काठमाडौं। नेपालमा दुईपांग्रे सवारी साधनको बढ्दो प्रयोगसँगै सुरक्षात्मक सामग्रीको माग पनि दिनानुदिन बढ्दै गएको छ। यही आवश्यकतालाई पूरा गर्न र विदेशी आयातमाथिको निर्भरता घटाउन एक दशकअघि हेल्मेट उत्पादनमा पाइला चालेको कोहिनुर प्लास्टिक इन्डस्ट्रिज (केपीआई) अहिले नेपालको पहिलो र एक मात्र पूर्ण हेल्मेट उत्पादक कम्पनीको रूपमा स्थापित भएको छ।
उत्पादनको सुरुवात र विकासक्रम
करिब ११–१२ वर्षअघि बुटवलमा हेल्मेट उत्पादन थालेकाे कम्पनीले सुरुमा एयर कुलर र मोटरसाइकलको लेग गार्ड उत्पादन गर्थ्यो। २०४४ तिर बुटवलबाट सुरु भएको लेग गार्ड उत्पादनले सफलता पाएपछि डिलरको सुझावमा कम्पनीले हेल्मेट उत्पादनमा हात हालेको थियो।

२०७९ बाट हेल्मेट उत्पादन गर्दै आएकाे कम्पनीले तीन वर्षअघि मात्र उत्पादन केन्द्र तिलोत्तमा–१७ मा सारेको छ। हाल कम्पनीले तिलोत्तमामा दुई बिघा जग्गामा ५५ हजार स्क्वायर फिटमा फैलिएको आधुनिक हेल्मेट फ्याक्ट्री सञ्चालन गरिरहेको छ।
लगानी र उत्पादन क्षमता
कोहिनुर प्लास्टिक इन्डस्ट्रिजका अध्यक्ष रामप्रसाद बस्यालका अनुसार तिलोत्तमास्थित हेल्मेट फ्याक्ट्री ७० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो। कम्पनीको दैनिक उत्पादन क्षमता ५ हजार छ। तर, बजार मागअनुसार हाल दैनिक १ हजार २०० देखि १ हजार ५०० सम्म हेल्मेट उत्पादन भइरहेको छ।

कम्पनीको वार्षिक कारोबार करिब ४० करोड रुपैयाँ कम्पनीले हाल १३५ जनालाई प्रत्यक्ष रोजगारी दिएकाे छ।
अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गर्ने पहिलो कम्पनी
कोहिनुर प्लास्टिक इन्डस्ट्रिज नेपालमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने पहिलो हेल्मेट उत्पादक कम्पनी हो। कम्पनीले आफ्ना 'कोहिनुर' र 'केपीआई' ब्राण्डका हेल्मेटका लागि भारतीय आईएसआई र अमेरिकी डीओटी दुवै सर्टिफिकेसन प्राप्त गरेको छ।
‘हाम्रो कम्पनी आईएसआई र डीओटी दुवै सर्टिफिकेसन प्राप्त गर्ने नेपालको एक मात्र कम्पनी हो,’ अध्यक्ष बस्याल भन्छन्।
- स्थापना: करिब एक दशकअघि
- कारखाना: तिलोत्तमा–१७, रुपन्देही
- लगानी: ७० करोड रुपैयाँ
- दैनिक उत्पादन क्षमता: ५ हजार हेल्मेट
- वार्षिक कारोबार: ४० करोड रुपैयाँ
- रोजगारी: १३५ जना कर्मचारी
- प्रमाणपत्र: आईएसआई र डीओटी
कच्चा पदार्थ र आत्मनिर्भरता
हेल्मेट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ मुख्यतः ताइवान, कोरिया र तेस्रो मुलुकबाट आयात गरिन्छ। केही कच्चा पदार्थ भारतबाट पनि ल्याइन्छ। विशेष कुरा के भने कम्पनीले हेल्मेटभित्र प्रयोग गरिने थर्मोकोल आफैं उत्पादन गर्न छुट्टै 'कोहिनुर थर्मोप्याक इन्डस्ट्रिज' सञ्चालन गरेको छ, जसले उत्पादन प्रक्रियामा आत्मनिर्भरता बढाएको छ।
चुनौती र समस्याहरू
अध्यक्ष बस्यालका अनुसार कम्पनीको मुख्य समस्या सरकारको नीतिगत कमजोरी हो। नेपालमा तयार वस्तुभन्दा कच्चा पदार्थको भन्सार महसुल बढी भएकाले उद्योगलाई बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भएको छ। ‘हामीले जति लगानी गरेका छौं, त्योअनुसारको कारोबार हुँदैन। यसको मुख्य कारण राज्यको नीतिगत समस्या हो,’ उनले भनेका छन्।

भविष्यका योजनाहरू
कम्पनीले हाल नेपालभरि उत्पादन बेच्दै आएकाे छ। भविष्यमा भारत र बंगलादेशमा हेल्मेट निर्यात गर्ने योजना बनाइएको छ। यसका लागि अध्ययन कार्य भइरहेको अध्यक्ष बस्यालले जानकारी दिए।
कोहिनुर प्लास्टिक नेपालको औद्योगिक क्षेत्रमा आत्मनिर्भरताको दिशामा उत्कृष्ट उदाहरण बनेको छ। अन्तर्राष्ट्रिय गुणस्तरका हेल्मेट उत्पादन गरेर यसले विदेशी आयातमाथिको निर्भरता मात्रै घटाएको छैन, रोजगारी सिर्जना र स्वदेशी उत्पादनलाई प्रोत्साहन दिने काममा महत्त्वपूर्ण भूमिका खेलेको छ।
