काठमाडौं। चर्चित गायक तथा नायक प्रकाश सपुत अब फेसन व्यवसायमा प्रवेश गर्ने भएका छन्। गीत–संगीतमार्फत चर्चाको शिखरमा पुगेका सपुतले आफ्नै लोकप्रिय गीतको नाममा ‘गलबन्दी’ ब्रान्ड स्थापना गरी विभिन्न फेसन उत्पादन बजारमा ल्याउने तयारीमा छन्।
उनका अनुसार गलबन्दी ब्राण्डमार्फत सुरुमा जिन्स, चेक सर्ट, टि–सर्ट, ज्याकेट, हुडी, बक्स पाइन्ट, ट्र्याकसुटलगायत स्पोट्र्समा प्रयोग हुने कपडाहरु सार्वजनिक हुने छन्। ‘कलाकार वा सेलिब्रेटीले गर्न सक्ने कामको रुपमा फेसनलाई रोजेको हुँ,’ सपुतले भने, ‘आफ्नै चर्चित गीतलाई ब्राण्ड बनाएर उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न लागेको हुँ।’

मध्यमवर्गीयलाई लक्षित, गुणस्तरीय नेपाली उत्पादन
गलबन्दी ब्राण्डका कपडा मध्यमवर्गीय परिवारलाई सहज हुने मूल्यमा उपलब्ध हुने गायक सापुतले जानकारी दिए। अधिकांश कच्चा पदार्थ विदेशबाट आयात भए पनि सकेसम्म नेपालमै उत्पादन र फिनिसिङ गरेर आउँदो दशैंभित्र बजारमा ल्याउने योजना रहेको उनले सुनाए।
विदेशी ब्राण्डमा भर पर्ने प्रवृत्तिलाई तोड्दै, नेपाली उत्पादनलाई अन्तरराष्ट्रियस्तरको गुणस्तरमा पुर्याउने उद्देश्यले ब्राण्ड अघि बढाइने उनले स्पष्ट पारे।
दशैंसम्म दुई–तीन आउटलेट सञ्चालन
सपुतले दशैंसम्ममा काठमाडौं र बागलुङमा गलबन्दीका दुई–तीन आउटलेट सञ्चालन गर्ने लक्ष्य राखेका छन्। साथै, उनको मागअनुसार अन्य सहरमा समेत आउटलेट विस्तार गर्ने र अनलाइनमार्फत उत्पादन वितरण गर्ने योजना रहेको छ।
विदेशमा बस्ने नेपालीलाई समेत गलबन्दी उत्पादन उपलब्ध गराउने तयारी भइरहेको उनले बताए।

गार्मेन्ट उद्योग सञ्चालनको योजना
निकट भविष्यमा नेपालमै गार्मेन्ट उद्योग सञ्चालन गरी गलबन्दीलाई नेपालको मौलिक ब्राण्डका रूपमा स्थापित गर्ने योजना रहेको उनको भनाइ छ।
उनले थपे, ‘मुलुकमा निराशा मात्र होइन, युवाले नयाँ काम गर्नुपर्छ भन्ने सोच राखेको छु। गलबन्दी त्यसैको सुरुवात हो।’
गलबन्दी ब्राण्डमार्फत फेसन क्षेत्रमा नेपाली पहिचान कायम गर्दै प्रतिस्पर्धी बजारमा गुणस्तर र सस्तो मूल्यमा सबैलाई आकर्षित गर्ने उनको लक्ष्य रहेको छ।