काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पदीय दुरुपयोग गरी निगमलाई अर्बौं रुपैयाँ नोक्सानी पुर्याएको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिइएको उजुरीमा अधिकारीमाथि २३ वटा गम्भीर आरोपहरू लगाइएको छ।
अख्तियार स्राेतअनुसार, अधिकारीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग भएको टेलिफोन वार्ता अनधिकृत रूपमा रेकर्डिङ गरी विभिन्न पत्रपत्रिकालाई उपलब्ध गराएर अमर्यादित कार्य गरेका छन्। यसैगरी वाइडबडी जहाज मर्मतका लागि इटलीको एटिटेक कम्पनीलाई नक्कली कागजात पेश गर्न लगाएर ठेक्का दिएको आरोप समेत लागेको छ।
उजुरीमा उल्लेख गरिएअनुसार उक्त कम्पनीले एफएए र इएएसए सर्टिफिकेट पेश गर्न नसकेर पहिलो पटकको टेन्डरमा अयोग्य ठहरिएको थियो। तर अधिकारीले पुनः टेन्डर प्रकाशन गरी नक्कली कागजातहरू मिलाउन लगाएर जहाज मर्मतको जिम्मा दिएको र नागरिक उड्डयन प्राधिकरणको सहमति बिना नै जहाज इटाली पठाएको कारण सुरक्षा उल्लंघन गरेको भन्दै उनलाई निगमको अकाउन्टेवल म्यानेजर पदबाट बर्खास्त गरिएको उल्लेख छ।
पर्यटन मन्त्रालयले गठन गरेको त्रिरत्न मानन्धरको नेतृत्वमा रहेको छानबिन समितिले अधिकारी अनियमिततामा संलग्न रहेको र नियम कानूनको ज्ञान अभाव रहेको भनी प्रतिवेदन बुझाएको उजुरीमा दाबी गरिएको छ। मन्त्रालय र संचालक समितिले समेत पटकपटक गलत कार्य तथा पदीय दुरुपयोगका लागि स्पष्टीकरण माग गरेको र नेपाल सरकार मन्त्रिपरिषद्ले तीन वर्ष अगावै पदबाट बर्खास्त गरेको तर सर्वोच्च अदालतको स्टे आदेशका कारण उनी पदमा बहाल रहेको उजुरीमा उल्लेख छ।
अधिकारीले मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूलाई खुसी बनाउन उनीहरूका आफन्त र नजिकका व्यक्तिहरू करिब २०० जनालाई करार र दैनिक ज्यालादारीमा नियुक्ति गरी मासिक रूपमा करिब ५ करोड रुपैयाँ निगमलाई घाटा पुर्याएको आरोप लागेको छ। यसैगरी निगमको अर्थ निर्देशक पदमा कार्यरत रहँदा यौन उत्पीडनको आरोप लागेर बर्खास्त भएका अधिकारी अदालतको आदेशले पुनः फर्किएपछि महिला कर्मचारीहरूसँग मेलमिलापको कागज गरी ऐन कानूनविपरीत बहाल भएको समेत उजुरीमा उल्लेख छ।
नेपाल-अस्ट्रेलिया उडानको निश्चितता नहुँदै अधिकारीले आफ्नो निकट मानिएका कर्मचारी विपुला बरालनलाई एक महिनाभन्दा बढी समय अस्ट्रेलिया काजमा पठाएर निगमलाई आर्थिक भार पारेको आरोप पनि लागेको छ। न्याराेबडी जहाजको इन्जिन २२ महिना अगाडि मर्मतका लागि इजरायल पठाएकोमा मर्मत भएको आठ महिना बितिसक्दा पनि स्थानीय एजेन्टसँग कमिसनको कुरा नमिलेका कारण हालसम्म इन्जिन नेपाल नल्याएको र भाडामा लिएको इन्जिनमार्फत जहाज सञ्चालन गरेको उजुरीमा उल्लेख छ।
कर्मचारी संचयकोष र नागरिक लगानीकोषबाट नेपाल सरकारको ग्यारेन्टीमा लिएको ऋणको साँवा ब्याज भुक्तानीमा आनाकानी गरेको आरोप पनि लागेको छ। सुरुमा २४ अर्ब रहेको ऋण अहिले ४३ अर्ब पुगिसक्दा समेत तिर्ने तर्फ कुनै पहल नगरेको उजुरीमा उल्लेख छ। अधिकारी नियुक्त हुँदा निगमको संचित नोक्सानी १२ अर्ब थियो भने अहिले त्यो बढेर २० अर्ब पुगेको तथ्य समेत उजुरीमा उल्लेख छ।
निगमको प्रमुख आम्दानीको स्रोत ग्राउन्ड ह्रयान्डलिङमा समेत घाटा पुर्याएको आरोप लागेको छ। एयर इन्डियाले ग्राउन्ड ह्रयान्डलिङबापत तिर्दै आएको प्रति जहाज २ हजार ५०० अमेरिकी डलरलाई घटाएर १ हजार ७०० डलरमा सम्झौता गरेकाे र बाँकी रकम व्यक्तिगत फाइदाका लागि उठाउन खोजेकोमा संचालक समितिले रोक लगाएको उजुरीमा उल्लेख छ।
वाइडबडी जहाजले दैनिक रूपमा कम्तीमा १५-१६ घण्टा उडान गर्नुपर्नेमा अधिकारी र अपरेशन डाइरेक्टरको मिलेमतोमा निजी क्षेत्र र अन्य वायुसेवालाई नाफा हुने गरी दैनिक ८-९ घण्टा मात्र उडान सञ्चालन गराएको आरोप पनि लागेको छ। युएइ, साउथ काेरयाकाे जिएसए नवीकरण नगरी आर्थिक चलखेल गरिरहेको, एकै व्यक्तिलाई विभागीय प्रमुख र नायब महाप्रबन्धक तोकी आफू अनुकूल कार्य गराएको आरोपसहित उजुरी परेकाे अख्तियार स्राेतले बताएकाे छ।
संचालक समितिको अनुमति नलिई चार वर्षको अवधिमा ४० पटकभन्दा बढी विदेश भ्रमण गरी एक करोडभन्दा बढी रकम निगमलाई आर्थिक व्ययभार पारेको उजुरीमा उल्लेख छ। हाल निगमसँग आन्तरिक तर्फ तीन वटा ट्विन्टर जहाज भए पनि एउटा मात्र र अन्तर्राष्ट्रिय उडानतर्फ चार वटा जहाज भए पनि तीन वटा मात्र सञ्चालनमा राखेर नोक्सानी पुर्याएको आरोप छ।
अधिकारीले कर्मचारीहरूलाई डर, त्रास र धम्की देखाई मानसिक यातना दिने गरेको र कार्यालयमा विषाक्त वातावरण सिर्जना गरेको समेत आरोप लागेको छ। विदेश पोस्टिङ अन्तर्वार्ताका बेला आठौं तहका कर्मचारीको अन्तर्वार्ताका लागि आठौं तहकै कर्मचारी खटाएर नियमविपरीत कार्य गरेको र आफूअनुकूल कार्य गर्न जेनजी समूह गठन गर्न लगाई अन्य कर्मचारीलाई डरत्रास देखाएको उजुरीमा उल्लेख छ।
उजुरीकर्ताले अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ बमोजिम हदैसम्मको कारबाही र सजाय गर्न माग गरेका छन्। उक्त उजुरीमाथि आवश्यक कारबाही अघि बढाइसकेकाे अख्तियार स्राेतले बताएकाे छ।