काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहयोगमा हरेक वर्ष आयोजना गर्दै आएको मेला आगामी चैत ६ देखि १० गतेसम्म भृकुटीपण्डपमा आयोजना गर्ने महासंघ सचिवालयले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिउको छ ।
अन्तराष्ट्रिय व्यापार मेला, नेपाल सरकाररवाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह(आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा आयोजना हुंदै आएको छ । यस वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२० नवौं संस्करण हो ।
मेलामा चीनबाट ८० वटा, भारतबाट ४० वटा, बंगलादेशबाट ६० वटा, थाइलैण्डबाट २० वटा तथा पाकिस्तानबाट ५ वटा स्टल बुकिङ्गको लागि पत्राचार भई सकेको छ भने नेपाली उद्योगरफर्मरकम्पनीको लागि स्टल बुकिङ्ग खुल्ला गरिएको छ । एनटीआईएस अन्तरर्गतका वस्तुहरूको एक छुट्टै प्याभेलियनको व्यवस्था गरिने छ । कूल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड लगायतका देशहरूको सहभागिता रहनेछ । साथै अन्य देशहरूबाट पनि सहभागिताका लागि पत्राचार भैरहेको जानकारी सो अवसरमा गराइयो ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू हुने छन् । त्यस्तै मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल बनाउन मेलामा नेपालका पर्यटन गन्तव्य स्थलको प्रचार प्रसार तथा छलफल कार्यक्रम आयोजना गरिने छ । साथै स्टलबाटनै पर्यटन प्याकेजको बुकिङ्गको पनि व्यवस्था गरिने छ । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने कार्यक्रम छ ।
मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको कुरा पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले बताए । मेला समितिका सहसभापति सविनलाल श्रेष्ठले यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव १ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने बताए ।
महासंघकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्षहरूमा जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरू विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भैसकेका छन् भने केहि तयारी गर्दै रहेका छन् । जिल्लामा उत्कृष्ट रहेका वस्तु तथा सेवाहरूलाई यस मेलामा १० वटा निःशुल्क स्टलको व्यवस्था पनि गरिएको छ ।
मेलामा प्रवेश गर्न टिकट दर ५० रुपैयां तथा विद्यार्थी सहुलियत दर ३० रुपैयां तोकिएको छ भने अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।