काठमाडौं। पाटा नेपाल च्याप्टरले ग्वान्जाउ इन्टरनेसनल ट्राभल फेयरको निमन्त्रणामा डिसेम्बर २ मा ग्वान्जाउ र डिसेम्बर ४ मा चीनको सेन्जेनमा आयोजित नेपाल नाइस क्रार्यक्रम–२०२५ रोड सोमा सक्रिय सहभागिता जनाएको छ।
कार्यक्रममा सहभागी २५० भन्दा बढी आउटबाउन्ड टुर अपरेटर र मिडिया प्रतिनिधिसमक्ष गन्तव्य नेपाल एवं आगामी २४ देखि २६ फेब्रुअरीसम्म नेपालको पर्यटन राजधानी–पोखरामा आयोजना हुने नेपाल इन्डिया चाइना एक्स्पो २०२५ प्रवर्द्धन गरेको छ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल र नाइस २०२५ का सद्भावना राजदूत तथा चीन बजारका विज्ञ सल्लाहकार प्रा. डा. वोल्फगाङ जोर्ज अल्र्टले नेपालको पर्यटन सम्भावना उजागर गर्दै पर्यटन विकासका लागि सहकार्य र पर्यटन आदानप्रदानका असीमित अवसरमा जोड दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा चिनियाँ सरकारद्वारा नेपाल पर्यटन वर्ष २०२५ को औपचारिक घोषणासँगै मेल खाएको रोडसोले नाइस कार्यक्रमलाई अपेक्षित उद्देश्य प्राप्तिका लागि कोसेढुंगाको रुपमा चिनाएको आयोजकको भनाइ छ।
कार्यक्रममा पाटा नेपालका लकाईले चिनियाँ टुर अपरेटरलाई नाइस २०२५ मा सहभागी हुन न्यानो निमन्त्रणा दिए।
पाटा नेपाल च्याप्टरका सीईओ बुडालले एसियाली आउटबाउन्ड पर्यटनसम्बन्धी मुख्य तथ्य प्रस्तुत गर्दै नाइस २०२५ कार्यक्रमको विवरण र यसले नेपालका दुई प्रमुख स्रोत बजार भारत र चीनलाई लक्षित गर्दै पर्यटन आदानप्रदानलाई प्रवर्द्धन गर्नमा खेल्ने भूमिकामाथि प्रस्तुतीकरण गरे।
त्यसैगरी प्राडा. वोल्फगाङले चीनको आउटबाउन्ड पर्यटन बजारका समसामयिक जानकारीसम्बन्धी प्रस्तुतीकरण पेस गरे। जीआईटीएफकी प्रमुख क्याथी सुईले पाटा नेपाल च्याप्टरसँग सहकार्य गर्न पाउँदा र नेपालको पर्यटन प्रवर्द्धन र विकासका लागि नाइस २०२५ को साझेदार संस्थाको रुपमा सहकार्य र सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे।
हालसम्म चीन र भारतबाट २०० बढी क्रेताले नाइस २०२५ का लागि आवेदन दर्ता गरिसकेका छन्।