काठमाडौं। नेपालका बिमा कम्पनीहरुको लगानी बैंक तथा वित्तीय कम्पनीको मुद्दतीमा केन्द्रित भएको पाइएको छ। नियामकले लगानी विविधिकरण गर्ने भन्दै एक दर्जन बढी क्षेत्रमा लगानीको प्रावधान गरेको छ। तर, बिमा कम्पनीहरुले भने लगानीको अधिकांश हिस्सा बैंकहरुको मुद्दतीमा लगानी गरेर प्राप्त ब्याजलाई मुख्य आम्दानीको स्रोत बनाइ रहेका छन्।
चालु वर्षको पहिलो त्रैमाससम्ममा बिमा कम्पनीहरुले कुल साढे ७ खर्ब रुपैयाँ लगानी गरेका छन्। जसमध्ये जीवन बीमा कम्पनीहरुले ६ खर्ब ७७ अर्ब ५९ करोड, निर्जीवन बिमा कम्पनीहरुले ६७ अर्ब ३४ करोड, लघु जीवन बिमा कम्पनीहरुले १ अर्ब ६३ करोड र लघुनिर्जीवन बिमा कम्पनीहरुले २ अर्ब ६ करोड रुपैयाँ कुल लगानी गरेका हुन्।
नेपाल बिमा प्राधिकरणको लगानी निर्देशिकाअनुसार बिमा कम्पनीले विभिन्न १४ वटा क्षेत्रमा तोकिएको सीमामा रहेर लगानी गर्नुपर्छ। प्राधिकरणले कम्पनीहरुलाई न्यूनतम लगानीको सीमा निर्धारण गरिदिएको छ। जसमा न्यूनतम लगानी गर्न पर्ने र सीमाभन्दा माथि लगानी गर्न नहुने प्रावधान प्राधिकरणले गरेको हो।
बिमा प्राधिकरणद्वारा जारी ‘बीमकको लगानी सम्बन्धी निर्देशिका, २०७५’ अनुसार बिमा कम्पनीहरुले कुल लगानीको न्यूनतम २५ प्रतिशत सरकारी ऋणपत्र वा राष्ट्र बैंकको बचतपत्रमा, पूर्वाधार विकास बैंकसहित वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा बढीमा ३० प्रतिशत, विकास बैंकहरुको मुद्दतिमा बढीमा १० प्रतिशत, वित्त कम्पनीहरुको मुद्दतीमा बढीमा ५ प्रतिशत, घर जग्गामा बढीमा १० प्रतिशत, सुचीकृत कम्पनीहरुको साधारण सेयरमा बढीमा १० प्रतिशत र बैंक तथा वित्त कम्पनीहरुको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा बढीमा ३० प्रतिशत प्रतिशत लगानी गर्न पाउँछन्।
साथै, बिमा कम्पनीहरुले कुल लगानीको बढीमा १० प्रतिशत कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौय उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाईन, शिक्षा र स्वास्थ्य क्षेत्रमा, नागरिक लगानी कोष र म्युचुअल फण्डमा बढीमा ५ प्रतिशत र इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा ५ प्रतिशत लगानी गर्न पाउँछन्। अन्य संस्थापक सेयर, सुचीकृत नभएको अन्य पब्लिक कम्पनीहरुको सेयरमा र अन्य शिर्षकको लगानीको भने सीमा प्राधिकरणले तोकेको छैन।
लगानीका क्षेत्र विविधिकरण गरिए पनि बिमा कम्पनीहरुले भने कुल लगानीको अधिकांश हिस्सा वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको प्राधिकरणबाट प्राप्त तथ्यांकले देखाउँछ।
चालु वर्षको असोज मसान्तसम्म पौने ७ खर्ब लगानी गरेका जीवन बिमा कम्पनीहरुले बैंक तथा वित्त कम्पनीहरुको मुद्दतीमा ८०.२६ प्रतिशत लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरुको ७२.०८, विकास बैंकहरुको ६.८४ प्रतिशत र वित्त कम्पनीहरुको मुद्दतीमा १.०८ प्रतिशत लगानी गरेका छन्। तर, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौय उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाईन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने कुल लगानीको १.५१ प्रतिशतमात्रै लगानी गरेका छन्।
बिमा कम्पनीहरुको लगानी बैंकहरुको मुद्दती निक्षेपमा थुप्रिँदा प्राधिकरण भने यसबिषयमा मौन बसेको छ। कम्पनीहरुले निर्देशिकाले निर्धारण गरेअनुसार लगानी गर्न समस्या भएको भन्दै संशोधन माग गरेका थिए। सोहीअनुसार प्राधिकरणले गत वर्ष निर्देशिका संसोधन गरेको थियो। तर, बिमा कम्पनीहरु भने संशोधित निर्देशिका अनुसार पनि लगानी नगरी आफ्नो इच्छाअनुसार लगानी गरेर बसेका छन्।
कम्पनीहरुको लगानीलाई प्राधिकरणले मूल्यांकन गरेर नै निर्देशिका संशोधन गरेको हुँदा नयाँ व्यवस्थाअनुसार लगानी नगर्ने नियामकीय कारवाहीको भागिदार हुने प्राधिकरणका प्रवक्ता सुशिलदेव सुवेदी बताउँछन्।
‘कम्पनीहरुले गरेको रिपोर्टिङअनुसार तोकिएअनुसार नै लगानी गरेको देखिन्छ, यद्दपि कुनै कम्पनी नियमसंगत नभए त्यसको नियामकीय उपचार हुन्छ’ प्राधिकरणका निर्देशक सुवेदीले क्यापिटल नेपालसँग भने।
प्राधिकरणले बिमा कम्पनीको पुँजीबाट देशको आर्थिक विकासमा योगदान हुन पर्ने निक्र्योल गर्दै लगानी निर्देशिका जारी गरेको हो। तर, बिमा कम्पनीहरु भने लगानीको प्रतिफल सुनिश्चिित हुने क्षेत्रमा मात्रै केन्द्रित भएर उत्पादनशील र पूर्वाधारको क्षेत्रमा लगानी न्यून गरेको पाइन्छ।
चालु वर्षको असोज मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुले ७८.८६ प्रतिशत बैंक तथा वित्त कम्पनीको मुद्दती लगानी गर्दा कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा १.४८ प्रतिशत लगानी गरेका छन्। साथै, लघुजीवन बिमाले कुल लगानीको ९८ प्रतिशत वाणिज्य बैंकको मुद्दतीमा र बाँकी अन्य क्षेत्रमा गरेका छन् भने, निर्जीवन लघुबिमाले ९९.७४ प्रतिशत वाणिज्य बैंकको मुद्दतीमा लगानी गरेकमा छन्।
कसको कति लगानी?
हाल नेपालमा बिमा व्यवसाय गर्न १४ वटा जीवन बिमा कम्पनी, १४ वटा निर्जीवन बिमा कम्पनी, ७ वटा लघुबिमा कम्पनी र २ वटा पुनर्बीमा गरी कुल ३७ वटा बिमाकर्ताहरु छन।
असोजमसान्तसम्म जीवन बिमा कम्पनीले सरकारी ऋणपत्र वा राष्ट्र बैंकको बचतपत्रमा ३ अर्ब १० करोड ३९ लाख, वाणिज्य बैंकहरको मुद्दति निक्षेपमा ४ खर्ब ८८ अर्ब ३९ करोड, पूर्वाधार विकास बैंकको मुद्दतीमा १ अर्ब ८० करोड, विकास बैंकहरुको मुद्दतिमा ४६ अर्ब ३६ करोड ८९ लाख र वित्त कम्पनीहरुको मुद्दतीमा ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ लगानी गरेका छन्।
साथै उक्त अवधिमा जीवन बिमा सुचीकृत कम्पनीहरुको साधारण सेयरमा २४ अर्ब ८६ करोड ५३ लाख, बैंक तथा वित्त कम्पनीहरुको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा ५१ अर्ब ४२ करोड ६५ लाख, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौय उर्जालगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, बिद्युत प्रसारण लाईन, शिक्षा र स्वास्थ्य क्षेत्र १० अर्ब २५ करोड ७८ लाख, नागरिक लगानी कोष र म्युचुअल फण्डमा २ अर्ब ४७ करोड ५७ लाख, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा २ अर्ब २६ करोड ४५ लाख, अन्य संस्थापक सेयरमा १३ अर्ब ४७ करोड ३४ लाख, सुचीकृत नभएको अन्य पब्लिक कम्पनीहरुको सेयरमा १ अर्ब १८ करोड ९० लाख र अन्य लगानी ४ अर्ब २६ करोड ८ लाख रुपैयाँ गरी कुल ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन्।
यस्तै समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीले सरकारी ऋणपत्र वा राष्ट्र बैंकको बचतपत्रमा २१ करोड ५३ लाख, वाणिज्य बैंकहरको मुद्दती निक्षेपमा ४६ अर्ब ४१ करोड १८ लाख, विकास बैंकहरुको मुद्दतिमा ५ अर्ब ४५ करोड ६६ लाख, वित्त कम्पनीहरुको मुद्दतीमा १ अर्ब २३ करोड ५५ लाख, सुचीकृत कम्पनीहरुको साधारण सेयरमा ४ अर्ब ६ करोड २५ लाख र बैंक तथा वित्त कम्पनीहरुको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा ३ अर्ब ८ करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन्।
साथै, उक्त अवधिमा निर्जीवन बिमा कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौय उर्जा, लगायत विकरणीय उर्जा परियोजना, केवलकार, सडक, बिद्युत प्रसारण लाईन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ९९ करोड १६ लाख, नागरिक लगानी कोष र म्युचअल फण्डमा ७२ करोड ८ लाख, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा १५ करोड १२ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा १ अर्ब ४२ करोड ५७ लाख, सुचीकृत नभएको अन्य पब्लिक कम्पनीहरुको सेयरमा १४ करोड २० लाख र २ अर्ब २९ करोड ६७ लाख रुपैयाँ अन्य क्षेत्रमा गरी कुल ६७ अर्ब ३४ करोड ४ लाख रुपैयाँ लगानी गरेका छन्।
यसैगरी चालु वर्षको असोज मसान्तसम्म लघु बिमा कम्पनीहरुले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब ५७ करोड ५० लाख, विकास बैंकहरुको मुद्दतिमा बढीमा ३ करोड ६५ लाख, वित्त कम्पनीहरुको मुद्दतीमा २० लाख, सुचीकृत कम्पनीहरुको साधारण सेयरमा १ करोड २६ लाख, बैंक तथा वित्त कम्पनीहरुको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा ९९ लाख, नागरिक लगानी कोष र म्युचअल फण्डमा २५ लाख रुपैयाँ गरी कुल लगानी १ अर्ब ६३ करोड ८६ लाख रुपैयाँ लगानी गरेका छन्।
साथै, निर्जीवन लघुबिमा कम्पनीहरुले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब ८७ करोड ६० लाख, विकास बैंकहरुको मुद्दतिमा बढीमा १२ करोड ८५ रुपैयाँ, वित्त कम्पनीहरुको मुद्दतीमा ५ करोड १० लाख, सुचीकृत कम्पनीहरुको साधारण सेयरमा १३ लाख, नागरिक लगानी कोष र म्युचअल फण्डमा १० लाख रुपैयाँ गरी कुल २ अर्ब ६ करोड ९ लाख रुपैयाँ लगानी गरेका छन्।