काठमाडौं। काठमाडौं उपत्यकाको अत्यधिक जाम हुने कोटेश्वर चोकमा अब सुरुङमार्ग (कट एन्ड कभर) र दुई वटा फ्लाइओभर निर्माण हुने निश्चित भएको छ।
यस महत्वाकांक्षी परियोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपाललाई ४० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो। नेपाल सरकारले यो ऋण ०.२ प्रतिशतको अत्यन्तै कम ब्याजदरमा पाउने छ। जसले देशको पूर्वाधार विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। उक्त ऋण लिने प्रस्ताव आउने मन्त्रिपरिषद् बैठकमा जाँदै छ।
प्रस्तावित यो परियोजनाको कुल लम्बाई करिब १ हजार ८१६ मिटर हुनेछ। यसमा सवारी साधन प्रवेश गर्ने र बाहिरिने एप्रोच सडकहरूसमेत समावेश गरिने छन्। सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलका अनुसार ७५९ मिटर लामो यो फ्लाइओभरमा छिर्ने र निस्किने एप्रोच सडकहरू पनि समावेश हुनेछन्।
परियोजनाको मुख्य अंशका रूपमा ७ सय मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ। जडीबुटीदेखि तीनकुनेसम्म फैलिएको यो सुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जग्गामुनिबाट जाने छ। यसमा सुरुङभित्र छिर्ने र बाहिर निस्किने बाटाहरू पनि जोडिने छन्।
नागढुंगा सुरुङमार्गपछिको नेपालको ठूलो पूर्वाधार परियोजनाका रूपमा हेरिएको यो योजना कोटेश्वरको दैनिक जामबाट मुक्ति दिलाउन केन्द्रित छ।
सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा. विजय जैसीले यसलाई काठमाडौंको यातायात व्यवस्थापनको भविष्यू भनेर व्याख्या गरेका छन्। यो क्षेत्रमा निर्माण गरिने फ्लाइओभर र त्यसका एप्रोच सडकहरूको लम्बाई ३ सय ५७ मिटर हुनेछ।
कोटेश्वरमा जामको दीर्घकालीन समाधान
नागढुंगा सुरुङमार्गपछिको नेपालको ठूलो पूर्वाधार परियोजनाका रूपमा हेरिएको यो योजना कोटेश्वरको दैनिक जामबाट मुक्ति दिलाउन केन्द्रित छ। सडक विभागका अनुसार, काठमाडौं उपत्यकाकै सबैभन्दा बढी जाम हुने क्षेत्र कोटेश्वर हो। यो चोक काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लालाई जोड्ने मुख्य विन्दु हो।
यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्ने मुख्य मार्ग, अरनिको राजमार्ग, बीपी राजमार्ग लगायत पूर्वी जिल्लामा जाने आउने सवारी साधनको चापका कारण यहाँ दैनिक घण्टौं जाम हुने गरेको छ। नयाँ संरचनाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रदान गर्दै घण्टौंको जामबाट मुक्ति दिने छ।
हाल यो परियोजना ‘कन्सेप्चुअल डिजाइन’ चरणमा छ। जापान सरकारबाट ऋण सहायता प्राप्त गर्नका लागि यो प्रारम्भिक अध्ययन र डिजाइन तयार पारिएको हो। सडक विभागका अधिकारीहरूका अनुसार, ऋण प्राप्त भएपछि मात्र यसको विस्तृत डिजाइन (डीपीआर) का लागि परामर्शदाता नियुक्त गरिने छ। जसले परियोजनाको अझ परिष्कृत र विस्तृत डिजाइन तयार पार्नेछ। 'ऋण सम्झौता भएपछि मात्र यसको डिटेल डिजाइन बन्छ,' एक अधिकारीले भने।
नागरिक उड्डयन प्राधिकरणले राखेका शर्तहरू पालना गर्दै सडक विभागले विमानस्थलको बाहिरी क्षेत्रमा मात्र संरचना निर्माण गर्ने योजना बनाएको छ।
परियोजनाको सबैभन्दा जटिल पक्ष त्रिभुवन विमानस्थलको एप्रोच लाइट (विमान अवतरणको निर्देशक बत्ती) को जग्गा प्रयोग गर्नु हो। नागरिक उड्डयन प्राधिकरणले राखेका शर्तहरू पालना गर्दै सडक विभागले विमानस्थलको बाहिरी क्षेत्रमा मात्र संरचना निर्माण गर्ने योजना बनाएको छ।
जापानको 'टर्नकी' प्रस्ताव र भावी योजना
जाइकाको यो प्रस्ताव केवल ऋण सहायता मात्र नभएर पूर्ण टर्नकी प्रोजेक्टको रूपमा आएको छ। यसको अर्थ डिजाइनदेखि निर्माणसम्मका सम्पूर्ण कार्य जापानी कम्पनीहरूले नै सम्पन्न गर्ने छन्। नेपाल सरकारले यसका लागि वार्ता टोली गठन गरिसकेको छ र अर्थ मन्त्रालयका अधिकारीहरू जापानसँग नेगोसिएसन पनि सकेका छन्।
कोटेश्वरको यो परियोजना सफल भएमा सातदोबाटो र एकान्तकुना जस्ता काठमाडौंका अन्य व्यस्त चोकहरूमा पनि यस्तै आधुनिक संरचना निर्माणको बाटो खुल्ने छ। ललितपुरको ग्वार्कोमा ओभर पास निर्माण सम्पन्न भइसकेकाले कलंकीमा चिनियाँ सहयोगमा अन्डरपास सम्पन्न भइसकेको अवस्थामा काठमाडौं उपत्यका आधुनिक यातायात पूर्वाधारको दिशामा अग्रसर भइरहेको छ।
यस समस्याको समाधानका लागि कोटेश्वरमा फ्लाइओभर वा सुरुङ मार्ग निर्माण गर्ने चर्चा लामो समयदेखि चल्दै आएको छ।
यो परियोजनाले काठमाडौंलाई दक्षिण एसियाको आधुनिक सहरका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
दशकाैंकाे सपना सकार र पाउने लाभ
कोटेश्वर क्षेत्रमा जाम व्यवास्थापन गर्न फ्लाई ओभर र सुरुङमार्ग निर्माण हुने विषय दशक बढी भयो तर यसले निरकारण पाउन भने सकेको थिएन। राजधानीको प्रमुख नाका कोटेश्वरमा दैनिक बढ्दो ट्राफिक जामले जनजीवन अस्तव्यस्त बनेको छ। भक्तपुर, ललितपुर र काठमाडौँ तीन जिल्ला जोड्ने संगमस्थलका साथै पूर्वी नेपाल जाने मुख्य मार्ग भएकाले कोटेश्वरको जामले सर्वसाधारणले ठूलो सास्ती भोगिरहेका छन्।
यस समस्याको समाधानका लागि कोटेश्वरमा फ्लाइओभर वा सुरुङ मार्ग निर्माण गर्ने चर्चा लामो समयदेखि चल्दै आएको छ। ट्राफिक तथा यातायात इञ्जिनियर आशिष गजुरेलले कोटेश्वर क्षेत्रमा हुने जामले नागरिकको समयको बर्बादी मात्र होइन, इन्धनको खपत पनि अत्यधिक बढेको छ।
भक्तपुरको ६ लेनको सडक बनेपछि केही समय जाम कम भए पनि अहिले फेरि उस्तै जाम हुन थालेको उदाहरण दिँदै सवारी साधनको संख्या कम गर्नेतर्फ सोच्नुपर्नेमा जोड उनको छ।
‘सवारीको लामो लाइनले गर्दा दमकल वा एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी साधनलाई समेत गन्तव्यमा पुग्न कठिन भएको छ,’ उनले भने, ‘हालै ग्वार्कोमा बनेको ओभरपासले पनि बालकुमारी क्षेत्रमा जाम बढाएको गुनासो आइरहेका बेला कोटेश्वरको समस्या झन् जटिल बनेको छ।’
यद्यपि, कोटेश्वरको समस्याको दीर्घकालीन समाधानका लागि पूर्वाधार निर्माण मात्र पर्याप्त नहुने यातायात इञ्जिनियर गजुरेलको तर्क छ। भक्तपुरको ६ लेनको सडक बनेपछि केही समय जाम कम भए पनि अहिले फेरि उस्तै जाम हुन थालेको उदाहरण दिँदै सवारी साधनको संख्या कम गर्नेतर्फ सोच्नुपर्नेमा जोड उनको छ। सडक चौडा गर्ने वा फ्लाइओभर बनाउने कार्य दीर्घकालीन समस्याको समाधान होइन।
दीर्घकालीन समाधानका लागि पूर्वाधार निर्माणका साथसाथै सार्वजनिक यातायातको सुधारमा प्राथमिकता दिनुपर्छ। सार्वजनिक यातायात व्यवस्थित भएमा मानिसहरूले निजी सवारी साधन कम प्रयोग गर्नेछन्, जसले सडकमा सवारीको संख्या घटाउनेछ र जाम स्वतः कम हुने उनको तर्क छ।
‘हामीले भौतिकपूर्वधार तयार गर्नभन्दा अन्य मोडल खोज्नु पर्छ,’ उनले भने, ‘मेन फोकस सार्वजनिक यातायातमा गर्नुपर्यो, सार्वजनिक यातायात व्यवस्थित भयो भने मान्छेले निजी सवारी साधन कम किन्छन्। निजी सवारी साधन कम प्रयोग गर्छन्। त्यो प्रयोग गरेपछि सडकमा सवारी कम हुन्छ। सवारी कम हुनेबित्तिकै जाम कम हुन्छ।’
सरकारले सार्वजनिक यातायातको आधुनिकीकरण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। फ्लाइओभर वा सुरुङ मार्गको योजनाअघि बढाउँदै गर्दा सार्वजनिक यातायातको सुधारलाई पनि सँगसँगै लैजानु अपरिहार्य भएको उनको सुझाव छ।