काठमाडौं। ग्लोबल आईएमई बैंकसँग मर्जको हल्ला चलाएर एनआईसी एसिया बैंकको सेयरमा तीव्र चलखेल भइरहेको छ। केही लगानीकर्ताले ग्लोबल बैंकसँग एनआईसी एसिया छिट्टै मर्ज हुने हल्ला चलाएर एनआईसीको सेयर घटाएर उठाउने दाउमा लागेका छन्।
एनआईसी र ग्लोबलबीच अफवाह फैल्याउँदा साना र सोझा लगानीकर्ताले सेयर बजारमा लगानी फ्याकिरहेका छन्। चलखेल गर्ने समूहले उक्त सेयरलाई सस्तो मूल्यमा किनेर भविष्यमा अधिक लाभ लिन खोजेको देखिन्छ।
एनआईसी एसिया बैंकको सेयर मूल्यमा केही लगानीकर्ताहरुले ‘अफवाह’ चलाएर चलखेल गरेको पाइएको छ। एनआईसी केही समयभित्रै ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने हल्ला चलाएर सेयर मूल्यमा चलखेल गराइएको पाइएको हो।
दोस्रो बजारमा विगत ५र६ महिनायता एनआईसी एसिया बैंकको सेयर मूल्यमा उच्च उतारचढाब भइरहेको छ। गत वर्ष यहि समय अर्थात् मंसिर तेस्रो साता बैंकको सेयर मूल्य साढे ५ सय रुपैयाँको हाराहारीमा पुगेको थियो। त्यसयता बैंकको सेयर मूल्य लामो समयसम्म ५ सयमाथि कट्न सकेन।
केही लगानीकर्ता समूहले सेयर मूल्य घटाउने गरी बैंकको आफ्नो अस्तिव नै बिलय हुने गरी अन्य बैंकमा मर्जर हुने, बैंकको आन्तरिक व्यवस्थापन बिग्रिएको, वित्तीय अवस्था कमजोर भएको र सम्भावित लाभांशको विषयमा काल्पनिक हल्ला चलाएर पछि बैंकको सेयर मूल्य ३ सय रुपैयाँ हाराहारीमा पुगेको थियो। अहिले पुन बैंकको सेयर बढ्ने क्रममा छ। ३ सयमा पुगेको बैंकको सेयर मूल्य अहिले ४ सयमाथि पुगिसकेको छ।
एनआईसी एसिया ग्लोबल आइएमई बैंकसँग मर्जर हुँदैछ भन्ने हल्ला चलाएर बैंकको सेयर मूल्य घटाउने र घटेको मूल्यमा सेयर खरिद गरे पुन हुँदैन भन्ने हल्लामा मूल्य बढाएर बढेको मूल्यमा फाइदा लिने केही लगानीकर्ता समूह नै परिचालित भएको एक लगानीकर्ता बताउँछन्।
‘म्यासेन्जर ग्रुपमा होस् या फोन गरेर नै एनआईसी एसियाको भित्री सूचना भन्दै ग्लोबलसँग मर्जर हुने भन्दै सेयर किन्न लगाउने र बिक्री गर भन्नेहरु छन्, जसले गर्दा बैंकको सेयर मूल्य थपघटको निर्धारण ती नै लगानीकर्ताको हातमा पुगेको छ, यसबारे बैंकको आधिकारीक धारणा आए चलखेल बन्द हुन्थ्यो’ ती लगानीकर्ताले भने।
यस्तो हल्ला केही लगानीकर्ताले समाजिक सञ्जालका ग्रुपहरुमा होस् या ब्रोकर कम्पनीहरुमा पुग्ने लगानीकर्ताबीच हुने छलफलमा एनआईसी एसिया बैंक र ग्लोबल आइएमई बैंक आपसमा मर्जर हुने हल्ला चलेको छ। यस्तो हल्लामा कुनै सत्यता नभएको बैंकका प्रवक्ता अर्जुन खनियाँ बताउछन्।
‘एनआईसी एसिया बैंक अन्य कुनै बैंकमा मर्जर हुने वा अन्य बैंकलाई प्राप्ती गर्ने योजनामा छैन, यसबारे बैंकले सोचेको पनि छैन। बजारमा जे जस्तो हल्ला चलेको छ त्यो सबै निराधार हो। त्यसमा केही सत्यता छैन’ बैंकका प्रवक्ता खनियाँले भने।