काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्क (एनआईबीएल)ले नियम विपरित बिना धितो दिएको ऋण नउठेपछि ती कर्जाका फाइलमाथि नेपाल राष्ट्र बैङ्कले अनुसन्धान सुरु गरेको छ ।
व्यापारी आरके अग्रवाल, श्याम मल र इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमएसी)लाई दिएको ऋण तथा बैङ्क ग्यारेन्टी नउठेपछि राष्ट्र बैङ्कले ती कर्जाका फाइलमाथि अध्ययन सुरु गरेको हो ।
एनआईबीएल व्यवस्थापनले ती व्यापारीसँग कमिसन लिएर ऋण दिएको वा त्यहाँ आफ्ना आफन्त रहेको हुन सक्ने आशंकामा राष्ट्र बैङ्कले अध्ययन सुरु गरेको हो ।
राष्ट्र बैङ्क स्रोतका अनुसार बैङ्कले ती व्यापारीलाई दिएको ऋण उठेको छैन । राष्ट्र बैङ्कले उक्त फाइल अध्ययन गरिसकेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई उक्त फाइल बुझाउने तयारी पनि गरेको छ ।
विदेशबाट आयात गरेर स्वदेशी सिमेन्ट तथा स्टिल उद्योगलाई कोइला आपूर्ति गर्ने भन्दै बैंकले व्यापारी मललाई सवा अर्ब रुपैयाँ भन्दा बढी ऋण दिएको थियो । त्यसैगरी, अन्नपूर्ण सुगर मिलका सञ्चालक आरके अग्रवाललाई पनि व्यवस्थापनले बिना धितो सवा अर्ब रुपैयाँ भन्दा बढी ऋण दिएको देखिएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैङ्कको नाफा घटाउने यी हुन ३ ऋणी, जसले ४४६ करोड तिरेनन
सीएमसीको पनि बैङ्क ग्यारेन्टी एनआईबीएलले नै दिएको थियो । नेपालबाट सीएमसी भागेपछि बैङ्क ग्यारेन्टी पनि डुबेको भन्दै राष्ट्र बैङ्कले तीन ओटै फाइलमाथि अध्ययन सुरु गरेको हो । बैंकले इटालीको स्थानीय अदालत कोर्ट अफ बलोनाबाट मुद्धा हारिसकेको छ ।
बैंकले सीएमसीको जमानत बसेको करिव १ अर्ब ९५ करोड रुपैयाँ नआउने निश्चित भएको छ । यसले बैंकको नाफामा असर गर्दै आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकको नाफा घटेको छ । दोस्रो त्रैमाशको वित्तीय विवरण आउन बाँकी छ ।
आरके अग्रवाालले नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजाकाके ठेक्का लिंदै आएका छन । प्राधिकरणमा कम मूल्यमा ठेक्का हात पार्ने र काम लाथालिङ बनाएर छाड्ने व्यापारीलाई अर्बौ रुपैयाँ ऋण दिएको देखिएको राष्ट्र बैङ्क स्रोतले बताएको छ । अग्रवाल अन्नपूर्ण सुगर मिलका सञ्चालक पनि हुन् ।
उसको पर्फमेन्स नहेरी, हचुवाको भरमा ऋण दिँदा बैङ्क गम्भीर सङ्कटमा परेको हो । आरके अग्रवालको व्यावसायिक इतिहास राम्रो नभएको सम्बद्ध जानकार बताउँछन् । ‘हरेक ठाउँमा असफल इतिहास मात्रै छ,’ एक उद्योगीले भने, ‘त्यस्ता व्यक्तिलाई बैङ्कले अन्धाधुन्ध ऋण दिनुको पछाडि स्वार्थ देखिन्छ ।’ आरके अग्रवालले कर्मचारीसँग मिलेर ऋण लिएको हुनसक्ने देखिएको छ ।
इन्भेस्टमेन्ट बैंकले इटालीमा मुद्धा हार्यो, २ अर्ब काउन्टर ग्यारेन्टी गुम्यो, अपिल गर्दै बैंक
त्यसैगरी बैङ्कले अर्का व्यापारी श्याम मललाई बिना धितो अर्बौ रुपैयाँ दिएको ऋण पनि डुबेको छ । उनी नेपालबाट भागिसकेका छन् । उनले बिना धितो ऋण लिएर नेपालबाट भागेका हुन् ।
सुरुमा कोइला ल्याउने भनेर बैङ्कबाट ऋण लिए । सस्तोमा कोइला उपलब्ध गराउने भनेर सिमेन्ट तथा स्टिल उद्योगीसँग ‘एडभान्स’मा पैसा समेत दिएर नेपालबाट फरार भएका हुन् । ‘एउटा व्यापारीले माग्दैमा बैङ्कले ऋण दिनु हुँदैन्थ्यो,’ एनआईबीएलका एक सञ्चालकले भने, ‘यसमा बैङ्कको पनि दोष देखिन्छ ।’
सीआईबीमा पुग्न सक्छ फाइल
सर्वसाधारण जनताको पैसामाथि बैङ्क व्यवस्थापन र सञ्चालक समितिले गम्भीर लापरबाही गरेको राष्ट्र बैङ्कले निश्कर्ष निकालेको छ । केन्द्रीय बैङ्कले कर्मचारीकै मिलेमतोमा यस्तो भएको हुन सक्ने अनुमान पनि लगाएको छ ।
यदि त्यसो हुँदा उक्त फाइल सीआईबीसमक्ष पुग्न सक्ने राष्ट्र बैङ्ककै अधिकारी बताउँछन् । ‘केही फाइल सीआईबीकोमा पनि जान सक्छन्,’ ती अधिकारीले भने, ‘तर, अहिले त्यसै भन्न सकिने अवस्था छैन् ।’
नेपाल इन्भेस्टमेन्ट बैङ्कको खराब कर्जा बढेपछि नाफा घट्यो, सेयरधनीलाई लाभांश दिने क्षमतामा पनि खुम्चियो