काठमाडौं। ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ। १ अर्ब ९५ करोड लागतमा निर्माण भएको रिसोर्टको व्यवस्थापन अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसले लिएको छ।
निर्माण सुरु भएको करिब ६ वर्षपछि रिसोर्ट पूर्ण रुपमा तयार भई सञ्चालन गर्न लागिएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए। ‘आउदो दसैंअघि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी पूरा भएको छ,’ सञ्चालक श्रेष्ठले भने, ‘पाँचतारे स्तरको रिसोर्ट तयार भएको छ।’
रिसोर्टमा ८३ वटा सुविधासम्पन्न कोठा छन्। ३ वटा सुविधासम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्वीमिङ पुल, २ वटा रेस्टुरेन्ट, एउटा वटा बोर्ड रुम रहेको रिसोर्टमा ३०० बढी क्षमताकाे बैंक्विट हलसमेत छ।

गोदावरी वरपरका क्षेत्रमा हाइकिङ, ट्रेकिङका साथै धार्मिक पर्यटन पनि बढ्न थालेकाले आन्तरिक र भारतीय एवं चिनियाँ पर्यटकलाई लक्षित गरिएको उनले बताए।
गोदावरी राजधानी नजिकको उत्कृष्ट गन्तव्यको रुपमा परिचित छ। त्यहाँको मौलिकतालाई झल्को दिने गरी रिसोर्ट निर्माण गरिएकाे सञ्चालक श्रेष्ठको भनाइ छ। ५८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको रिसोर्ट पूर्णरुपमा पारिवारिक हुनेछ। सातदोबाटोबाट रिसोर्टसम्मको दूरी ९ किलोमिटर रहेको छ।
गोदावरीको मुख्य विशेषता भनेकाे गोदावरी फूल हो। फूल हेर्नैका लागि बर्सेनि धेरै पर्यटक त्यहाँ पुग्ने गरेका छन्। यस्तै पदयात्राका लागि पनि त्यस क्षेत्रबाट विभिन्न ठाउँमा जान सकिन्छ।
रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ। गोदावरीमा सरकारले ३ हजार क्षमताको सभाहलसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको छ। रिसोर्ट सञ्चालनमा आएपछि सभाहलमा आउनेलाई समेत बसाइँका लागि सहज हुने विश्वास सञ्चालककाे छ।