बागलुङ। नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्वारा आयोजित ‘बागलुङ मिडिया मेला २०८२’ ले घोषणा पत्र सार्वजनिक गर्दै पत्रकारिता, डिजिटल रूपान्तरण, स्थानीय विकास र नीतिगत सुधारका विषयमा १० बुँदे प्रतिबद्धता अघि सारेको छ। मेलाले बदलिँदो समयअनुसार पत्रकारितालाई नयाँ दिशा दिने, मिडिया स्वतन्त्रता सुदृढ गर्ने तथा बागलुङको समृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।
घोषणा पत्रमा परम्परागत पत्रकारिताबाट डिजिटल युगसम्मको परिवर्तनलाई आत्मसात गर्दै सत्य, विश्वसनीयता र नागरिकको विश्वासलाई पत्रकारिताको मूल आधार बनाइने उल्लेख गरिएको छ। गुणस्तरीय र विश्वसनीय समाचार सामग्री उत्पादनमा जोड दिँदै नयाँ प्रविधि र अभ्यासलाई स्वीकार गर्न सञ्चार संस्था तथा पत्रकारलाई आह्वान गरिएको छ।
त्यस्तै, बागलुङलाई डिजिटल साक्षरतामा अग्रणी जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्यसहित डिजिटल मिडिया र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत आयआर्जन तथा जीवनस्तर उकास्ने नीति र कार्यक्रम ल्याउन तीन तहका सरकारसँग माग गरिएको छ। पत्रकारितामा अब ‘मोफसल’ र ‘केन्द्र’ भन्ने भेद अन्त्य भइसकेको उल्लेख गर्दै गाउँ वडासम्मका मिडियाको सामग्री गुणस्तर नै मुख्य हुने भएकाले पत्रकार र सञ्चारमाध्यम गुणस्तरमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिइएको छ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरले बागलुङको विकास र समृद्धिका नयाँ ढोका खोलेको उल्लेख गर्दै कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा ठोस पहल, लगानी नीति तथा योजनामा एकता आवश्यक रहेको बताइएको छ। साथै कोरला नाका नियमित सञ्चालन गरी निर्यात वृद्धि र आर्थिक समृद्धि हासिल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
जिल्लाबाट बाहिर रहेका सफल व्यक्तिहरूलाई आफ्नो ज्ञान, सीप र स्रोतसाधन जन्मथलोको विकासमा लगानी गर्न आह्वान गर्दै यस्ता प्रेरणादायी कथालाई मिडियामार्फत प्रवर्द्धन गरिने प्रतिबद्धता जनाइएको छ। डिजिटल मिडिया सूचना आदान–प्रदान र मनोरञ्जन मात्र नभई आम्दानीको दायरा विस्तार गर्ने माध्यम भएकाले गुणस्तरीय सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणमा बहुआयामिक प्रयोग र पत्रकारको क्षमता विकासमा लगानी बढाउन आग्रह गरिएको छ।
सरकारी विज्ञापन सरकारी मिडियामा मात्र सीमित गर्ने निर्णय संघीयता, खुला अर्थतन्त्र र प्रेस स्वतन्त्रताको मर्म विपरीत भएको भन्दै प्रदेश र स्थानीय तहलाई यस्तो निर्णय अस्वीकार गर्न आह्वान गरिएको छ। यसले निजी मिडिया र पत्रकारलाई संकटमा पार्ने भन्दै मेलाले आपत्ति जनाएको छ।
समाचार सामग्रीलाई डिजिटल मिडियाका विभिन्न प्लेटफर्ममा प्रयोग गर्दै पत्रकारहरूले सिर्जनात्मक ढंगले ‘नाम र दाम’ दुवै कमाउने अवसरको अधिकतम उपयोग गर्न आग्रह गरिएको छ। प्रविधिगत परिवर्तनका कारण स्थानीय स्तरका धेरै मिडिया संकटमा परेकाले समयानुकूल रूपान्तरण गर्न सञ्चार संस्था सञ्चालकलाई आग्रह गरिएको छ। साथै स्थानीय सञ्चारमाध्यमको दर्ता, सञ्चालन र सुदृढीकरणका लागि स्पष्ट स्थानीय सञ्चार नीति आवश्यक रहेको उल्लेख गरिएको छ।
मिडिया मेला उद्घाटनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, स्वास्थ्य मन्त्री कृष्ण पाठक, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, पूर्व अध्यक्ष धर्मेन्द्र झा, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, लोकान्तरका सम्पादक विमल गौतम, क्यापिटलका प्रबन्ध निर्देशक प्रकट कुमार, पत्रकार दिलिप पौडेल, युवराज कँडेल, दिल श्रीस, रामप्रसाद दाहाल, उज्जवल आचर्यले लगायतको छलफल गरेका थिए। मेलालाई सफल बनाउन सहयोग गर्ने अतिथि, प्रायोजक र सञ्चारकर्मीलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।