काठमाडौं। सरकार प्रमुखको जिम्मेवारी सम्हालेको १०३ दिनपछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक संवाद गरेका छन्। पछिल्लो समय सरकार र निजी क्षेत्रबीच बढ्दो अविश्वास तथा उद्योगी–व्यवसायीमा देखिएको त्रासबीच भएको छलफलमा प्रधानमन्त्री शाहले ‘ढुक्क भएर लगानी गर्न’ आग्रह गर्दै निजी क्षेत्रबिनाको आर्थिक विकास असम्भव रहेको बताएका हुन्।
समस्याको समाधानका लागि उच्चस्तरीय समिति गठन, आवश्यक कानुन संशोधन तथा बैंकिङ क्षेत्रका चुनौती समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
उद्योगी एवं सांसद विदुषी राणाको संयोजनमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका तीन वटै छाता संगठनका अध्यक्ष र पदाधिकारीसँग भेट गरेका हुन्। भेटका क्रममा प्रधानमन्त्री शाहले सुरुमै २५ मिनेटभन्दा बढी आफ्नो भनाइ राखेका थिए।
प्रधानमन्त्रीसँगको भेटमा रहेका नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले चुनावी प्रचारको क्रममा समेत त्यति लामो संबोधन नगरेको उल्लेख गर्दै बुधबारको भेटमा निकै खुलेर प्रधानमन्त्री शाह बोलेको उनले बताए।
प्रधानमन्त्री शाहसँगको भेटपछि निजी क्षेत्रको ५० प्रतिशत नैराश्य अन्त्य भएको उनको भनाइ छ। ‘हामी निजी क्षेत्र सरकारसँग त्रासमा थियौं तर, प्रधानमन्त्री शाहले बोलाएर गरेको छलफलपछि निर्धक्क हुने वातावरण सिर्जना गराउनुभयो’, वरिष्ठ उपाध्यक्ष मल्होत्राले भने, ‘बाहिरबाट जे-जति सुनेका थियौं, प्रत्यक्ष भेट्दा उहाँ त्यस्तो हुनुहुन्न रहेछ।’
तीनवटै छाता संगठनका अध्यक्ष एवं पदाधिकारीले प्रधानमन्त्री शाहसँगको भेटमा सरकारले पछिल्लो समय निजी क्षेत्र प्रति गरेको व्यवहार र त्यसबाट सिर्जित आतंकबारे समेत खुलेर आफ्नो कुरा राखेका थिए। प्रधानमन्त्री शाहले निजी क्षेत्र विना मुलुकको विकास सम्भव नभएको र आर्थिक विकासका लागि निजी क्षेत्रलाई विशेष प्राथमिकतमा सरकारले राखेकोले आत्तिनुपर्ने अवस्था नरहेको सन्देश फैलाउनसमेत अनुरोध गरेका थिए।
निजी क्षेत्रका प्रतिनिधिले उद्योगी व्यवसायीलाई पछिल्लो समय भइरहेको धरपकडबारे जानकारी दिँदा अपराधै गरेको ठहर भए कारबाही गर्ने प्रचलन पहिलादेखि नै रहेको र अहिलेको सरकारले पनि त्यसलाई नछोड्ने तर, अनावश्यक दुख दिन भने नखोजेको प्रधानमन्त्री शाहले बताए।
‘हामीले कसैलाई गलत नियत राखेर पक्राउ गरेका छैनौं, जसले अपराधनै गरेको छ, त्यस्तालाई छाड्दैनौं’, प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक उद्योगीले भने, ‘गलत नियतले निजी क्षेत्रलाई त्रसित पार्ने कुनै सोच नै छैन, ढुक्क भएर लगानी गर्नुस्।’
प्रधानमन्त्रीसँगको भेटमा उद्योग परिसंघका पूर्वअध्यक्ष राजेशकुमार अग्रवालले उद्योगले लिएको जग्गामा लगाउदै आएको हदबन्दीले धेरैलाई समस्या पारेको र यसको गाँठो फुकाए लगानी विस्तारमा सहज हुने कुरा उठाएका थिए।
अग्रवालकोे अनुरोधमा प्रधानमन्त्री शाहले हकबन्दी फुकुवा गर्दा कित्ताकाट गरेर बिक्री गर्छन् कि भन्ने डर रहेको बताएका थिए। तर, व्यवसायीले भने जुन प्रयोजनका लागि लिएको जग्गा हो, त्यो नचले अर्को उद्योग सञ्चालन गर्न पाउनुपर्ने विषय उल्लेख गरेका थिए। अर्को उद्देश्यका लागि हकबन्दी फुकुवामा भने सरकारले छलफल गरेर निर्णय गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले राखेका थिए।
यस्तै बैंकिङ क्षेत्रमा देखिएको समस्या समधानका लागि समेत प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। अहिले बैंकमा धेरै रकम थुप्रिएको तर, नाफा भने कमाउन सक्ने स्थिति नरहेको विषयमा समेत कुरा उठाएका थिए। प्रधानमन्त्री शाहले आज तीनवटै निजी क्षेत्रका अध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग छलफल गरी निकास निकाल्ने प्रतिबद्धतासमेत जनाएका छन्।
प्रधानमन्त्री शाहले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रलाई कुन–कुन कानुनले समस्या पारेको हो त्यो तत्कालै संशोधन गर्ने र समस्याको गाँठो फुकाउन सरकार २४सै घन्टा काम गर्न तयार रहेकोसमेत बताएको ती उद्योगीको भनाइ छ।
समस्या समधानका लागि उच्चस्तरीय समिति गठन गर्ने
सरकारी कानुन र सरकारको कारणले समस्या परेको निजी क्षेत्रको विषयलाई सम्बोधन गर्न प्रधानमन्त्री शाहले उच्चस्तरीय समिति गठन गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
‘सबै ठाउँमा म उपस्थित हुन सक्ने स्थिति हुँदैन, त्यसैले तपार्इंहरुका माग र समस्या समधानका लागि उच्चस्तरीय समिति गठन हुन्छ,’ प्रधानमन्त्री शाहले भने, ‘त्यसका लागि तीन वटा संगठनका तीन अध्यक्ष र प्रधानमन्त्री कार्यालयबाट केही व्यक्ति तोकिनेछन्।’