पर्वत। पर्वत र बागलुङा जोड्न कालीगण्डकी नदीमाथि फेरि झोलुंगे पुल निर्माण सुरु भएको छ। नदीभन्दा निकै उचाइमा लामा झोलुंगेसँगै साहसिक पर्यटन गन्तव्यका रुपमा विकास हुँदै गएको पर्वतमा फेरि अर्को पुल निर्माण सुरु गरिएको हो।
कुश्माबजार र बागलुङको बलेवा जोड्ने पाँचांै पुल निर्माण आइतबारदेखि सुरु भएको हो । कुश्माबजारस्थित वडा–५ मा रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका वडा–१४ नारायणस्थानको कुकुरगाढे जोड्न ४१५ मिटर लामो पुल निर्माण सुरु गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए।
यसअघि कुश्मा–कैया झोलुंगे, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बन्जी जम्पको पुल र सिरसुवा–कैया झोलुंगे निर्माण भइसकेका छन्। बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०८३ पुससम्म पुल निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत असारमै ठेक्का सम्झौता गरिसकेको छ।
पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्न व्यवस्थापन गर्नुपर्ने पूर्वतयारीबारे निर्माण कम्पनीले अध्ययन सकेर धमाधम निर्माण सुरु भएको छ।
अहिले कुश्मातर्फको भागमा जग खन्ने र अन्य पूर्वाधार बनाउने काम भइरहेको उनले बताए। संघीय सरकारबाट विनियोजन भएको ५ करोड २६ लाख ८० हजारको लागतमा उक्त पुल निर्माण हुनेछ।
बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको ठूलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलबाट सबैले लाभ उठाउन नसकिरहेका बेला स्थानीय आवश्यकताका आधारमा जनप्रतिनिधिको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताए।
पुलको नजिकमा ठूलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी करिडोरको तल्लो भूमिमा राम्रो समथर जमिनसमेत रहेकाले पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उनको भनाइ छ। बलेवा बिमानस्थल नजिकै जोडिने यो पुलले विमानस्थल सञ्चालनमा समेत थप टेवा पुग्ने अपेक्षा गरिएको स्थानीय कमल जिसीले बताए।
‘विशेषगरी बागलुङ नगरपालिका वडा–१२, १३ र १४ को मध्य भागमा पर्ने, गाडीको गन्तव्य भएको, कुश्मा बजारको मध्य भागमा जाने भएकाले यो पुल निकै महत्त्वपूर्ण छ’, उनले भने। अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको ८५ तिर्ने गरेका छन् भने बन्जी पुलबाट दुईतर्फी १२० लाग्छ । यो पुल निर्माणपछि निःशुल्क आवतजावत गर्न सकिने भएको छ।–रासस