काठमाडौं। नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत असार २४ गते नेपालदेखि जापान जाने यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि सूचना पाए कि उडान एकदिन डिले भएको छ। अर्थात् असार २५ गते बिहान ७.३० बजे मात्र जहाजको उडान हुने छ।
असार २५ गते राती १०ः३० बजे जापानको नारिता उडान गर्नुपर्ने तालिका पुनः संशोधन भयो। र, जहाजमा प्राविधिक समस्या आएको भन्दै सूचना जारी गरेर २६ गते बिहान १०ः३० बजेको तालिका सार्वजनिक गरियो। दुई दिन भएको उडान तालिकाको गडबडपछि जापान जान लागेका र जापानबाट नेपाल आउने नेपालीहरू र विदेशीहरू समेत आक्रोशित बने। पर्यटन व्यवसायीहरूदेखि यात्रुहरूले समेत सामाजिक सञ्जालमार्फत नेपाल एयरलाइन्सको यो अस्तव्यस्त व्यवस्थापनप्रति चर्को आलोचना मात्र गरेनन् बहिस्कार गर्ने समेतको कुराहरू सामाजिक सञ्जालमा राखेका छन्।
नेपाल एयरलाइन्सको फेसबुक पेजमा कमेन्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन अधिकारीले अव आइन्दा जहाज नचढ्ने र बहिस्कार गर्दै कान नै समातेको घोषणा गरेका छन्। अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता गणेश दाहालले बरु १० हजार रुपैयाँ बढी तिरेर भएपनि अरु नै एयरलाइन्सबाट यात्रा गर्ने जानकारी दिएका छन्।
नियमित उडान भइरहेको नेपाल एयरलाइन्सप्रति पछिल्लो समय किन यात्रुको आक्रोश बढ्यो त? यो प्रश्न नेपाल एयरलाइन्सको लागि नयाँ भने हैन। यसअघि पनि धेरै पटक नेपाल एयरलाइन्सको उडानहरू अस्तव्यस्त भइरहेको थियो। तर, पछिल्लो समय नयाँ सरकार बनेपछि सुशासनको कुरा चर्किरहेको बेला नेपाल एयरलाइन्स भित्रको चरम बेतिथि हुँदा समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समेत मौन बस्नुलाई भने अहिले धेरैले अचम्मित मानिरहेका छन्।
यस विषयमा नेपाल एयरलाइन्सका निमित्त महाप्रबन्ध जनक कालाखेतीले दुईवटा वाइडबडी जहाजमध्ये एएलवाई ३३० मकालु जहाज सम्पूर्ण मर्मत सी–चेकका लागि इटाली पठाएको र अर्को जहाजमा २४ गते नै प्राविधिक समस्या देखिएपछि उडान तालिका प्रभावित भएको बताए।
‘सी–चेकका लागि समय भएकोले एउटा जहाज इटाली पठाएको र भएको जहाजमा पनि समस्या आएकाले जापान उडानमा समस्या आएको हो,’ निमित्त महाप्रबन्धक कालाखेतीले भने, ‘अहिले जहाजको समस्या समाधान भैसकेको छ, जापानमा नियमित उडान सुरु भएको छ।’
एउटा वाइडबडी जहाज सी–चेकमा पठाएपछि जापान बाहेकको अन्य क्षेत्रको उडान तालिका भने कटौती गरेको थियो। जहाँ न्यारोबडीको उडान हुन्छ, त्यहाँ नियमित नै भइरहेको र वाइडबडी जाने ठाउँको उडानमा केही संख्या कटौती भएको उनले बताए।