काठमाडौं। बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक) ले २ महिनामै १८ अर्ब रुपैयाँ बढी खुदनाफा कमाएका छन्। चालु वर्षको साउन र भदौ महिना गरेर २ महिनामा बैंकहरुले कुल १८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ खुदनाफा आर्जन गरेका हुन्।
उक्त अवधिमा वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख, विकास बैंकहरुले १ अर्ब ५० करोड ५४ लाख र वित्त कम्पनीहरुले १७ करोड ५३ लाख रुपैयाँ खुदनाफा कमाएका हुन्। २ महिनाको अवधिमा नाफामा पहिलो हुने सूचीमा वाणिज्य बैंकहरुतर्फ ग्लोबल आइएई बैंक, विकास बैंकहरुतर्फ मुक्तिनाथ विकास बैंक र वित्त कम्पनीहरुतर्फ गुडविल फाइनान्स रहेका छन्।
भदौ मसान्तसम्म ग्लोबल आइएमई बैंकले एक अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुदनाफा कमाएको छ। उक्त अवधिमा नबिल बैंकले एक अर्ब ३२ करोड ७१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड ४४ लाख, कुमारी बैंकले एक अर्ब ५ करोड ६८ लाख, प्राइम कर्मसियल बैंकले एक अर्ब ४ करोड ६७ लाख र एनएमबी बैंकले एक अर्ब ३ करोड ९ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ। बाँकी १४ वाणिज्य बैंकहरुको खुदनाफा भने अर्बभन्दा कम छ।
यस्तै, विकास बैंकहरुमा सबैभन्दा बढी मुक्तिनाथले ३६ करोड १७ लाख रुपैयाँ खुदनाफा आर्जन गर्दा गरिमाले २७ अर्ब ४६ करोड, कामना सेवाले १७ करोड ७७ लाख, साइनरेसुङ्गाले १७ करोड ५५ लाख, सांग्रिलाले १६ करोड ३९ लाख र महालक्ष्मी विकास बैंकले १० करोड ७४ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ। बाँकी विकास बैंकहरुले भने उक्त अवधिमा १० करोड रुपैयाँभन्दा कम खुदनाफा आर्जन गरेका छन्। (राष्ट्र बैंकबाट सार्वजनिक तथ्यांकमा ५ वटा विकास बैंकको तथ्यांक समावेस गरिएको छैन।)
चालु वर्षको २ महिनामा वित्त कम्पनीतर्फ सबैभन्दा बढी गुडविल फाइनान्सले ९ करोड ३५ लाख रुपैयाँ खुदनाफा कमाउँदा आइसीएफसी फाइनान्सले ३ करोड ६९ लाख, मञ्जु श्रीले ३ करोड २१ लाख, रिलायन्स फाइनान्सले १ करोड ९२ लाख, सेन्टल फाइनान्सले १ करोड ५५ लाख र गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सले १ करोड ४ लाख रुपैयाँ खुदनाफा कमाएको छ। बाँकी फाइनान्सले एक करोड रुपैयाँभन्दा कम नाफा कमाएका छन्। (प्राप्त तथ्यांकमा ६ वटा फाइनान्स कम्पनीको तथ्यांक उपलब्ध छैन।)
