पश्चिम बंगालबाट प्रेस सल्लाहकार वीरेन्द्र चाम्लिङ र पर्यटन अभियन्ता राज वसुलगायत स्वदेश तथा विदेशका सरोकारवालाको समेत सहभागिता रहेको थियो।
कन्क्लेभका क्रममा आयोजित तीनवटा प्यानल छलफलमा पर्यटन विकास, ग्रामीण पर्यटन, सीमापार पर्यटन, लगानी, पूर्वाधार तथा नीतिगत सुधारका विषयमा बहस भएको थियो। पहिलो सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत तथा प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाले पर्यटन क्षेत्रको सम्भावना, लगानी आकर्षण तथा नीतिगत सुधारका विषयमा धारणा राखेका थिए। सो अवसरमा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले भारत र बंगलादेशलाई लक्षित गरी नजिकका अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गर्ने रणनीति प्रस्तुत गर्दै क्षेत्रीय बजारको सम्भावना र प्राथमिकताबारे विश्लेषण गरेका थिए।
दोस्रो प्यानल छलफलमा ग्रामीण तथा समुदायमा आधारित पर्यटन विकास, स्थानीय सहभागिता र पर्यटक आकर्षणका उपायबारे छलफल भएको थियो भने तेस्रो सत्रमा सीमापार पर्यटन प्रवर्द्धन, सीमा नाकामा सहजीकरण तथा नेपाल–भारत पर्यटन सहकार्यलाई सुदृढ बनाउने विषयमा विज्ञहरूले सुझाव दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कोशी प्रदेश नेपालको पूर्वी प्रवेशद्वार भएकाले प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना रहेको बताए।
कोशी प्रखेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पर्यटन विकासका लागि पर्यटन गुरुयोजना निर्माण, नीतिगत तथा कानुनी सुधार, अन्तर्राष्ट्रिय साहसिक खेल पर्यटन, शैक्षिक पर्यटन प्रवर्द्धन तथा सार्वजनिक–निजी साझेदारी मार्फत लगानी विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराए। पर्यटन, वन तथा वातावरण मन्त्री भीमप्रसाद पराजुलीले पर्यटन क्षेत्र तत्काल रोजगारी सिर्जना गर्ने सबैभन्दा प्रभावकारी क्षेत्रमध्ये एक भएकाले प्रदेश सरकारले पर्यटन पूर्वाधार, गन्तव्य विकास र प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर आवश्यक बजेट तथा कार्यक्रम सञ्चालन गरिरहेको बताए।
कन्क्लेभमा सीमापार पर्यटन तथा अन्तरदेशीय सहकार्य विस्तार, गाउँ केन्द्रित समुदायमा आधारित पर्यटन विकास, स्थानीय संस्कृति, वास्तुकला र रैथाने खानाको संरक्षण तथा प्रवर्द्धन, पर्यटनसम्बन्धी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन, संघ–प्रदेश–स्थानीय तह र निजी क्षेत्रबीच संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन, कोशी प्रदेशमा पर्यटन सूचना केन्द्र स्थापना, नेपाल पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि पहल तथा पर्यटक प्रहरी र पर्यटक हटलाइन सेवा सञ्चालनलाई साझा प्राथमिकताका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।